आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

पाकिस्तानका प्रशिक्षक बब उल्मरको रहस्यमयी निधनले तताएको नवौँ विश्वकप

बिहीबार, १८ असोज २०८०, १२ : ०४
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको नवौँ संस्करण वेस्ट इन्डिजमा आयोजना भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पहिलो र दोस्रो संस्करणको च्याम्पियन यो क्यारेबियन राष्ट्रलाई पहिलो पटक विश्वकप आयोजनाको अधिकार दिएको थियो । 

विश्वकपको नवौँ संस्करण सन् २००७ को मार्च १३ देखि अप्रिल २८ तारिखसम्म आयोजना भएको थियो । यो विश्वकपमा कुल ५१ वटा खेल खेलाइएको थियो । विश्वकपका खेलहरू क्यारेबियन राष्ट्रका आठवटा स्टेडियममा खेलाइएको थियो ।

सहभागी टोलीको सङ्ख्यामा भने यो विश्वकपले कीर्तिमान बनाएको थियो । नवौँ विश्वकपमा १६ वटा राष्ट्रले भाग लिएका थिए । यसअघि विश्वकपको कुनै पनि संस्करणमा यति धेरै राष्ट्रले सहभागिता जनाएका थिएनन् । 

नवौँ विश्वकपमा आईसीसीको पूर्ण सदस्यको रूपमा अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, भारत, पाकिस्तान, श्रीलङ्का र जिम्बाबेले सहभागिता जनाएका थिए । बर्मुडा, केन्या, नेदरल्यान्ड्स, क्यानडा, आयरल्यान्ड र स्कटल्यान्डले भने एसोसिएट सदस्यको रूपमा प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिताको ढाँचा पनि केही परिवर्तन गरिएको थियो । सहभागी राष्ट्रहरूलाई चार समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र स्कटल्यान्ड थिए । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, भारत र बर्मुडा रहेका थिए ।

यसैगरी प्रतियोगिताको समूह ‘सी’ मा न्युजिल्यान्ड, इङ्ल्यान्ड, केन्या र क्यानडा रहेका थिए । समूह ‘डी’ मा भने वेस्ट इन्डिज, आयरल्यान्ड, पाकिस्तान र जिम्बाबे परेका थिए । आ—आफ्नो समूहका टोलीले एकअर्कासँग एक—एक खेल खेलेका थिए । 

त्यसपछि प्रत्येक समूहबाट अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको ‘सुपर आठ’ चरणमा प्रवेश गरेका थिए । समूह ‘ए’ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश ‘सुपर आठ’ चरणमा पुगेका थिए । भारत भने समूहगत चरणबाटै बाहिरिएको थियो ।

197799

यसैगरी समूह ‘सी’ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड तथा समूह ‘डी’ बाट वेस्ट इन्डिज र आयरल्यान्ड ‘सुपर आठ’ चरणमा प्रवेश गरेका थिए । पाकिस्तान र जिम्बाबे भने प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएका थिए । 

त्यसपछि प्रतियोगिताको ‘सुपर आठ’ चरणमा पनि आठवटै टोलीले ६—६ वटा खेल खेलेका थिए । एउटै समूहबाट ‘सुपर आठ’ चरणमा पुगेका दुई टोलीले भने ‘सुपर आठ’ चरणमा आपसमा भिडन्त गरेका थिएनन् । उदाहरणका लागि वेस्ट इन्डिज र आयरल्यान्ड समूह ‘डी’ बाट ‘सुपर आठ’ चरणमा पुगेका थिए । त्यसैले यी दुई टोलीले प्रतियोगिताको ‘सुपर आठ’ चरणमा आपसमा भिडन्त गर्नु परेन ।

‘सुपर आठ’ चरणको खेलपछि भने अङ्क तालिकाको सबैभन्दा माथि रहने चार राष्ट्र प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थिए । ‘सुपर आठ’ चरणमा अस्ट्रेलिया पहिलो, श्रीलङ्का दोस्रो, न्युजिल्यान्ड तेस्रो र दक्षिण अफ्रिका चौथो हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए ।

348615-23976541-2560-1440

प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ८१ रनले हराउँदै श्रीलङ्का फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनल खेलमा भने अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । 

प्रतियोगिताको फाइनलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ५३ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसपछि अस्ट्रेलिया चारपटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र बनेको थियो । 

वर्षाका कारण खेल ३८—३८ ओभरमा झारिएको थियो । अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काले ३६ ओभरमा दुई सय ६९ रन बनाउनु पर्ने गरी लक्ष्य पाएको थियो । तर, श्रीलङ्काले ३६ ओभरमा आठ विकेट गुमाएर दुई सय १५ रनमात्र बनाउन सकेको थियो । 

2.22251057

फाइनलमा अस्ट्रेलियाका लागि एडम गिलक्रिस्टले एक सय ४९ रनको योगदान गरेका थिए । म्याथ्यु ह्याडेनले ३८ र कप्तान रिकी पोन्टिङले ३७ रन बनाएका थिए । श्रीलङ्काका लागि सनथ जयसूर्याले ६३ र कुमार सांगाकाराले ५४ रन बनाए पनि टोलीको जितका लागि पर्याप्त हुन सकेन । फाइनल खेलमा अस्ट्रेलियाका एडम गिलक्रिस्ट म्यान अफ दी म्याच घोषित भएका थिए । म्यान अफ दी सिरिजको पुरस्कार पनि अस्ट्रेलियाकै ग्लेन म्याग्राले पाएका थिए । 

नवौँ विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा अस्ट्रेलियाका म्याथ्यु ह्याडेन पहिलो स्थानमा थिए । उनले कुल ६ सय ५९ रन बनाएका थिए । श्रीलङ्काका माहेला जयाबर्द्धनेले पाँच सय ४८ रन बनाएका थिए । अस्ट्रेलियाका रिकी पोन्टिङले पाँच सय ३९ रन जोडेका थिए ।

Main

यसैगरी सर्वाधिक विकेट लिने बलरहरूको सूचिमा अस्ट्रेलियाका ग्लेन म्याग्रा अग्रस्थानमा रहेका थिए । उनले ११ पालीमा कुल २६ विकेट लिएका थिए । श्रीलङ्काका मुथैया मुरलिथरनले २३ विकेट हात पारेका थिए । अस्ट्रेलियाका शन टेटले पनि २३ विकेट लिएका थिए । 

GettyImages-74018640

नवौँ विश्वकपका क्रममा एउटा निकै दुःखद घटना भएको थियो । त्यो घटनाले समग्र विश्वकपलाई नै ओझेलमा पारेको थियो । विश्वकपकै क्रममा पाकिस्तानी टोलीका प्रशिक्षक बब उल्मरको रहस्यमयी तरिकाले निधन भएको थियो । 

उनी मार्च १८ तारिखका दिन आफू बसेको होटलको कोठमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत शरीर बाथरुममा फेला परेको थियो । उनी होटलको १२औँ तलामा बसेका थिए । त्यतिबेला उनी ५८ वर्षका थिए । 

010577d2dec97790f3d394cbe95a3917

त्यसको ठिक एक दिनअघि उनको टोली पाकिस्तान समूहगत चरणको खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी आयरल्यान्डसँग पराजित भएको थियो । त्यो हारेपछि पाकिस्तान समूहगत चरणबाटै बाहिरिने निश्चित भइसकेको थियो । 

मृत्यु हुनुअघि प्रशिक्षक उल्मरले बान्ता गरेका थिए र त्यसमा रगत पनि मिसिएको थियो । कसैले उनको मृत्यु हृदयाघातका कारण भएको दाबी गरेका थिए भने कसैले उनले आत्महत्या गरेको हुनसक्ने अनुमान पनि गरेका थिए । विष ख्वाएर उनको हत्या गरिएको हुनसक्ने अनुमान गर्नेहरूको पनि कमी थिएन ।

त्यसपछि जमैकाको प्रहरीले घटनाको गम्भीर रूपमा अनुसन्धान अगाडि बढाएको थियो । जमैकाको प्रहरीले नै प्रशिक्षक उल्मरको मृत्यु शङ्कास्पद रहेको बयान जारी गरेको थियो । निकै लामो समयको अनुसन्धानपछि जमैकाको प्रहरीले उल्मरको हत्या नभएको अर्को बयान जारी गरेको थियो । 

अनुसन्धानका क्रममा प्रहरीले पाकिस्तानी खेलाडी र खेल पदाधिकारीहरूसँग पनि सोधपुछ गरेको थियो । खेलाडी र खेल पदाधिकारीको सुरक्षामा ध्यान नपुर्‍याएको भन्दै आईसीसीको पनि व्यापक आलोचना भएको थियो । 

मृत्यु हुनुभन्दा सात घण्टाअघि प्रशिक्षक उल्मरले आफ्नी पत्नीलाई इमेल पठाएका थिए । आफ्नी पत्नीलाई पठाएको उक्त मेलमा उल्मरले आफू निकै तनावमा रहेको बताएका थिए । पाकिस्तानी टोली विश्वकपको समूहगत चरणबाटै बाहिरिएपछि आफूले निकै तनाव महसुस गरिरहेको उनले मेलमा उल्लेख गरेका थिए । 

उनलाई जीवित रूपमा देख्ने अन्तिम व्यक्ति पाकिस्तानी टोलीका खेलाडी सोएब मलिक थिए । उनले राति प्रशिक्षक उल्मरलाई लिफ्टमा भेटेका थिए । उनीहरूसँगै होटलको १२औँ तलसम्म गएका थिए । त्यसपछि उल्मर आफ्नो कोठामा गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप