आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केही दिनमा नेपालबाट मनसुन बाहिरिने

शनिबार, २० असोज २०८०, १८ : ०६
शनिबार, २० असोज २०८०

काठमाडौँ । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन निकालेर नेपालबाट मनसुन बहिर्गमन सुरु भएको जनाएको हो ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्नेछ । ‘देशको पश्चिम भेग भएर शुक्रबारबाट मनसुन बाहिरिन सुरु भएको छ । बाँकी भेगमा मनसुन कायमै रहेकाले आगामी तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ झाले भने ।

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको झाले बताए । उनका अनुसार बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यून चापीय क्षेत्रको प्रभावले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । नेपालको पूर्वी तथा मध्य भू–भागमा हाल बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले बदली र वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप