आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

अफगानिस्तानलाई ६ विकेटले हरायो बंगलादेशले

शनिबार, २० असोज २०८०, १६ : ३८
शनिबार, २० असोज २०८०

धर्मशाला । आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगालदेशले विजयी सुरुवात गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य बंगलादेशले मात्र ४ विकेटको क्षतिमा ९२ बल अगावै पछ्याएको हो ।

बंगलादेशलाई जीत दिलाउन नजमुल होसेन सान्तोले नटआउट रहँदै ५९ रन बनाए । उनलाई मेहदी हसन मिराजले ५७ रन बनाउँदै राम्रो साथ दिए । अफगानिस्तानका लागि फजलहक फारुकी, नवीन उल हक र अज्मतुल्लाह ओमाराजीले १–१ विकेट लिए ।

यसअघि अफगानिस्तान बंगलादेशविरुद्ध मात्र १ सय ५६ रनमा समेटिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान मात्र ३७.२ ओभरमा अलआउट बन्यो ।

अफगानिस्तानलाई सस्तोमा समेट्न बंगलादेशका कप्तान शाकिब अल हसन र मेहदी हसन मिराजले ३–३ विकेट लिए । शाकिबले ८ ओभरमा ३० रन खर्चिए भने मिराजले ९ ओभरमा ३ मेडन राख्दै मात्र २५ रन दिए । शोरिफूल इस्लामले २ विकेट लिए । 

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । उनलाई अर्का ओपनर इब्राहिम जाडरानले २२ रन बनाउँदै राम्रो साथ दिए । दुई जनाले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे पनि अफगानिस्तानले त्यसपछि लगातार विकेट गुमाउँदै गयो । 

मध्यक्रममा अजमातुल्लाह ओमारजाईले २२ रन बनाएपनि अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप