आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कविता : ‘म र मेरो राष्ट्र’

शनिबार, २० असोज २०८०, १२ : २४
शनिबार, २० असोज २०८०

स्वदेशमा त के कुरा 

म परदेशमा पनि स्वदेश बाँचेको हुन्छु

कोही आफ्नो घर आफै सल्काएर

स्वदेशमा पनि परदेश बाँच्छन्

म नाङ्गो आकाशको ओत लागेर 

सुखमा-दुःखमा समान 

आफ्नै देश बाँचेको हुन्छु 

म जहाँ भए पनि, जहाँ रहे पनि 

मनमा स्वर्णिम नेपाल साँचेको हुन्छु 

तातो ढुङ्गामा सेके पनि हुन्छ 

रच्छ्यानमा फ्याँकेपनि हुन्छ 

म दुबो हुँ

मौलाउने मेरो धर्म हो 

म कहिले नागीहरुमा भेठीगोठालाहरुसँग 

कहिल्यै नअस्ताउने, कहिल्यै नओइल्याउँने 

नेपाल टेक्दै हुन्छु 

म कहिले तराईका फाँटहरुमा 

तर्तरी बग्ने पसिनासँग 

कहिल्यै नछुट्ने, कहिल्यै नटुट्ने

मितेरी लाउँदै हुन्छु

कहिले म हत्केलाको ठेला भएर खेल्छु

कहिले किसानको सपना 

धानको बाला भएर झुल्छु

 

म तर्सिन कहिल्यै अग्निज्वालाले 

न त तर्सन्छु बारुदका गन्धले नै 

यदाकदा तर्सन्छु 

यो माला छिन्ला कि भन्ने भयले 

त्यसैले हरदिन हररात 

चार वर्ण छत्तिस जातको माला गाँस्दै हुन्छु 

म सपनामा पनि 

जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी जप्दै हुन्छु । 

 

(राप्रपा अध्यक्ष लिङदेनले धुलीखेलमा भएको पार्टीको अनौपचारिक कार्यक्रममा वाचन गरेको कविता साभार । उनले यो कविता २०४७ सालतिर लेखेको बताएका छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र लिङदेन
राजेन्द्र लिङदेन
लेखकबाट थप