आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोला नाका पुगेपछि मुख्यमन्त्रीले भने सडक र भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ

बिहीबार, १८ असोज २०८०, १० : ३०
बिहीबार, १८ असोज २०८०

मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने तयारी भइरहेको बताएका छन् ।  तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं. २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने– ‘तिब्बत तर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रो तर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ ।’

नाका खोल्ने योजना भइरहँदा तिब्बततर्फ सबै तयारी हुनु र गण्डकी प्रदेशको मुस्ताङ तर्फ कुनै पनि संरचना नहुँदा भोलि समस्या आउन सक्ने उनले बताए । ‘इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार सञ्चालन गर्न हाम्रो तर्फ पनि भौतिक संरचना जरुरी हुन्छ’ उनले भने । 

अहिले रहेको भन्सार र सुरक्षा चेकपोस्ट पिल्लर भन्दा नौ किलोमिटर तल छ । नाका सम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आउजाउ गर्न सक्ने बनाउन तर्फ सरकारको ध्यान गएको मुख्यमन्त्री पाण्डेले बताए । ‘कोरोला नाका सम्मको सडक पनि सङ्घ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको छ’ उनले भने । निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको बताउँदै छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाब सिर्जना गर्ने बताए । 

पछिल्लो चिन भ्रमणका बेला कोरोला नाका खोल्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका थिए । तर नाका कहिले खुल्छ भन्ने अझै यकिन भएको छैन । उक्त विषयमा सङ्घ सरकार, प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

सीमा नाका निरीक्षणसँगै गण्डकी प्रदेश स्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्ला स्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशीलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतका बारेमा छलफल भएको थियो । 

कोरोला नाका निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचन लगायत पनि सहभागी थिए । गण्डकी प्रदेशका प्रमुख सचिव,  प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रदेश प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहितको टोलीले सीमावर्ती क्षेत्रको १० भन्दाबढि गाउँमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरेका थिए ।

प्रदेश सरकारबाट सञ्चालन भएका योजनाको अवस्था, चालु वर्ष विनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्न सक्ने संशोधनका बारेमा मुख्यमन्त्री, जनप्रतिनिधिहरू र स्थानीयबीच अन्तरक्रिया भएको थियो । मुख्यमन्त्री गाउँ गाउँमा पुग्दा स्थानीय निकै उत्साहित र खुसी देखिन्थे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप