आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धम्म/धर्म निर्देशित विदेश नीतिको खाँचो

बिहीबार, १८ असोज २०८०, १५ : २८
बिहीबार, १८ असोज २०८०

तेस्रो पटक प्रधानमन्त्री बनेर नौ महिना शासन सम्हाल्न भ्याउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले हालसालै भारत, संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुने मेसोमा संयुक्त राज्य अमेरिका र चीनको भ्रमण गर्नुभएको छ । यी भ्रमणको सेरोफेरोमा भ्रमणका औचित्यका र सफलता र असफलताका बारेमा धेरै लेखिएका छन् । खासगरी नेपालका परराष्ट्र मामिला विद्का बिच रणनीतिक सुरक्षावादी र यथार्थवादी स्कुलको दबदबा भएको सन्दर्भमा यी भ्रमण चासोपूर्ण हुनु स्वाभाविक पनि हो । किनकि, आज नेपाललाई भारत, संयुक्त राज्य अमेरिका र चीनको रणनीतिक स्वार्थको द्वन्द्वको थलो वा ‘फ्ल्यास प्वाइन्ट’को को रूपमा हेरिन्छ । यस्तो रणनीतिक द्वन्द्वको सामाजिक निर्माण गरिरहेको सार्वजनिक विमर्शको पृष्ठभूमिमा प्रधानमन्त्रीद्वारा तथाकथित द्वन्द्वका स्रोत तिनै शक्ति पीठको तीर्थाटनबारे धेरै नेपालीको चासो हुनु पनि स्वाभाविकै हो ।

तर, प्रधानमन्त्रीको विदेश भ्रमण र त्यसको वरिपरि भएको विमर्शलाई गहिरिएर हेर्ने हो भने  सरकारको विदेश नीति र बौद्धिक विमर्श दुवै कति दिग्भ्रमित छ भन्ने प्रस्ट हुन्छ । यही एउटै बहसलाई केलाउने हो भने हाम्रो नेपाल किन बन्न सकेन भन्ने कुराको पनि छनक पाउन सकिन्छ ।किनकि कुनै पनि देशले शान्ति, प्रगति र समृद्धि हासिल गर्न सबभन्दा पहिले आफू को हो, आफ्नो पहिचान कसरी निर्माण र प्रस्तुत गर्ने र के कुरामा केन्द्रित हुने, कस्ता सोच, बहस र कार्यबाट परै बस्ने भन्ने थाहा पाउन र सोअनुरूप आचरण गर्न जरूरी हुन्छ । जुन कुरामा नेपाल केही दशक यतादेखि चुक्दै आएको छ । 

अन्तर्राष्ट्रिय सम्बन्धको कखरा थाहा हुनेलाई थाहा हुनुपर्ने सामान्य ज्ञान के हो भने कुनै पनि देशको हितको प्रवर्द्धन गर्न त्यो देशले दुनियाँलाई त्यही देशमा उभिएर हेर्न सक्नुपर्छ । उसले अरूका होइन, आफ्नै आँखाले आफूलाई र दुनियालाई हेर्न सक्नुपर्छ । अझ नेपाल जस्तो सानो देशले त शक्तिराष्ट्रका आँखाबाट आफूलाई हेर्ने गल्ती कहिल्यै गर्नु हुँदैन । नेपालको परराष्ट्र नीति र विदेश सम्बन्धको सवालमा सबभन्दा पहिले नेपाल सरकार, नेपाली बौद्धिक समुदाय र नेपाली सञ्चारमाध्यमले नेपाली दृष्टिविन्दू पहिल्याउन सक्नुपर्छ ।माथि उल्लेख भए झैं के कुरामा ध्यान केन्द्रित गर्ने र के कुरामा नअल्झिने भन्ने खुट्याउनु पर्दछ । तर, यतिवेला नेपालको परराष्ट्रसम्बन्धबारेका सरकारी नीति र सार्वजनिक विमर्शले ध्यान केन्द्रित गर्नै नपर्ने विषयमा रूमल्लिएका छन् भने जोड गर्नुपर्ने कुराको भेउ नै पाउन सकेका छैनन् । त्यो कुरा प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमणका एजेण्डामा पनि अभिव्यक्त भएका छन् ।

त्यसो भए नेपालको परराष्ट्र नीतिसम्बन्धी बहसको मूल समस्या के हो? नेपालको विदेश नीति कस्तो हुनुपर्छ? 

शक्ति राष्ट्रका आँखाबाट छेडिएको नेपालको परराष्ट्र सम्बन्ध सम्बन्धी बहस

नेपालको परराष्ट्रनीति सम्बन्धी विध्यमान बहसको मूल समस्या के हो भने यो बहस नेपालको दृष्टिविन्दूबाट छेडिएको छैन । यो या त भारत, संयुक्तराज्य अमेरिका वा चीनको दृष्टिविन्दूबाट छेडिएको  छ । परराष्ट्र नीतिसम्बन्धी यथार्थवादी वा रणनीतिक सुरक्षासम्बन्धी सिद्धान्तले जहिले पनि बलिया शक्तिराष्ट्रको आँखाबाट अन्तर्राष्ट्रिय मामलालाई हेर्छ । यस्तो अशरीर दृष्टिबाट हेर्दा नेपाल बलिया शक्ति राष्ट्रको इशारामा नाच्ने बाहेक नेपालको अरू कुनै सामर्थ्य देखिन्न । नेपालको कुनै पहलकदमी हुन सक्ने नै देखिन्न। यथार्थवादी दृष्टिकोणबाट नेपाल  “बफर स्टेट” वा अन्तर्राष्ट्रिय “फ्ल्यास प्वाइन्ट” भन्दा अरू हुनै सक्दैन । यस्तो दृष्टिकोण बोकेर हिँडेपछि हाम्रो राष्ट्रिय मनोविज्ञान अस्तित्वको चिन्ता वा “एक्जिस्टेन्सिएल एङ्जाइटी” बाट माथि उठ्नै सक्दैन ।यस्तो दृष्टिकोण बोक्दा हामी शक्तिराष्ट्रसित केही मौलिक प्रस्ताव गर्न सक्दैनौँ । बरू राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको रूपमा प्रस्ताव गरेका थिए । तर हामी केबल अमेरिकाले प्रस्ताव गरेको एमसीसी, चीनको बीआरआई वा भारतले प्रस्ताव गरेको त्यस्तै केही नीति मान्ने कि नमान्ने भन्नेमा माथापच्चिस गर्छौं । हामीले भूटानीकरण भनेर हियाउने गरेको भुटानले बरू “ग्रस ह्याप्पिनेस इन्डेक्स” लाई परराष्ट्र नीतिको अंग बनाएको छ । तर, हामी केही प्रस्ताव गर्न सक्दैनौं । हाम्रा प्रधानमन्त्री भिखारी जस्तो विदेश भ्रमणका क्रममा झोली मात्रै थाप्छन् र विदेशी राष्ट्रपतिसित भेट्न पाएकोमा मख्ख भएर भ्रमण सफल भयो भन्दै नेपाल फर्किन्छन् । आफ्नो कुनै मौलिक एजेण्डा प्रस्तुत गर्दैनन् । 

धम्म/धर्म विनाको राजनीतिको कारण आज हाम्रो देशले यो दुर्गति बेहोर्नुपरेको छ । धर्म विनाको दैनिकीको कारण नेपालीहरूको मुहारबाट हाँसो र खुसी हराउँदै गएको छ । धर्म विनाको विश्वराजनीति र विदेशनीतिको कारण नेपाल दिनानुदिन खोक्रो बन्दै गएको छ । 

यथार्थवादी दृष्टिकोणको अर्को समस्या छ। त्यो के हो भने यसको पूरै ध्यान अन्तर्राष्ट्रिय सम्बन्धमा द्वन्द्व र युद्धका विविध मुहान खोज्नुमा केन्द्रित हुन्छ। शान्तिको बाटो के हो त्यसको खोजीमा यसको चासो एकदमै कम छ । यथार्थवादीहरूले के कुरा बुझ्दैनन् भने सामाजिक-राजनीतिक यथार्थ राजनीतिक व्यवहार र पैरववीको क्रममा निर्माण हुन्छ । यस अर्थमा विश्वराजनीतिमा द्वन्द्व र युद्ध हुनुमा यथार्थवादी पैरवी र व्यवहारको पनि उत्तिकै हात हुनेगर्छ जति शक्तिसङ्घर्षको हुने गर्छ । 

त्यसकारण, यदि नेपालले नेपालकै सेवा गर्ने विदेश नीतिको निर्माण गर्ने हो भने सबभन्दा पहिले परराष्ट्र सम्बन्धसम्वन्धी हाम्रो पैरवी र व्यवहार यथार्थवादको दुष्चक्रबाट बाहिर निस्कनुपर्छ र हामीले हाम्रो विश्व र क्षेत्रीय  राजनीतिको रङ्गमञ्चमा पहिचानलाई पुन:परिभाषित गर्नुपर्छ । त्यो पहिचान पहिल्याउनभन्दा पहिले हामीले हाम्रो जरोकिलो के हो त्यो पहिल्याउनुपर्छ । हाम्रो राजनीति केबाट निसृत हुने त्यो ठम्याउनुपर्छ । 

नेपाली जरोकिलोको प्रश्न

आज नेपाल हरेक क्षेत्रमा जसरी धरमराइरहेको  छ त्यसको पहिलो कारण हामी जरा उधिनिएको रूख जस्तो भएर हो ।आधुनिकीकरण र परिवर्तनको एकोहोरो धुनमा सबभन्दा पहिले त हाम्रो साँस्कृतिक जरा उधिनिएको छ । हाम्रो समाजलाई हजारौँ वर्षदेखि फल्नफूल्न सघाएको ज्ञानको संहार भएको छ । हामीलाई हाम्रो संस्कृति, भाषा, ज्ञान र सामर्थ्य केहीमाथि पनि आत्मविश्वास नभएको निकै डरलाग्दो स्थितिमा हामी नेपाली पुगेका छौं । सबभन्दा पहिले आफ्नो ज्ञान परम्परामा खडा हुन नसक्दा बाहिरी दुनियाँले विज्ञानका क्षेत्रमा गरेको विकास पनि हामीले राम्ररी भित्रयाउन सकेका छैनौं । 

नेपालको भविष्यको ठेक्का केही अर्थशास्त्री र पश्चिमा उदारवादका विद्यार्थीको हातमा पुगेको छ । हाम्रो प्रभुत्वशाली बहसमा बुद्ध, यज्ञवल्क, चाणक्य, राजा जनक, वेदव्यास, अस्टवक्र, आर्यभट्ट वा भरतमुनिको चर्चा कहिल्यै छैन । चर्चा छ त एरिस्टोटल, प्लेटो र पछिल्लो समयमा फ्रान्सिस फुकुयामा वा मिल्टन फ्रेडम्यान वा कार्ल मार्क्सको मात्रै छ । दल नै पश्चिमा “इनलाइटमन्ट”का बौद्धिक उत्पादन मार्क्स र लेनिनका नाममा  नामाकरण भएका छन् । 

पश्चिमी आधुनिकताले हाम्रो सन्दर्भमा एउटा पनि वाचा पूरा गरेको छैन ।तिनले न हामीलाई समृद्धि दिएका छन् न त आत्मिक शान्ति नै । मेरो विचारमा नेपालमा वर्चस्व जमाएका उदारवादी र मार्क्सवादी दुवै विचार पश्चिमा आधुनिकताका सन्तान हुन् । हाम्रा रैथाने उत्पादन होइनन् । विचार भनेको एउटा यस्तो विचित्र चिज हो जो संसारभरि डुली हिँड्छ । तर, अक्सर यसले एउटा खास स्थानीय स्वार्थको सेवा गर्छ । त्यसैले हुनुपर्छ वीसौँ शताब्दीका शक्तिशाली विचारक मिसेल फुकोले विचार/ज्ञानले जहिल्यै यो वा त्यो शक्तिको सेवा गर्छ भनेको । खास विचारले खास शक्तिको मात्रै होइन, खास स्थानीयताको पनि सेवा गर्छ त्यसले जतिसुकै भूमण्डलीयताको वर्को ओडेको होओस् । 

त्यसकारण, हरेक क्षेत्रमा नीति बनाउनुभन्दा पहिले हामीले हाम्रो जरोकिलो पहिल्याउनुपर्छ । जरा बलियो गरेर आफ्नो माटोमा फिजाएपछि मात्रै राजनीति, शिक्षानीति, अर्थनीति र विदेशनीतिको हाँगा फैलाउन सकिन्छ । यो अर्थमा कालमार्क्सको सोचको ठीक विपरित आफ्नो ज्ञान, विज्ञान, सभ्यता र सँस्कृति नै ती सबै नीतिको मुहान हुनुपर्छ । जबसम्म हामीले हाम्रो ज्ञान, विज्ञान,  सभ्यता र सँस्कृतिको जरो पहिल्याउन र फहिल्यान सक्दैनौँ कुनै पनि क्षेत्रमा हाम्रो देशको प्रगति हुन सक्दैन । नेपाललाई अझ दुर्दशाबाट जोगाउने हो भने हाम्रो सार्वजनिक बहस ढिलो नगरी उदारवादी र मार्कस्वादी अर्थशास्त्री र पश्चिमा उदारवाद र चिनिया र भारतीय नवयथार्थवादका विद्यार्थीको दबदबाट बाहिर निकाल्न जरूरी छ । 

सभ्यता, सँस्कृति, ज्ञानसंहार र धर्मनिरपेक्षता 

त्यसकारण, नेपालको विदेशनीति पनि सबभन्दा पहिले हाम्रो आफ्नै मौलिक सभ्यता र सँस्कृतिद्वारा निर्देशित हुनुपर्छ ।हाम्रो सभ्यता सँस्कृतिको मुहान के हो? छोटकरीमा भन्दा धर्मको दर्शन हो । त्यसकारण नेपालको राजनीति र अर्थनीतिमात्र होइन, विदेश नीति पनि सबभन्दा पहिले धम्म/धर्मद्वारा निर्देशित हुनुपर्छ । 

जबसम्म हामीले हाम्रो ज्ञान, विज्ञान,  सभ्यता र सँस्कृतिको जरो पहिल्याउन र फहिल्यान सक्दैनौँ कुनै पनि क्षेत्रमा हाम्रो देशको प्रगति हुन सक्दैन । नेपाललाई अझ दुर्दशाबाट जोगाउने हो भने हाम्रो सार्वजनिक बहस ढिलो नगरी उदारवादी र मार्कस्वादी अर्थशास्त्री र पश्चिमा उदारवाद र चिनिया र भारतीय नवयथार्थवादका विद्यार्थीको दबदबाट बाहिर निकाल्न जरूरी छ । 

नेपालको विदेश सम्बन्धमा धम्म/धर्मको आवश्यकताबारे चर्चा गर्नुभन्दा पहिले म हाम्रो संविधानमा उल्लेखित धर्मनिरपेक्षताको बारेमा चर्चा गर्न चाहन्छु । आधुनिक नेपालको इतिहासमा भएको सबभन्दा ठूलो ज्ञानसंहार हुनुपर्छ नेपालको संविधानमा धर्मनिरपेक्षता शब्द पर्नु ।नेपालको संविधानमा उल्लेखित उक्त शब्दको मर्म सही भए पनि यसलाई गलत अर्थमा प्रयोग भएको छ । हुँदै नभएको अर्थमा प्रयोग भएको छ । नेपालका संविधान निर्माताको अज्ञानता वा नेपाली शब्दको अर्थको गहिराइमा जाने अरूचीका कारण यस्तो भएको छ । नेपाल धर्म सापेक्ष राज्य हुनुपर्ने हो तर पश्चिमा “सेक्युलारिज्म”को अन्ध नक्कल गर्ने क्रममा नेपालको नयाँ संविधानमा धर्मनिरपेक्षता भन्ने शब्द पर्न गयो । शायद नेपालको संविधानमा “सेक्युलारिज्म” उल्लेखै गर्न परेको भए सम्प्रदायनिरपेक्ष, “रिलिजन”निरपेक्ष वा त्यस्तो अरू कुनै शब्दको प्रयोग गर्न सकिन्थ्यो । तर, नेपालको संविधानमा यो प्रसङ्ग नै उल्लेख गर्न जरूरी थिएन । 

किन त्यो जरूरी थिएन भने नेपालको इतिहासमा पश्चिमा राष्ट्रमा जस्तो राजा कहिल्यै पुजारीको अधीन थिएनन् । मन्दिरले कहिल्यै राजकाजमा हस्तक्षेप गरेको थिएन । क्याथोलिक चर्चको पादरीले जस्तो पशुपति वा मनकामना मन्दिरका पुजारीले कहिल्यै राजकाजमा हस्तक्षेप गरेका थिएनन् । यसअर्थमा नेपाल राज्य सधैं “सेक्युलर” रहँदै आएको थियो । तर, पश्चिमा आधुनिकता र सेक्युलारिज्मको अन्ध नक्कल गर्ने क्रममा यो प्रसङ्ग आयो । त्यो भन्दा पहिलेको संविधानमा उल्लेखित “हिन्दू अधिराज्य”मा परेको हिन्दू शब्द पनि हामीलाई पश्चिमाले नै दिएको थियो । हामी नेपाली परापूर्व कालदेखि “हिन्दू” होइन, सनातनी हौँ ।

सनातन परम्परा कहिल्यै विशुद्ध “रिलिजस” परम्परा रहिआएको थिएन । यो एउटा धार्मिक परम्परा थियो । “धर्म” र “रिलिजन” भनेका फेरि पनि फरक कुरा हुन् । धर्म कानुनको जग हो । त्यो धर्म हो जसले व्यवस्था कायम गर्छ । उदाहरणको लागि राजधर्म भनेको राजनीतिक व्यवस्था कायम गर्ने धर्म हो । आपद् धर्ममा आपत्कालिन अवस्थामा स्वीकार्य हुने तर साधारण अवस्थामा स्वीकार हुननसक्ने विषय आउँछन् । स्वधर्म भनेको कुनै व्यक्तिले आफ्नो जीवनमा आपनाउनुपर्ने धर्म हो । धर्म एउटा नैतिक रुपरेखा हो जसले हामीलाई हरदम असल मानिस बन्न र असल निर्णय लिन सिकाउँछ ।धर्मले हाम्रो जीवनमा अर्थ, काम र मोक्ष सबैको प्राप्तिको लागि बाटो देखाउँछ । 

धर्मनै नरहेपछि हामी नेपाली कस्ता बन्दै गएका छौँ त्यो त दिनदिनै हामीले भोगिरहेकै छौँ । धर्म मरेको देशमा बाँच्न, बस्न र खानै मुस्किल भएपछि हामी नेपाली हजारौंको संख्यामा दिनदिनै देश छोडिरहेका छौँ । धर्म मरेको नेपाल देश केही छट्टु र कपटीका लागि स्वर्ग भएको छ, अरु सबै निर्धा र सोझाहरूका लागि नर्क । त्यसैले त कोही पनि मध्यमवर्गका नेपाली बाबुआमा आफ्ना छोराछोरी नेपाल बसुन् भन्ने चाहँदैनन् ।  

किन नेपालको पहिचान आर्थिक होइन, सभ्यतागत-साँस्कृतिक हुनपर्छ ?

नेपालको परराष्ट्र नीति कस्तो हुने भन्नेमा नेपालले सबभन्दा पहिले आफ्नो पहिचानको बारेमा स्पष्ट हुनुपर्छ । हामी सित दुइटा बाट छन् । पहिलो हो नेपाललाई गरिव मुलुकको रूपमा चिनाउने र दुनियाँसित भिख माग्दै हिँड्ने । आफ्नो इज्जत आफैले उडाउँदै हिँड्ने । दोस्रो हो नेपाललाई विभिन्न सभ्यता र सँस्कृतिको संगमस्थलको रूपमा परिभाषित गर्ने । यसलाई पूर्वीय ज्ञानको मुहानमा परिणत गर्ने । यस्तो विदेशनीति लिँदा प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा बाटोघाटो र लगानीको बारेमा पनि सम्झौता गर्छन् । तर, त्योभन्दा धेरै सम्झौता नेपालमा नयाँ नयाँ विश्वविध्यालय खोल्ने र रिसर्च सेन्टर खोल्ने विषयमा हुन्छन् । त्यसपछि, सम्झौताहरू चिनिया, र भारतका विभिन्न भाषाको सिकाइ स्कूलदेखि विश्वविध्यालयका पाढ्यक्रममा राख्ने विषयमा हुन्छन् । नेपालबाट चीनमा यति संस्कृतका शिक्षक पठाउने र यति चिनिया भाषाका शिक्षक भित्रयाउने भन्ने विषयमा हुन्छन् ।

आर्थिक र रणनीतिक कुटनीतिलाई साँस्कृतिक कुटनीतिको मातहत राख्दा मात्रै नेपालले दुवै छिमेकीको विश्वराजनीतिमा भएको अभूतपूर्व पुनरोदयबाट मनग्गे फाइदा उठाउन सक्छ । यस सन्दर्भमा हामीले बुद्धबाट सिक्न सक्छौँ ।

नेपालको परराष्ट्र नीतिलाई प्राथमिक रूपमा साँस्कृतिक नीतिले नेतृत्व गर्नुपर्छ । यसको लागि नेपालले आफूलाई दुई महान् सभ्यताको संगमस्थलको रूपमा चिनाउन सक्नुपर्छ । यो चीन र भारतको आर्थिक पुल होइन, साँस्कृतिक पुल बन्न सक्छ । साँस्कृतिक पुल बनिसकेपछि यो यसै पनि आर्थिक पुल बन्छ । आर्थिक विकास सभ्यता र सँस्कृतिको विकासको एउटा अङ्ग बन्नुपर्छ । अनिमात्रै आर्थिक विकास, समृद्धि र सुख प्राप्त हुन्छ । सभ्यता र सँस्कृतिबाट अलग्गिएको आर्थिक विकास एउटा मृग मरिचिका जस्तो मात्रै हुन्छ । 

आर्थिक र रणनीतिक विषयलाई छिमेक नीतिको मेरूदण्ड बनाउँदा नेपालले जहिल्यै एक वा अर्को छिमेकीको आशङ्का झेल्नुपरेको छ । आर्थिक र रणनीतिक कुटनीतिलाई साँस्कृतिक कुटनीतिको मातहत राख्दा मात्रै नेपालले दुवै छिमेकीको विश्वराजनीतिमा भएको अभूतपूर्व पुनरोदयबाट मनग्गे फाइदा उठाउन सक्छ । यस सन्दर्भमा हामीले बुद्धबाट सिक्न सक्छौँ ।बुद्धको विचार कसरी भारत, भियतनाम, थाइल्याण्ड, बर्मा, चीनलगायतका देशमा कुनै युद्ध नगरी फैलियो त्यो पनि के कुराको साक्छी हो भने साँस्कृतिक बाटोबाट अघि बढ्दा सबैको विश्वास जित्न सकिन्छ ।  

उदाहरणको लागि भारत र चीन जाँदा नेपालका प्रधानमन्त्रीले पूर्वीय सभ्यता र सँस्कृतिको पुनरोदय र पुनःनिर्माणको प्रस्ताव गर्न सक्छन् । नेपाललाई अष्ट्रेलिया जस्तै शैक्षिक केन्द्रमा बदल्न भारत र चीनका विश्वविद्यालयसित सम्झौता गर्न सक्छन् । भारतका, चीनका र पश्चिमा विश्वविद्यालयसित सहकार्य गरे नेपाललाई विश्वभरिका मानिस ज्ञानका लागि धाउने देश बनाउन सकिन्छ । यसो गर्न सके सके भारत र चीनबाट आउने लाखौँ विध्यार्थिबाट नेपालले प्रमुख आम्दानी गर्न सक्छ । आखिर नेपाल यज्ञवल्क, अस्टवक्र, वेदव्यास र गौतम बुद्धको देश हो । यसले विश्वलाई ज्ञान र विज्ञानका क्षेत्रमा दिनसक्ने धेरै छ ।  

किन नेपालको विदेशनीति धर्म/धम्म निर्देशित हुनुपर्छ?

धम्म/धर्म विनाको राजनीतिको कारण आज हाम्रो देशले यो दुर्गति बेहोर्नुपरेको छ । धर्म विनाको दैनिकीको कारण नेपालीहरूको मुहारबाट हाँसो र खुसी हराउँदै गएको छ । धर्म विनाको विश्वराजनीति र विदेशनीतिको कारण नेपाल दिनानुदिन खोक्रो बन्दै गएको छ । 

नेपाललाई धर्मसापेक्ष राष्ट्रमा परिणत गर्न जसरी ढिला भैसकेको छ त्यसरी नै हाम्रो विदेशनीति पनि धर्म वा धम्म निर्देशित बनाउन जरूरी भैसकेको छ । 

हामीले हाम्रो विदेशनीतिलाई धर्म/धम्म निर्देशित बनाउनसक्यो भने हामीले हाम्रो बाटो पहिल्याउने छौं ।यसअघि नै उल्लेख भएझैं विदेशनीति तय गर्नुभन्दा पहिले हामीले हाम्रो आफ्नो स्वत्व थाहा पाउनुपर्छ । आफ्नो स्वत्व थाहापाए पछि एउटा राष्ट्रको रूपमा हाम्रो स्वधर्म के हो थाहा हुन्छ । हामीले हाम्रो पहिचान थाहा पाएपछि वा निर्माण गरेपछि मात्रै हाम्रो विदेशनीति कस्तो हुने भन्ने हामीलाई थाहा हुन्छ । 

हाम्रो नेपाल विश्वलाई शान्तिको सन्देश दिने गौतम बुद्धको देश हो । बुद्धको धम्म दर्शनले शक्तिराष्ट्रहरूलाई शान्तिको मार्ग देखाउँछ । बुद्धको देश भएको नाताले हामीले परराष्ट्र नीतिमा केनेथ वाल्ज, जोहन मेरसाइमर, हब्स वा हान्स मोर्गेन्थाउका यथार्थवादी विचार होइन, बुद्धको धम्ममा आधारित सिद्धान्त वा महाभारतको धर्ममा आधारित सिद्धान्तबाट निर्देशित भएर अघि बढ्नुपर्छ । 

अशोकाले जस्तै हामीले पनि हाम्रो विदेशनीतिमा धम्म/धर्मलाई मूल मार्गदर्शनका रूपमा उल्लेख गरेर आफूलाई एउटा न्यायिक र शान्तिपूर्ण विश्वको पहरेदारको रूपमा उभ्याउन सक्छौं । त्यसो गरेर मात्रै हामीले नजिकका छिमेकीबीच शान्तिको पैरवी गर्न सक्छौं । धम्मको नीतिबाट निर्देशित भएर हामीले अन्तर्राष्ट्रिय मञ्चमा नम्र बोली, शालिन व्यवहार, देशहरूबीच आपसी विश्वास, भातृत्व, संघ भावाना, करूणा र अहिंसामा आधारित विदेशनीतिको पैरवी गर्न सक्छौं । धर्ममा आधारित भएर हामीले अतिवादको विरोध, मानवसंहार, उत्पीडन, अत्याचार र आततायीपनको भर्तसना, र मानवता र मानव जातिको हितको पक्षपोषण गर्न सक्छौँ । धम्म/धर्ममा आधारित भएर हामीले फेरि एकपटक सिद्धार्थ गौतमको देशबाट विश्व शान्ति, करूणा, भातृत्व, मोक्ष र सुखको नयाँ अभियान को झण्डा उठाउन सक्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. डीआर अधिकारी
डा. डीआर अधिकारी
लेखकबाट थप