आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपसम्बन्धी केही रोचक जानकारी : दुई टोलीको ‘नेट रन रेट’ पनि बराबरी भएमा के हुन्छ ?

सेमिफाइनलमा पुग्न कति अङ्क आवश्यक पर्छ ?
बिहीबार, १८ असोज २०८०, ०९ : ३२
बिहीबार, १८ असोज २०८०

आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ । उद्घाटन खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ । प्रतियोगिताको उद्घाटन खेल दिवा—रात्रि रूपमा खेलाइने छ ।

कति टोली सहभागी छन् ?

आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करणमा १० वटा राष्ट्रले सहभागिता जनाएका छन् । प्रतियोगितामा आयोजक भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, नेदरल्यान्ड्सको सहभागिता रहने छ ।  

विश्वकप अवधिभर कति खेल खेलिन्छ ?

विश्वकपको १३औँ संस्करणमा समूहगत चरणको व्यवस्था गरिएको छैन । प्रतियोगितामा सहभागी १० वटै राष्ट्रले लिग चरणमा एकअर्कासँग एक—एक खेल खेल्नेछन् । यस अर्थमा प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले नौ खेल खेल्नेछन् । समग्रमा लिग चरणमा कुल ४५ खेल खेलिने छ । 

दिवा—रात्रि खेल कतिवटा छ ?

आईसीसी एकदिवसीय विश्वकपमा कुल ४८ वटा खेल हुनेछ । त्यसमध्ये लिग चरणमा ४५ वटा खेल खेलाइने छ । लिग चरणका खेलमध्ये ३९ वटा खेल दिवा—रात्रि रूपमा खेलाइने छ । सेमिफाइनलका दुई खेल पनि दिवा—रात्रि नै हुनेछन् । फाइनल खेल पनि दिवा—रात्रि नै हुनेछ । त्यसैले विश्वकपमा सहभागी कुल ४८ मध्ये ४२ खेल दिवा—रात्रि रूपमा खेलाइने छ । 

खेल कति बजे सुरु हुन्छ ?

१३औँ विश्वकपका खेलहरू तीनवटा समयमा सुरु हुनेछन् । दिवा—रात्रि खेलहरू नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछन् । यसका अतिरिक्त दिउँसो मात्र खेलाइने खेलहरू दुईवटा समयमा सुरु हुनेछन् । दिउँसो खेलाइने केही खेल नेपाली समयअनुसार, बिहान १०ः४५ बजे र केही खेल ११ः४५ बजे सुरु हुनेछन् । 

कतिवटा रंगशालामा खेलाइन्छ ?

विश्वकप खेलहरू भारतका विभिन्न १० सहरका १० वटा रंगशालामा खेलाइने छ । हैदराबादमा तीनवटा खेल खेलाइने छ । बाँकी नौ सहरमा पाँच—पाँचवटा खेल खेलाइने छ । विश्वकपका खेल खेलाइने बाँकी नौवटा सहर अहमादाबाद, कोलकाता, मुम्बई, बेंगलुरु, दिल्ली, चेन्नई, धर्मशाला, लखनउ र पुणे हुन् ।

उद्घाटन खेल कुन रंगशालामा खेलिन्छ ?

विश्वकपको उद्घाटन खेल साबिक विजेता इङ्ल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबिच खेलिने छ । उद्घाटन खेल बिहीबार हुनेछ । प्रतियोगिताको पहिलो खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ । विश्वकै ठुलो क्रिकेट रंगशालामध्येको एक नरेन्द्र मोदी स्टेडियमको कुल दर्शक क्षमता एक लाख ३२ हजार रहेको छ । 

भारत—पाकिस्तान खेल कहिले पर्छ ?

१३औँ एकदिवसीय विश्वकपको लिग चरणमा भारत र पाकिस्तानबिचको खेल अक्टोबर १४ तारिखमा खेलाइने छ । त्यो खेल पनि अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममै खेलाइने छ । लिग चरणका खेलहरू नोभेम्बर १२ सम्म चल्नेछ । लिग चरणको अन्तिम खेल भारत र नेदरल्यान्ड्सबिच नोभेम्बर १२ मा अहमादाबादमै खेलिने छ । 

सेमिफाइनलमा पुग्ने टोलीको टुंगो कसरी लाग्छ ?

लिग चरणमा कुल ४५ खेल खेलाइन्छ । लिग चरणमा प्रत्येक टोलीले एकअर्कासँग एक—एक खेल खेल्छन् । एक जित्ने टोलीले दुई अङ्क प्राप्त गर्छन् भने हार्ने टोलीले अङ्क पाउँदैनन् । खेल अनिर्णीत रूपमा सकिएमा दुवै टोलीले एक—एक पाउने छन् । लिग चरणको समाप्तिपछि अङ्क तालिकामा सबैभन्दा माथि रहने चारवटा टोली सेमिफाइनलमा पुग्नेछन् । 

सेमिफाइनलमा कुन—कुन टोलीबिच भिडन्त हुन्छ ?

लिग चरणको खेलको समाप्तिपछि अङ्क तालिकाको पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । त्यसपछि लिग तालिकाको पहिलो स्थानमा रहने टोलीले चौथो स्थानमा रहने टोलीसँग पहिलो सेमिफाइनल खेल्नेछ । लिग तालिकाको दोस्रो स्थानमा रहने टोलीले तेस्रो स्थानमा रहने टोलीसँग दोस्रो सेमिफाइनल खेल्नेछ । पहिलो सेमिफाइनल खेल नोभेम्बर १५ मा मुम्बईमा र दोस्रो सेमिफाइनल खेल नोभेम्बर १६ मा कोलकातामा खेलिने छ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच नोभेम्बर १९ मा अहमादाबादमा फाइनल खेल हुनेछ ।

385264221_711300621031652_9043469800859024638_n

वर्षाले खेल बिथोलेमा के हुन्छ ?

वर्षाका कारण लिग चरणको खेल पूर्णरुपमा बिथोलिएमा दुवै टोलीले एक—एक अङ्क प्राप्त गर्नेछन् । तर, सेमिफाइनल र फाइनलको खेल वर्षाका कारण पूर्णरुपमा बिथोलिएमा त्यसका लागि ‘रिजर्व डे’ को व्यवस्था गरिएको छ । अर्थात् त्यो खेल पुनः अर्को दिन खेलाइने छ । अघिल्लो दिन खेल जुन अवस्थामा रोकिएको थियो अर्को दिन त्यही अवस्थाबाट पुनः खेल अगाडि बढाइने छ । 

‘रिजर्व डे’ मा पनि खेल सम्भव नभए के हुन्छ ?

‘रिजर्व डे’ मा पनि सेमिफाइनल खेल सम्भव नभए लिग चरणको अङ्क तालिकामा माथिल्लो स्थानमा रहने (उत्कृष्ट प्रदर्शन गर्ने) टोली फाइनलमा प्रवेश गर्ने प्रावधान राखिएको छ । यसका अतिरिक्त ‘रिजर्व डे’ मा पनि फाइनल खेल सम्भव नभए दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिने छ । त्यसपछि फाइनलमा पुग्ने दुवै टोलीलाई ट्रफी प्रदान गरिने छ । 

सेमिफाइनलमा पुग्न कति अङ्क आवश्यक पर्छ ?

सन् २०१९ को एकदिवसीय विश्वकपमा लिग चरणमा सात—सातवटा खेल जितेर अस्ट्रेलिया र भारत सेमिफाइनलमा पुगेका थिए । यो विश्वकपमा पनि अङ्क तालिकाको माथिल्लो चार स्थानभित्र रहन कम्तीमा सात जित आवश्यक देखिन्छ । कुनै टोलीले लिग चरणमा ६ वटा खेलमात्र जितेको अवस्थामा भने ‘नेट रन रेट’ को भर पर्नु पर्ने अवस्था सृजना हुन्छ । अघिल्लो विश्वकपमा न्युजिल्यान्ड र पाकिस्तानको ११—११ अङ्क थियो । त्यसपछि तुलनात्मक रूपमा राम्रो ‘नेट रन रेट’ का आधारमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको थियो । 

दुई टोलीको ‘नेट रन रेट’ पनि बराबरी भएमा के हुन्छ ? 

लिग चरणमा दुई टोलीको ‘नेट रन रेट’ समेत बराबर हुने सम्भावना पनि रहन्छ । यस्तो अवस्थामा ती दुई टोलीबिच समूहगत चरणमा खेलिएको खेलमा विजयी हुने टोलीले नकआउट चरणमा प्रवेश पाउने प्रावधान राखिएको छ । उदाहरणका लागि, भारत र पाकिस्तान दुवैको अङ्क र ‘नेट रन रेट’ पनि बराबरी भयो । यस्तो अवस्थामा भारत र पाकिस्तानबिचको खेलमा विजयी हुने टोली प्रतियोगिताको नकआउट चरणमा पुग्नेछ । यदि नकआउट चरणमा भारत र पाकिस्तानको खेल वर्षाले रद्द भएको रहेछ भने के हुन्छ त ? यस्तो अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सुपर लिग चरणको वरीयतामा जुन टोली अगाडि रहन्छ त्यही टोली प्रतियोगिताको नकआउट चरणमा पुग्नेछ ।

आईसीसीको सुपर लिग चरण के हो ?

एकदिवसीय विश्वकपलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सुपर लिग चरणको प्रतियोगिता आयोजना गरेको थियो । सुपर लिग चरणमा १३ वटा टोलीको सहभागिता रहेको थियो । सहभागी सबै टोलीले एकअर्कासँग तीन वा त्योभन्दा बढी खेलको आठवटा एकदिवसीय शृंखला खेलेका थिए । त्यही प्रतियोगिताको अङ्क तालिकाका आधारमा आईसीसीले वरीयता निर्धारण गरेको थियो । 

सुपर लिग चरणको वरीयता कस्तो छ त ?

आईसीसीको सुपर लिग चरणको अङ्क तालिकामा एक सय ७५ अङ्कसहित न्युजिल्यान्ड पहिलो स्थानमा छ । एक सय ५५ अङ्कसहित इङ्ल्यान्ड दोस्रो र समान अङ्क बटुलेको बङ्गलादेश तेस्रो स्थानमा छन् । एक सय ५० अङ्कसहित अस्ट्रेलिया चौथो, एक सय ४५ अङ्कसहित अफगानिस्तान पाँचौँ, एक सय ३९ अङ्कसहित भारत छैटौँ, एक सय ३० अङ्कसहित पाकिस्तान सातौँ, ९८ अङ्कसहित दक्षिण अफ्रिका आठौँ, ८१ अङ्कसहित श्रीलङ्का नवौँ र ३५ अङ्कसहित नेदरल्यान्ड्स दशौँ स्थानमा छन् । 

खेल बराबरीमा सकिए के हुन्छ ?

विश्वकपमा लिग चरण वा नकआउट चरणको खेल बराबरीमा सकिएमा विजयी टोलीको छिनोफानो गर्न ‘सुपर ओभर’ को प्रावधान राखिएको छ । खेल सकिएको पाँच मिनेटपछि नै ‘सुपर ओभर’ को खेल सुरु गरिने छ । ‘सुपर ओभर’ मा दुवै टोलीलाई एक—एक ओभर ब्याटिङ गर्न दिइन्छ । बलिङ गर्ने टोलीले एउटामात्र बलरको प्रयोग गर्न पाउँछ । ‘सुपर ओभर’ मा ब्याटिङ गर्ने टोलीले पनि तीनजना ब्याट्सम्यान मात्र प्रयोग गर्न पाउँछ । त्यसपछि ‘सुपर ओभर’ मा सफलता हात पार्ने टोलीलाई विजयी घोषित गरिने छ । नियमित खेलका क्रममा जुन बल प्रयोग गरिएको हुन्छ ‘सुपर ओभर’ मा पनि त्यही बल नै प्रयोग गर्नु पर्ने हुन्छ । नियमित खेलमा दोस्रो ब्याटिङ गर्ने टोलीले ‘सुपर ओभर’ मा पहिलो ब्याटिङ गर्ने अवसर पाउनेछ ।

‘सुपर ओभर’ पनि बराबरीमा सकियो भने ?

‘सुपर ओभर’ को खेल पनि बराबरीमा सकिएमा जबसम्म हारजितको निर्णय आउँदैन तबसम्म लगातार ‘सुपर ओभर’ कै प्रयोग गरिने प्रावधान राखिएको छ । यदि लिग चरणमा वर्षाका कारण ‘सुपर ओभर’ को बीचैमा रोकियो भने दुवै टोलीलाई एक—एक अङ्क प्रदान गरिन्छ । सेमिफाइनलमा ‘सुपर ओभर’ को खेल वर्षाका कारण बीचैमा रोकियो भने लिग चरणको अङ्क तालिकामा राम्रो अवस्थामा रहेको टोलीलाई विजयी घोषित गरिने छ । यदि फाइनलमा ‘सुपर ओभर’ को खेल वर्षाका कारण बीचैमा रोकियो भने दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिने छ । यसअघि सन् २०१९ को फाइनलमा फाइनल खेल र ‘सुपर ओभर’ बराबरीमा सकिएपछि ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमका आधारमा इङ्ल्यान्डलाई विजेता घोषित गरिएको थियो ।

नगद पुरस्कारको व्यवस्था के छ ?

१३औँ एकदिवसीय विश्वकपको विजेता टोलीलाई ट्रफीसँगै ४० लाख डलर अर्थात् करिब ५३ करोड नेपाली रुपैयाँ नगद पुरस्कार दिइनेछ । उपविजेता टोलीका लागि २० लाख डलर अर्थात् करिब २६ करोड ५० लाख नेपाली रुपैयाँ छुट्याइएको छ । प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका दुई टोलीलाई आठ–आठ लाख डलर अर्थात् करिब १० करोड ५० लाख रुपैयाँ पुरस्कार दिइनेछ । समूहगत चरणबाट बाहिरिने प्रत्येक टोलीलाई एक लाख डलर अर्थात् करिब एक करोड ३० लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ । यसका अतिरिक्त समूहगत चरणको प्रत्येक खेलमा विजयी हुने टोलीलाई ४० हजार अमेरिकी डलर पुरस्कार दिइनेछ । प्रतियोगितामा कुल एक करोड अमेरिकी डलर बराबरको पुरस्कार वितरण गरिने छ । 

कस्ता छन् विश्वकप खेलाउने अम्पायरहरु ?

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, विश्वकपको उद्घाटन खेल कुमार धर्मसेना र नितिन मेननले खेलाउने छन् । १३औँ विश्वकपको उद्घाटन खेलमा फिल्ड अम्पायरद्वय धर्मसेना र मेननलाई टिभी अम्पायर पल विल्सन, फोर्थ अम्पायर साहिद सैकत र म्याच रेफ्री जभागल श्रीनाथले साथ दिनेछन् । 

धर्मसेना श्रीलङ्का र मेनन आयोजक राष्ट्र भारतका नागरिक हुन् । धर्मसेना श्रीलङ्काका पूर्वखेलाडी पनि हुन् । उनले श्रीलङ्काली टोलीबाट एकदिवसीय विश्वकप पनि खेलेका थिए । सन् २०१५ मा धर्मसेना एकदिवसीय विश्वकप खेल्ने र एकदिवसीय विश्वकपको फाइनलमा अम्पायरको भूमिका निर्वाह गर्ने पहिलो व्यक्ति बनेका थिए । 

मेननले भने एकदिवसीय विश्वकपमा पहिलो पटक अम्पायरको भूमिका निर्वाह गर्न लागेका हुन् । बङ्गलादेशी नागरिक साहिद सैकतले पनि एकदिवसीय विश्वकपमा पहिलो पटक फोर्थ अम्पायरको भूमिका निर्वाह गर्न लागेका हुन् । 

आगामी एकदिवसीय विश्वकप खेलाउने अम्पायरहरूमा क्रिस ब्राउन (न्युजिल्यान्ड), कुमार धर्मसेना (श्रीलङ्का), मराइस एरास्मस (दक्षिण अफ्रिका), क्रिस्टोफर गफानी (न्युजिल्यान्ड), माइकल गफ (इङ्ल्यान्ड), एड्रिन होल्डस्टोक (दक्षिण अफ्रिका), रिचर्ड इलिङ्वर्थ (इङ्ल्यान्ड) र रिचर्ड केटलब्रघ (इङ्ल्यान्ड) रहेका छन् । 

यसका अतिरिक्त नितिन मेनन (भारत), अहसान राजा (पाकिस्तान), पल रिफेल (अस्ट्रेलिया), सरफुदुल्ला साहिद (बङ्गलादेश), रोड्नी टुस्कर (अस्ट्रेलिया), एलेक्स वार्फ (इङ्ल्यान्ड), जोल विल्सन (वेस्ट इन्डिज) र पल विल्सन (अस्ट्रेलिया) पनि अम्पायरको भूमिकामा रहेका छन् । म्याच रेफ्रीको भूमिकामा भने जेफ क्रोवे (न्युजिल्यान्ड), एन्डी पाइक्रफ्ट (जिम्बाबे), रिची रिचर्डसन (वेस्ट इन्डिज) र जभागल श्रीनाथ (भारत) रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप