आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संस्मरणः

बुबालाई ब्रेन हेमरेजपछि बुझेँ परिवारको महत्त्व

बिहीबार, १८ असोज २०८०, १० : ५८
बिहीबार, १८ असोज २०८०

विसं २०८० भाद्र २१ गते साँझ ११ बजे सुत्ने तर्खरमा थियौँ । भाइको फोन आयो ‘बुबालाई अस्पताल लानुपर्ने भयो, तुरुन्त आउनू ।’ म सीतापाइलाबाट जाँदा जाँदै उहाँलाई बल्खुको वयोधा हस्पिटलमा लगिसकिएको थियो । 

उहाँले वान्ता गरिरहनुभएको थियो । बोल्न सक्नु भएन । बा.. बा.. भन्दा हामीलाई चिनिराख्नु भएको थियो । ब्लड प्रेसर १९०–१०० थियो । डाक्टरहरूले तुरुन्तै ब्लड प्रेसर घटाउने औषधी दिए । सिटी स्क्यान गराए अनि दायाँतिर ब्रेन हेमरेज इन्ट्रासेरेब्रेल ब्रेन हेमरेज भएको निश्चत गरे । अब के गर्ने त ? अन्नपूर्ण न्युरो हस्पिटल लाने कि भनी सल्लाह गर्‍यौँ तर उहाँको ग्लासगो कमा स्केल (जीसीएस) लेबल ४ मात्र रहेछ, अन्त लाँदा बाटोमै केही हुनसक्ने डाक्टरले बताए । त्यसैले सबै छोराछोरीहरूको निर्णयमा बयोधा हस्पिटलमै ब्लड प्रेसर र अक्सिजन नर्मल लेबलमा ल्याउन र ब्रेनमा थप रक्तस्राव हुन नदिन भेन्टिलेटरमा राखेर उपचार गरायौँ । 

बुवाको उमेरका कारणले डाक्टरहरले अप्रेसनमा जोखिम हुन सक्ने भएकाले कन्जरभेटिभ ट्रिटमेन्ट गराउने सल्लाह दिए । सोही अनुसार गरायौँ । केही दिनमै ब्लड प्रेसर र अक्सिजन नर्मल लेबलमा आयो र भेन्टिलेटरबाट झिक्यौँ । ब्रेनमा थप रक्तस्राव हुन बन्द त भयो । तर एक महिना भइसक्दा पनि बुबा पूर्ण होसमा आउनु भएको छैन, मस्तिष्क पक्षघात भएको छ । बायाँ हात खुट्टा चलेको छैन । थाहा छैन जोखिम लिएर स्टेरिओट्याक्टिक वा क्रेनिओटोमी सर्जरी गरेको भए केही राम्रो हुन्थ्यो कि । 

परिवारप्रतिको जिम्मेवारी र सङ्घर्ष 

हामी कोही अजम्बरी छैनौँ । एक दिन यो देहलाई त्याग गर्नै पर्छ । तर पनि बुबाको शीघ्र स्वास्थ्य सुधारको आशामा उपचार भइरहेको छ । बुबाको शीघ्र स्वास्थ्य लाभ होस् भनेर भगवानसँग हाम्रो प्रार्थना छ । 

मेरो बुबा पन्ना काजी शाक्यका ३ छोरा र १ छोरी हुन् । चार वर्षको हुँदा बुबा बित्नु भएकाले उहाँले आफ्नो औपचारिक शिक्षा माध्यमिक तहभन्दा माथि बढाउन सक्नुभएन । तर पनि उहाँले सबै छोराछोरीलाई राम्रै स्कुलमा पढाउनुभयो । सबैले उच्च शिक्षा हासिल गर्‍यौँ । 

उहाँले घरेलु शिल्पकला बिक्री भण्डारको स्थापना कालदेखि नै उक्त भण्डारको न्युरोड शाखाको प्रमुख इन्चार्जका रूपमा काम गर्नुभयो । २०४८ पछि संस्थानहरू खारेज गर्दै जाने क्रममा ५० वर्षको उमेरमै सेवा निवृत्त हुनुभयो । सेवा अवधिभर र सेवापश्चात पनि उहाँलाई धेरैले सुब्बा साहेब भन्छन् । सेवा निवृत्त भएपश्चात पनि उहाँले केही न केही व्यवसाय गर्नुभयो । २०३४ सालतिरै काठमाडौँ लगनटोलको पुख्र्याैली जग्गामा छ तले घर बनाई २२ वटा कोठा भाडामा दिनु भएको थियो । यस कार्यले गर्दा उहाँलाई प्रायःले पन्ना साहु पनि भन्छन् । त्यो घर बेचेर पछि हाँडीगाउँमा बस्नु भयो । हामी छोराहरूले आफ्नो आम्दानीबाट उहाँलाई घरखर्च कहिल्यै दिन परेन । छोराहरूले आआफै गरिखायौँ । सम्पत्तिमा पछि विवाद नआओस् भनी २०६३ सालतिर सहमतिमै आमाबुवाको जिउनी राखेर छोराहरूलाई बराबर सम्पति दिएर छुट्याइदिनुभयो । थाहा छैन, यो राम्रो अभ्यास थियो या थिएन । यसले छोराहरूलाई आआफैँ गरिखान बाटो त खुले तर बिस्तारै पारवारिक सामीप्य खुकुलिँदै गएको मससुस भयो । २०६३ सालसम्म म र कान्छो भाइको परिवार बुबाआमासँगै बस्थ्यो । तर पछि म आफ्नै घर बनाई ललितपुरको भैँसेपाटी सरे । मैले घर बनाएर सर्दा सबैभन्दा खुसी र गर्व गर्ने मेरो बुबामुमा नै हुनुहुन्थ्यो । 

बुबाआमा मात्र त्यस्ता व्यक्ति हुन् जो छोराछोरीको सफलता र प्रगतिमा ईष्र्या गर्दैनन्, गर्व गर्छन् । जसले छोराछोरीको सफलता, प्रगति र जितका लागि आफ्नो सबैथोक हारिदिन्छन् । हामीलाई दुख्ला भनेर सबै दुःख आफै सहिदिन्छन् । २०५७ सालतिर म नर्वेबाट एमफिल गरेर नेपालमा पद्मकन्या क्याम्पसमा आंशिक शिक्षकका रूपमा र अन्य गैरसरकारी संस्थामा काम गर्थें । तर बुबाले बुझेर हो या नबुझेर आफ्ना साथीभाइलाई मेरो छोरा पीएचडी डाक्टर र प्रोफेसर भनी भन्नुहुन्थ्यो । यसले गर्दा मलाई पीएचडी गर्ने दबाब पर्यो, गरिछोड्ने प्रेरणा मिल्यो । अनि २०७८ मा न्युजिल्यान्डबाट पीएचडी गरेँ । न्युजिल्यान्डमै बस्छु भन्ने लागेर बुवाले सधैँ पिएचडी सकेर चाँडै फर्किनु भन्नुहुन्थ्यो । 

विसं २०७५ मा बुबामुमाले हाडीगाउँको घर बेचेर काठमाडौँको टेकु पचलीमा घर किनेर बस्नुभयो । भाइको परिवार पनि उहाँहरूसँगै बसे । बुबामुमाको केही न केही गरिरहने बानी छुटेको थिएन । घरभाडाले गर्दा उहाहरूलाई कहिल्यै खासै आर्थिक समस्या पनि भएन । दुवै जनाले केही रकम बैङ्कमा राखेर आफुखुसी धर्मकर्ममा स्वतन्त्र रूपले लाग्नुभयो । तर पछिल्लो समयमा मैले उहाँहरू एक्लो भएको महसुस गरेँ । भाइ, बुहारी दुवै अफिस जान्थे र नातिनातिनी विद्यालय र कलेज । यसो हुँदा घरमा बुबामुमा मात्रै एक जना सहयोगीको भरमा हुन्थे । काम विशेषबाहेक हामी अन्य छोरा बुहारी आआफ्नै व्यस्तताले गर्दा भेट्न जाने क्रम घट्दै गयो । 

मुमा लामै समयदेखि नै ब्लड प्रेसर र सुगरको बिरामी, नियिमत औषधि खानु पर्ने भए पनि र आफैँ सम्झेर किन्ने र खाने गर्नुहुन्थ्यो । मेरो मनमा सधैँ के कुराको चिन्ता थियो भने बुबाको दिदी, मुमा र बहिनी ब्लड प्रेसर अधिक भएरै  ब्रेन हेमरेजको कारण पक्षघात भई मृत्यु भयकोले बुबालाइ पनि त्यो नहोस् । यही सोचेर बुबालाई नियमित रूपमा ब्लड प्रेसर र स्वास्थ्य जाँच गराउन भन्थेँ । तर बुबाले आफ्नो स्वास्थ्य जाँच कहिल्यै गम्भीर रूपमा लिनु भएन र हेलचेक््रयाइँ गर्नुभयो । गत साल म आफैँले कर गरेर पूर्ण स्वास्थ्य जाँच गराई डा. सुन्दरमणि दीक्षितकोमा लगेर जँचाएँ । उहाँको प्रेसर अधिक थियो । डाक्टरले औषधि दिनुभयो । औषधि त खान सुरु गर्नु भयो तर नियमित रूपमा खानु भएन छ । सोध्दा चाहिँ खाएको भन्नु हुन्थ्यो । खै किन, कसको सल्लाहमा फलोअप चेकअपका लागि दोहर्याएर जान मान्नु भएन । वास्तवमा बुवाले आफ्नो स्वास्थ्य जाँच कहिल्यै गम्भीर रूपमा लिनु नै भयन र हेलचेक््रयाइँ गर्नुभयो । हामीले जति कोसिस गर्दा पनि उहाँलाई सो गर्न गराउन सकेनौँ । 

बुढसकालमा परिवारको महत्त्व 

जीवनमा स्थायी भएर केही पनि आउँदैन । धन, सम्पत्ति, सुख, दुःख, चिन्ता, सबै अस्थायी हुन् । एक दिन सबैले मर्नै पर्छ । बाँच्दै गएपछि वृद्ध हुनै पर्छ ।  तर कहिले, कसरी, कुन रोगले मरिन्छ, हाम्रो बसमा छैन । अचेल हामी ठुलो परिवारबाट सानो, सानो परिवारमा आकर्षित भयका छौँ । प्रायः छोराछोरीहरू रोजगारी र पढाइका लागि बुबामुमाभन्दा टाढा देशमै या विदेशमा बस्ने गरेका छन् । बढेका र पढेका छोराछोरीको आआफ्नै उद्देश्य र आकाङ्क्षा हुन्छन् । ती अस्वाभाविक हैनन् । सकभर बुढेसकालमा आमाबुबाले छोराछोरीसँग र छोराछोरीले आमाबुबासँग अनावश्यक वादविवाद नगर्नुहोस्, आमाबुबालाई तनावमुक्त जीवन बिताउन कोसिस गर्नुहोस् । 

नजिकको छोरा वा छोरीको परिवार जसले पूर्ण समय दिएर रेखदेख गर्नसक्नुहुन्छ बुवाआमासँग मिलेर बस्नुहोस् । उनीहरूमाथि कुनै अनावश्यक दखल वा हस्तक्षेप नगर्नुहोस् । उनीहरूलाई उनकै शैलीमा जीवन बिताउन दिनुहोस् । तपाईं आफ्नै शैलीमा रमाउनुहोस् । बुढेसकालमा सेवा गर्ने छौँ भनेर छोराछोरीले वाचाकसम खाए पनि समय परिवर्तनसँगै उनीहरूको प्राथमिकता बदलिन सक्छ । पालनपोषण गर्ने चाहँदा चाहँदै पनि परिस्थिति प्रतिकूल बन्न सक्छ । बिरामी हुँदा अचेल औषधि गर्न धेरे महँगो छ । त्यसैले आफू पनि आफ्नै शैलीमा जिउन र औषधी उपचारका लागि आफ्नो आयस्रोत, बैङ्क ब्यालेन्स, केही पुख्र्याैली विरासत तथा जिन्सी सामान आफ्नै स्वामित्वमा राख्नुहोस् । हत्तपत्त कुनै पनि छोराछोरीका नाममा नामसारी नगर्नुहोस् ।

बुढेसकालमा अग्लो घरको माथिल्लो तल्लामा बस्दा बढी लड्ने र खुट्टा दुख्ने हुनाले सकभर भुइँतलामा बस्दा राम्रो हुन्छ । आफ्नो कोठा छोरारछोरी, नाति नातिनी या कुनै सहयोगीको कोठासँगै होस् । आफूलाई आवश्यक परेको बेला बोलाउन सकियोस् । शरीर सधैँ एकनाश हुँदैन, नियिमत स्वास्थ जाँच गराउनुहोस् । खानुपर्ने औषधी नियमित खानुहोस् । बुढेसकालको बहाना पारेर पारिवारिक जिम्मेवारी तथा सामाजिक दायित्वबाट तर्किन नखोज्नुहोस् । एक कुशल अभिभावक र मार्ग दर्शक बन्ने कोसिस गरिरहनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. प्रवीण शाक्य
डा. प्रवीण शाक्य
लेखकबाट थप