आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डीडीसीलाई दुग्धजन्य पदार्थ राख्ने भण्डारको चिन्ता

किसानलाई करिब ५० करोड रुपियाँ भुक्तानी दिन बाँकी
बुधबार, १७ असोज २०८०, १६ : ४७
बुधबार, १७ असोज २०८०

काठमाडौँ । दूध विकास संस्थान (डीडीसी)सँग मौज्दात रहेको दुग्धजन्य पदार्थ राख्नका लागि भण्डार अभाव हुन थालेको छ । हाल पर्याप्त दूध बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात दिनदिनै बढ्दै गएको र अब राख्ने ठाउँको अभाव हुन थालेको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताए । 

डीडीसीमा दुई वर्षदेखि दूध सङ्कलन ४० प्रतिशतले वृद्धि भए पनि दुग्धजन्य पदार्थको बिक्री वितरण दिनदिनै घट्दै गएकाले भण्डारण समस्या आएको महाप्रबन्धक झाको भनाई छ । 

उनले भने, ‘करिब ६० करोड रुपियाँ बराबरको धुलो दूध र मक्खन मौज्दात छ । त्यसलाई कसरी व्यवस्थित गर्ने त्यसको चिन्ता थप्दै गएको छ ।’ 

बटर राख्न चार सय मेट्रिक टन क्षमताको शीतभण्डार रहेको छ, त्यसमा अढाई सय टन बटर भण्डार गरेर राखिएका छन् । बटर दिनदिनै वृद्धि भइरहेको छ । यो दुई महिनामा त्यो भण्डार भरिने उनले बताए । 

विराटनगरमा एक सय मेट्रिक टन धुलो दूध राख्ने क्षमताको कोल्ड स्टोर रहेको छ, त्यसमा अहिले ८५ मेट्रिक टन राखिएको छ, यो महिनाभित्र त्यो भरिने आकलन छ । 

उनले भने, ‘चितवनमा धुलो दूध बनाउँदा त्यहाँ एक दिन पनि राख्न सकिने अवस्था छैन । कन्भर्जन हुने बित्तिकै लैजान भनिन्छ । र, जसरी पनि ल्याउनुपर्छ । त्यहाँ पनि धुलो दूध राख्ने ठाउँ छैन । कोल्ड स्टोर भरिएपछि अहिले धुलो दूध बरन्डामा राख्न थालिएको छ ।’

खपतभन्दा बढी दूधलाई धुलो दूध कारखानाबाट कन्भर्सन गराइ व्यवस्थापन गर्नुबाहेक अन्य विकल्प छैन । डीडीसीबाट दैनिक ३५ देखि ४० हजार लिटर दूधलाई कन्भर्सनका लागि पठाउनु परेको र त्यसले गर्दा दैनिक पचास लाख रुपियाँ पुँजी ब्लक हुने गरेको दाबी महानिर्देशक झाको छ । 

किसानबाट दूध उठाउने र त्यो दूध बिक्री नहुँदा किसानको भुक्तानीमा समस्या भइरहेको उनले बताए । करिब ५० करोड रुपियाँको भुक्तानी दिन बाँकी रहेको बताउँदै उनले दसैँ, तिहारको बिक्री वितरणबाट सम्पूर्ण भुक्तानी गर्ने तयारीमा डीडीसी रहेको जनाए । 

यसका लागि सरकारसँग पनि रकम माग गरिएको र अन्य व्यवस्था गरेर पनि भुक्तानीका लागि पहल गरिने उनले बताए ।

आफूहरूसँग रहेको मौज्दात दुग्धजन्य पदार्थ बिक्री भएमा सबै समस्या समाधान हुने बताउँदै उनले यसका लागि आफूहरूले अन्तर्राष्ट्रिय व्यापारीसँग पनि छलफलमा रहेको जनाए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप