आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकप प्रिभ्यू : तथ्याङ्कमा नेदरल्यान्ड्सभन्दा निकै बलियो पाकिस्तान

शुक्रबार, १९ असोज २०८०, १० : ४६
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेटको दोस्रो खेलमा शुक्रबार बलियो पाकिस्तानले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल हैदराबादस्थित राजीव गान्धी स्टेडियममा खेलिने छ ।

पाकिस्तान र नेदरल्यान्ड्सबीचको दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । टेस्ट राष्ट्र पाकिस्तान पछिल्लो आईसीसी वरीयताको दोस्रो स्थानमा आसिन छ । नेदरल्यान्ड्स भने आईसीसी वरीयताको १४औँ स्थानमा छ । 

पाकिस्तानले एकदिवसीय विश्वकपको पहिलो संस्करणदेखि नै उपस्थिति जनाउँदै आएको छ । त्यसैले एकदिवसीय विश्वकपमा पाकिस्तानको यो १३औँ सहभागिता हो । आईसीसीको एसोसिएट सदस्य राष्ट्र नेदरल्यान्ड्सको भने विश्वकपमा यो पाँचौँ सहभागिता हो । 

नेदरल्यान्ड्सले पहिलो पटक सन् १९९६ मा एकदिवसीय विश्वकपमा सहभागिता जनाएको थियो । अन्तिम पटक नेदरल्यान्ड्सले सन् २०११ को विश्वकपमा भाग लिएको थियो । सन् २०११ पछि भने नेदरल्यान्ड्सले पहिलो पटक विश्वकपमा सहभागिता जनाएको हो । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई प्रतिद्वन्द्वीबीच निकै कम खेल भएको छ । हालसम्म पाकिस्तान र नेदरल्यान्ड्स ६ पटकमात्र एकदिवसीय प्रतियोगितामा आपसमा भिडेका छन् । ६ वटै खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएको छ । 

IMAGE_1667130681

यसका अतिरिक्त पाकिस्तान र नेदरल्यान्ड्सबीच टी—२० अन्तर्राष्ट्रिय प्रतियोगितामा केवल दुईवटा खेल भएको छ । दुवै खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएको छ । त्यसैले हालसम्मको तथ्याङ्कमा नेदरल्यान्ड्सभन्दा पाकिस्तान निकै बलियो देखिन्छ । 

पछिल्लो पटक पाकिस्तान र नेदरल्यान्ड्सबीच सन् २०२२ को अगस्त २१ तारिखमा एकदिवसीय खेल भएको थियो । उक्त खेलमा पाकिस्तान नौ विकेटले विजयी भएको थियो । यसपटक पाकिस्तानी टोली बाबर आजम र नेदरल्यान्ड्स स्कट एडवार्डसको कप्तानीमा ओर्लने छ । 

भारतीय भूमिमा भने पाकिस्तान र नेदरल्यान्ड्स पहिलो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि पाकिस्तान र नेदरल्यान्ड्सबिच एकदिवसीय विश्वकपमा दुईपटक भेट भएको छ । सन् १९९६ को विश्वकपमा पाकिस्तानले नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थियो । 

त्यसपछि सन् २००३ को एकदिवसीय विश्वकपमा पनि यी दुई टोली आपसमा भिडेका थिए । त्यो खेलमा पनि पाकिस्तानले नेदरल्यान्ड्सलाई ९७ रनले हराएको थियो । एकदिवसीय क्रिकेटमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध बनाएको उच्च स्कोर ६ विकेट गुमाएर तीन सय १४ रन हो ।

95175701

नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानले बनाएको सबैभन्दा कम स्कोर भने दुई सय ६ रन हो । यसैगरी नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध बनाएको उच्च स्कोर आठ विकेट गुमाएर दुई सय ९८ रन हो । पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध बनाएको सबैभन्दा कम स्कोर भने एक सय ३६ रन हो । 

नेदरल्यान्ड्सविरुद्ध एउटै एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने पाकिस्तानी ब्याट्सम्यान फखर जामन हुन् । जामनले एक सय नौ रन बनाएका थिए । नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट बलिङ गर्ने पाकिस्तानी बलर नसिम शाह हुन् । उनले १० ओभरमा ३३ रन खर्चिएर पाँच विकेट लिएका छन् । 

पाकिस्तानविरुद्ध एउटै खेलमा उच्च रन बनाउने नेदरल्यान्ड्सका ब्याट्सम्यान बास डे लिडे हुन् । उनले पाकिस्तानविरुद्ध एक सय २० बलमा ८९ रन बनाएका छन् । पाकिस्तानविरुद्ध उत्कृष्ट बलिङ गर्ने नेदरल्यान्ड्सका बलर पनि बास डे लिडे हुन् । उनले एउटै खेलमा ५० रन खर्चिएर तीन विकेट लिएका छन् । बास डे लिडे अहिले पनि नेदरल्यान्ड्सको टोलीमा छन् । 

यसैगरी पाकिस्तान र नेदरल्यान्ड्सबीचको एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने खेलाडी पाकिस्तानका बाबर आजम हुन् । पाकिस्तानी टोलीका वर्तमान कप्तान आजमले नेदरल्यान्ड्सविरुद्ध तीन खेलमा कुल दुई सय २२ रन बनाएका छन् । नेदरल्यान्ड्सका टम कुपरले भने पाकिस्तानविरुद्ध तीन खेलमा कुल एक सय ९३ रन बनाएका छन् । 

विश्वकपका लागि घोषित पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), सदाब खान, फाखर जामन, इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखार अहमद, सलमान अली अघा, मोहम्मद नवाज, उसमा मिर, ह्यारिस रउफ, हसन अली, साहिन शाह अफरिदी र मोहम्मद वसिम रहेका छन् ।   

यसैगरी नेदरल्यान्ड्सको टोलीमा स्कट एडवार्डस (कप्तान), कोलिन एकरम्यान, सारिज अहमद, वेस्ली बारेसी, लोगन भान बीक, आर्यन दत्त, साइब्रान्ड एङ्गलब्रेच्ट, रायन क्लेइन, बास डे लिडे, पल भान मिकेरन, रोएलोफ भान डेर, तेजा निदामानुरु, म्याक्स ओ’डड, विक्रम सिंह र साक्विब जुल्फिकर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप