आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चुडेल भनेर बोलाउँछन् मलाई, यो सुनेर राम्रो लाग्छ : रिया चक्रवर्ती

शुक्रबार, १९ असोज २०८०, ११ : ०६
शुक्रबार, १९ असोज २०८०

बलिउड अभिनेत्री रिया चक्रवर्ती आजकाल रियालिटी सो रोडिजमा ग्याङ लिडरको रूपमा देखिएकी छिन् । अभिनेत्री आफ्नो निजी र व्यावसायिक जीवनका कारण चर्चामा छाइरहन्छिन् । बिहीबार उनी ‘इन्डिया टुडे कनक्लेभ २०२३’ मा देखिइन् र उनले त्यहाँ आफूमाथि गरिएका हरेक प्रश्नको जवाफ दिइन् । सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रियाले पहिलो पटक सुशान्त राजपूतको आत्महत्या, जेलमा बिताएका रात, सोसल मिडिया ट्रोलिङबारे अन्तर्वार्ता दिएकी छिन् । 

कति फेरियो जीवन ?

सेसन मोडरेटर राजदीप सरदेसाईसँग कुरा गर्दै रियाले पछिल्लो तीन वर्षमा उनको जीवनमा धेरै परिवर्तन आएको बताइन् । उनले भनिन्, ‘तीन वर्ष अघि जब तपाईंले मेरो अन्तर्वार्ता लिनुभएको थियो तब मलाई आमन्त्रण गर्नुभएको थिएन । अब मलाई निमन्त्रणा पठाउनु भएको छ । जीवन एक चक्र हो । अब म मिडियासँग कुरा गरिरहेकी छु । जीवन अघि बढिरहेको छ । पहिला ३१ वर्षको उमेरमा मैले आफूभित्र ८१ वर्षकी वृद्धा महिला महसुस हुन्थ्यो । मुस्किल समयमा कि त तपाईं देवदास बन्न सक्नुहुन्छ कि थेरापीको सहारा लिएर अघि बढ्न सक्नुहुन्छ । मैले थेरापीको सहारा लिएँ ।’

उनले थपिन्, ‘मेरा लागि कसैको पनि धारणाले महत्त्व राख्दैन । मभित्रको आवाजले भन्थ्यो कि सबै कुरा ठिक हुनेछ । हरेक कहानीको दुई पाटा हुन्छन् । एउटा जुन हामी देख्छौँ र अर्को जुन हामी देख्न सक्दैनौँ ।’

के साँच्चै सुशान्त राजपूतको मृत्युमा कुनै भूमिका थियो ?

सुशान्त सिंह राजपूतको मृत्युबारे कुरा गर्दै उनले भनिन्, ‘केही मानिसले मैले नै केही गरेकी छु जसरी हेर्ने गर्छन् । कतिले ममाथि गलत भइरहेको छ भनेर सहानुभूति पनि देखाउँछन् । म मानिसको अनुहार पढ्न सक्छु । मलाई चुडेल नाम मनपर्यो । यसले मलाई केही फरक पार्दैन । के थाहा, मलाई साँच्चै नै कालो जादु आउँछ कि ? विवाहपछि कोही पुरुषले धेरै रक्सी खाए भने केटीले गर्दा यो सब भइरहेको छ भनेर भन्छन् । यदि उसको करियर खस्कियो भने ‘यो आएदेखि यस्तो भयो’ भनेर भन्ने गरिन्छ ।’

हिन्दी सिनेमामा मानिसले किन आत्महत्या गर्छन् ? 

रिया भन्छिन्, ‘यहाँ मानिसहरू मानसिक अवस्थालाई बुझ्दै बुझ्दैनन् । उनी सफल थिए तर उनको मानसिक अवस्था किन खराब थियो भनेर म बुझ्न सक्दिनँ । मानसिक स्वास्थ्यलाई गलत तरिकाले लिइयो । सफल मानिस पनि डिप्रेसनमा हुन सक्छन् । सुशान्तले आफ्नो ज्यान किन दिए भन्ने मलाई थाहा छैन तर उनले के कस्तो कुरा सहनुपर्‍यो भन्ने चाहिँ थाहा छ । म एनसीबी र लागुऔषधबारे कुरा गर्न चाहन्नँ ।’

जेलमा कसरी बित्यो दिन ? 

उनले जेलमा बिताएका दिन सम्झिँदै भनिन्, ‘जेल रोचक हुन्छ किनभने तपाईं समाजबाट अलग्गिनुहुन्छ । जेलमा मैले धेरै कुरा सिकेँ । म अन्डर ट्रायल थिएँ । म दोषी थिइनँ । हामी फिल्मका लागि भागिरहन्छौँ तर जेलमा बसेकी एक महिलाले एउटा समोसा मात्रै पाइन् भने पनि त्यसमा कति खुसी मिल्छ भन्ने कुरा मैले थाहा पाएँ ।’

बलिउडमा पनि राम्रा मानिस छन्

रियाका अनुसार बलिउडमा राम्रा र नराम्रा दुवै मानिस छन् । उनले भनिन्, ‘कति पटक त म आफैँले ‘मसँग फिल्म नगर्नुहोस्, तपाईं ट्रोल हुनुहुन्छ’ भनेँ । म बलिउडमा काम गर्न चाहन्छु । तर सही समयको प्रतीक्षा छ ।’

परिवार शक्ति बन्यो

रियाका अनुसार मुस्किल समयमा उनको परिवार नै उनको हौसला बन्यो । उनले भनिन्, ‘मेरो बुवा आर्मीमा थिए । मेरो परिवारले मलाई बाँच्ने हिम्मत दियो । परिवार र मेरा थुप्रै साथीहरू मेरो साथमा रहे । उनीहरूलाई ममाथि विश्वास थियो । मेरा बुवा र भाइले ‘जीवनमा यस्तो समय आउला भनेर कहिल्यै नसोचेको बताए तर जे जति भयो, त्यसलाई स्विकारेको पनि बताए’ । ’

उनले थपिन्, ‘मुस्किल समयमा हामी सँगै भयौँ, त्यही नै राम्रो कुरा हो ।’

कस्ती युवती हुन् रिया ?

सुशान्तसँगको लिक भएको ह्वाट्सएप च्याटबारे कुरा गर्दै रियाले भनिन्, ‘तपाईंको बेडरुममा क्यामेरा राखिएको छ भन्ने कुरा थाहा पाउँदा तपाईंलाई कस्तो महसुस होला ?’ म सबै युवतीलाई यही भन्न चाहन्छु कि तपाईंलाई जस्तो लुगा लगाउनु छ लगाउनुहोस्, जसरी बस्नु छ बस्नुहोस् । कहिल्यै पनि कोही केटाले तपाईंलाई उठ्ने बस्ने तरिका बताउन सक्दैन । समाजले के भन्ला भनेर चिन्ता नगर्नुहोस् । ’

तपाईं राम्रो केटी हो कि नराम्रो भनेर सोधिएको प्रश्नमा उनले आफूलाई नराम्रोको संज्ञा दिएकी छिन् । उनले भनिन्, ‘म एक साधारण युवती थिएँ । विवाह र बच्चाको सपना पनि देख्थेँ तर भोलि गएर जीवनमा के होला भन्ने मलाई थाहा छैन ।’

सेसनको अन्त्यमा आफूलाई मन नपराउनेहरूका लागि के सन्देश छ भनेर सोध्दा उनले भनिन्, ‘आइ लभ यु टु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप