आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेशसभा बैठक : बोलीमा गम्भीर, व्यवहारमा उदासीन दलहरू

कोशी प्रदेशमा हामी म्यूजिकल खेल खेल्न मात्रै व्यस्त भयौँ : पूर्वमुख्यमन्त्री थापा
बुधबार, १७ असोज २०८०, २० : ०९
बुधबार, १७ असोज २०८०

विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठक बुधबार बस्यो । बैठकमा सम्बोधन गरेका सबै दलका शीर्ष नेताहरु सहमति, सहकार्य र एकताको लागि आह्वान गरे । सरकार गठन र विघटनको चारवटा श्रृंखला पार गरिसकेका उनीहरुले आफूले आफैँलाई हाँसोको पात्र जस्तो भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । 

प्रदेशसभालाई सम्बोधन गरेका एमाले, काँग्रेस, माओवादी, राप्रपा र नेकपा (एकीकृत समाजवादी)का नेताहरुले आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

एमाले सांसदहरुले आफ्नो नेतृत्वको सरकारले आगामी २० गते विश्वासको मत लिन नसके पनि सहकार्य गरेर अगाडि बढ्न जरुरी रहेको बताए । 

एमाले प्रदेशसभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘एमालेले सबैभन्दा ठूलो दलको हैसियतले ५ वर्ष नै हामी चलाउँछौँ भनेका छैनौँ । स्थिर सरकार र सुशासनलाई आधार मानेर मापदण्डमा आधारित विधि तयार गरौँ । हामी मिल्न तयार छौँ । कसले कसरी नेतृत्व गर्ने, को कहाँ सहभागी हुने ? प्रदेशलाई कसरी स्थायित्व प्रदान गर्ने भन्ने बारेमा हामी गम्भीर छौँ ।’ उनले पटक पटक सरकार परिवर्तन गर्ने कुरामा एमाले चिन्तित रहेको बताए ।

काँग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले आफूहरु म्यूजिकल खेलमा जस्तो सरकार बनाउने र भत्काउनेमा लागेको भन्दै आफैँप्रति व्यंग्य गरे । 

‘कोशी प्रदेशमा हामी म्यूजिकल खेल खेल्न मात्रै व्यस्त भयौँ । जम्माजम्मी हामीले प्रदेशको नामकरण गरेको त्यो पनि विवादमा छ । बाँकी भनेको म्यूजिकल चेयरमा व्यस्त भयौँ । यो हाम्रो दोष मात्रै होइन, प्रदेशको जनादेश नै त्यस्तै भयो,’ थापाले भने, ‘सरकार बनाउने कोसिस गर्नु अपराध पनि होइन । सरकार बनाउने सवालमा कहिले अदालतबाट फ्याँकियौं । कहिले विश्वासको मत लिन नसकेर फ्याँकियौं ।’

थापाले हाँस्दै आफ्ना भनाई राखे, ‘संवैधानिक भए पनि असंवैधानिक भएपनि सायद मैले जस्तो सौभाग्य प्रदेश सभाभित्र कुनै माननीयज्यूहरुले पाउनुहुन्छ जस्तो मलाई लाग्दैन । दुई महिनामा दुई चोटी मुख्यमन्त्री भएँ । एउटा इतिहास त मैले बनाएँ । तपाईहरुले त्यस्तो अवसर प्राप्त गर्नुहुन्छ जस्तो त मलाई लाग्दैन ।’ उनले यसलाई गर्वको कुरा भएको बखान गर्न पछि परेनन् । ‘ताल परे ह्याट्रिक पनि गर्छु । त्यस्तो सम्भावना पनि छ,’ उनले अगाडि भने । 

प्रदेशसभालाई सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि सहमतिमा जोड दिए । तर, एमालेले आफू केन्द्रित गरेर सहमतिको रटान लिएको आरोप लगाए । 

उनले भने, ‘जतिबेला आफू नेतृत्वमा आयो, सर्वदलीय सरकारको रटान गर्ने, अर्कोले सरकार बनाएपछि बहुमतको सरकार ढाल्न अदालत जाने हो भने सहमतिको रटानको के अर्थ रहन्छ ?,’ उनले प्रश्न गरे । 

उनले कोशी प्रदेशमा ४० सिट ल्याउनेलाई र १ सिट ल्याउने दलहरुलाई पनि आ–आफ्नो खालको तनाव रहेको उल्लेख गर्दै ठूलो दल भएँ भन्दैमा व्यक्तिवादी हुन नहुनेमा जोड दिए । 

‘प्रदेश संकटमा नजाओस् भन्ने हामी सबैको चाहना छ । सिंगो प्रदेशसभालाई एकताबद्ध भएर तमाम खालका समस्यालाई समाधान गर्ने र एकताबद्ध हुने सम्भावना छ । त्यसका लागि उदार र जिम्मेवार भएर अगाडि बढ्यौँ भने निकास दिन सक्छौँ,’ उनले अगाडि भने । 

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि सहमतिमै जोड दिए । ‘प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नआउनु भनेको समन्वयात्मक ढंगमा सरकारलाई सहकार्यबाट संचालन गर्ने जनादेश हो । यो प्रदेशमा हामी सहकार्य र समन्वय गर्न नसकेर हास्यको पात्र बनिरहेका छौँ,’ उनले भने ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले प्रदेशमा देखिएको पहिचानको मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । ‘प्रदेशमा र मुलुकमा शान्ति स्थापना गर्ने हो भने सबैले एक पटक सोचेर नामकरणमा बहुपहिचानको कुरा ल्याएर टुंग्याउनु पर्दछ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप