आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ

बुधबार, १७ असोज २०८०, १९ : ०५
बुधबार, १७ असोज २०८०

जानकी । बाँके राष्ट्रिय निकुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । राप्तिसोनारी–२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् । 

उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो चित्तलको मासु र भरुवा बन्दुकसहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले आज जानकारी दिए । 

उनका अनुसार जैसीलाई निकुञ्जभित्रको सुखार र खैरी खोलाको ‘फायर लाइन’बाट चित्तलको मासु भाग लगाउँदै गर्दा पक्राउ गरिएको हो । उनीसँगै रहेका मदनबहादुर खत्री भने फरार रहेका छन् । निकुञ्जभित्रको हिरासतमा जैसीमाथि थप अनुसन्धान भइरहेको उल्लेख गर्दै भुसालले बताए, “वन्यजन्तु चोरी सिकारी आरोपमा टीकारामलाई चित्तलको मासु भाग लगाउँदै गर्दा हाम्रो गस्ती टोलीले पक्राउ गरेको हो । ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले हामी अनुसन्धानकै क्रममा छौँ ।”

फरार रहेका मदनबहादुर खत्रीको खोजी जारी रहेको उनले बताए । “वन्यजन्तु चोरी सिकारी आरोपमा कसैलाई उम्कने छुट छैन । नेपालमै लुकेर बसे पनि अथवा नेपाल बाहिर जहाँसुकै गए पनि फरार रहेका मदनबहादुरको खोजी जारी नै भएको हुँदा उनलाई चाँडै नै पक्राउ गर्ने छौँ,” उनले भने । 

गत वर्षको स्थानीय निर्वाचनमा राप्रपा नेपालको तर्फबाट वडाध्यक्षमा निर्वाचनमा भाग लिएका मदनबहादुरको नाम पटकपटक वन्यजन्तु चोरी शिकारीको आरोपमा मुछिँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप