आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा माओवादी रुपान्तरण अभियान : ३२ हजार जनासँग भेटघाट, ६३८ नयाँ सदस्य

कम्युनिस्ट आदर्श अनुकूलको जीवन व्यवहार र कार्यशैली अपनाउन जनताको सुझाव
बुधबार, १७ असोज २०८०, १९ : ४६
बुधबार, १७ असोज २०८०

सुर्खेत । नेकपा माओवादी केन्द्रको आधार इलाकाको रुपमा रहेको रुकुम पश्चिममा तीन महिने ‘जनतासँग विशेष रुपान्तरण अभियान’ले जनता र कार्यकर्तामा उत्साह थपिएको निष्कर्ष निकालिएको छ ।

एक महिनाको समीक्षा गर्दै माओवादी रुकुम पश्चिमले अभियानबाट कार्यकर्तामा जागरण पैदा गरेको जनाएको छ ।

भदौ १६ देखि असोज १५ सम्मको एक महिने अवधिमै अभियान टोलीले प्रत्यक्ष रुपमा ३२ हजार जनासँग भेटघाट गरेको छ । ९ हजार घरधुरीको उक्त जनसंख्यालाई भेटघाट गरी माओवादीले थालेको अभियान, यसको औचित्यका विषयमा जागरण पैदा गर्ने काम गरिएको माओवादीका जिल्ला संयोजक गोविन्द रोक्का ‘सचिन’ले जानकारी दिए ।

एक महिना अवधिको समीक्षा अनुसार ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारा लिएर जिल्लाका ७३ वटै वडामा कार्यक्रम सम्पन्न गरिएको र यसले जनतामा उत्साह थपिएको उनको भनाइ छ ।

यस अवधिमा पार्टीका २९५ वटा टोल कमिटी र ४५० वटा सेल कमिटीका बैठक बसेका छन् भने ६३८ जना नयाँ पार्टी सदस्य थपिएको रोक्काले बताए ।

अभियानको क्रममा जिल्लाका विभिन्न स्थानमा जनसेवा तथा जनश्रमदानका ३४ वटा कार्यक्रम सम्पन्न भएका छन् ।

अभियान अन्तर्गत टोलीले आठबिसकोट नगरपालिका–४ मा रिता कुमारी विक र सुनिता सुनारको हावाहुरीले छाना उडाइदिएको घर मर्मत गरिदिएको छ भने वडा नम्बर ३ मा घोरेटो बाटो मर्मत गरिएको छ ।

बाँफीकोटको छिनखेत, मुसिकोटको सेरिगाउँ लगायतमा सरसफाइ कार्यक्रम गरिएको थियो भने सानीभेरी गाउँपालिका–५ मा साढे तीन किलोमिटर सडक मर्मत गरिएको छ ।

यस्तै सानीभेरी–११ मा खानेपानी योजना र सडक मर्मत गरिएको छ भने चौरजहारी–५ मा वडा कार्यालय जोड्ने सडकमा खसेको पहिरो हटाइ यातायात सुचारु गर्ने काम पनि अभियान टोलीले गरेको छ ।

चौरजहारी–६ मै शान्तिबजार–घर्तीकाँडा गोरेटो बाटो मर्मत गरिएको छ भने चौरजहारी–८ मा ५०० मिटर पाइपलाइन खनेर पाइप गाडिएको छ । यस्तै बाँफीकोट–१ लागिममा घोरेटो बाटो मर्मत गरिएको छ भने विरे दमाईको भत्केको घर मर्मत गरिएको छ । यस्तै बाँफीकोट–६ मा चार वटा गोरेटो बाटो मर्मत गरिएको रोक्काले बताए ।

‘यो अभियानले समर्थक जनता र कार्यकर्तामा उत्साह जगाएको छ,’ रोक्का भन्छन्, ‘जनताको सुखदुःखमा नेता, कार्यकर्ताहरु सरिक हुँदा जनताको पनि पार्टीप्रति सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।’

उनका अनुसार पार्टी रुपान्तरणको लागि सबै नेता, कार्यकर्ताहरुले कम्युनिस्ट आदर्श/आचरण अनुकूलको जीवन व्यवहार र कार्यशैली अपनाउनुपर्ने सुझाव जनताको छ । यस्तै आर्थिक पारदर्शिता कायम राख्ने प्रयोजनका लागि नेताहरुको सम्पत्ति विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने, कतै अस्वाभाविक सम्पत्ति देखिएमा त्यसलाई राज्यद्वारा छानबिनको दायरामा ल्याउनुपर्ने, चुनावी प्रयोजनका लागि विभिन्न खाले राजनीतिक गठबन्धनको कारण पार्टी कमजोर हुँदै गएकाले आगामी दिनमा गठबन्धन गर्न नहुने सुझाव माओवादी समर्थकले दिएका छन् ।

यस्तै पार्टीको निर्णयबाट विभिन्न लाभको अवसर पाएका नेता, कार्यकर्ताहरु पार्टीमा अरुभन्दा अझ बढी सक्रियताका साथ खटिनुपर्ने, स्थानीय सरकारले ठुला–ठुला विकास निर्माणका काम भन्दा स–साना कृषकमुखी र सेवामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव जनताको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप