आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रियामा एमालेको स्वामित्व थियो र रहनुपर्छ : वर्षमान पुन

बिहीबार, १८ असोज २०८०, १९ : ०९
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले शान्ति प्रक्रियाबारे एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिको आफूहरूले राजनीतिक प्रतिवाद गर्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक विषयको प्रतिवाद राजनीतिक तवरले नै गर्ने बताए । 

एमाले संस्थागत रूपमै शान्ति प्रक्रियासहित त्यसयताका सबै राजनीतिक प्रक्रियामा सहभागी हुँदै आएको भन्दै पुनले मुलुकको प्रमुख समस्याबाट एमाले अलग रहन नसक्ने टिप्पणी गरे । एमाले र आफ्नो दल मिलेर तत्कालीन नेकपा बनेको स्मरण गर्दै पुनले त्यतिबेलाका दस्ताबेजमा आफूहरुको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौताबारे आधिकारिक दस्ताबेजमा धेरै विषय उल्लेख गरिएको सम्झिए ।

 ‘एमाले र हामी मिलेर नेकपा बनायौँ, पार्टी एकतापछि सँगै चुनावमा गयौँ । सरकारमा सहकार्य गरेका छौँ’, पुनले भने, ‘संविधानको प्रस्तावनामै जनआन्दोलन, सशस्त्र संघर्षलगायत विभिन्न आन्दोलनको बलमा अहिलेको व्यवस्था स्थापना भएको कुरा लेखिएको छ । नेकपाको राजनीतिक प्रतिवेदनमा जनयुद्ध र त्यसको योगदानबारे धेरै ठाउँमा उल्लेख गरिएको छ ।’

उनले उक्त यथार्थ स्वीकार नगर्ने भए राजनीतिक परिवर्तन स्वीकार नगरको अर्थ लाग्ने तर्क गरे ।  पुनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन एमाले बाधक बन्छ भन्ने आफूले नठानेको बताए । सेना समायोजन र संविधान लेखनमा एमाले र आफ्नो दलबीच सहकार्य भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काममा पनि सहकार्यको विकल्प नरहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप