आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएलाई एकताबद्ध बनाउने शर्माको प्रतिबद्धता

शनिबार, २० असोज २०८०, २१ : ४९
शनिबार, २० असोज २०८०

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको अध्यक्षका उम्मेदवार आरके शर्माले एकआरएनएलाई एकताबद्ध  बनाउन लागिपर्ने बताएका छन् । 

आफ्नो चुनावी बाचापत्रमा उनले एनआरएनहरूबीच एकतालाई पहिलो प्रतिबद्धताका रूपमा अघि सारेका हुन् । उनले भनेका छन्, ‘मेरो नेतृत्वमा आईसीसी गठन हुने बित्तिकै सबै गैर आवासीय नेपालीलाई एकताको मालामा उन्ने अभियानमा लाग्नेछु । मेरो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्नेछ । यो मेरो पहिलो प्रतिबद्धता हो ।’ अहिले एनआरएनए दुई वटामा विभक्त छ । उनले एनआरएनएलाई एक बनाउँदै अघि बढाउने प्रमुख एजेन्डाका रूपमा अघि सारेपछि एनआरएनए अभियन्ताहरूले महत्वका साथ हेरेका छन् । 

उनले गैर आवासीय नेपाली अभियानले अब देशभित्र नै रोजगारी पाउने वातावरण बनाउनको लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि काम गर्ने पनि बाचा गरेका छन् ।  वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसँग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता उनले आफ्नो बाचापत्रमा समेटेका छन् । 

यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन् । श्रमिक र तिनीहरूमा आश्रित परिवारको आर्थिक र सामाजिक सुरक्षाका लागि विशेष पहल गर्ने, सामाजिक सुरक्षा कोषमा हाल कायम रहेका योजनाहरूलाई गैर आवासीय नेपालीमैत्री बनाउन पहल गर्ने शर्माको योजना छ । 

अहिले देशले प्राप्त गरिरहेको विप्रेषण रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने र वैदेशिक रोजगारको विकल्प खोज्नुपर्ने देखिएको भन्दै शर्माले त्यसका लागि विशेष पहल गर्ने बताएका छन् । यस्तै गैर आवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने महत्वकाक्षी योजना पनि शर्माले अघि सारेका छन् ।

‘औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैर आवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ । यसरी जम्मा हुँदै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन पनि पहल गरिनेछ’, शर्माको बाचापत्रमा भनिएको छ ।  

यस्तै साङ्गठनिक पुनर्संरचना, सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनमा जोड दिएका शर्माले अनलाइनबाट पञ्जीकृत सदस्यले भोट गर्ने र राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन एकैदिन हुने व्यवस्था मिलाउने पनि बाचा गरेका छन् । 

देशको विकासका लागि आर्थिक कूटनीति र लगानी प्रबद्र्धनको कार्यक्रम सञ्चालन गर्ने, नेपालको बढ्दो व्यापार घाटा कम गर्न हरेक एनसीसीले नेपालको वस्तु निर्यात प्रवर्द्धनका लागि पहल गर्ने कार्यक्रम सञ्चालन गर्ने, विश्वव्यापी मान्यताअनुसार १८० दिनभन्दा बढी समय नेपाल बाहिर बस्ने नेपालीलाई गैर आवासीय नेपालीको मान्यता दिलाउन पहल गर्ने, दोस्रो/तेस्रो पुस्ताका गैर आवासीय नेपालीलाई देशसँग जोडिरहन कार्यक्रम ल्याउने, भाषा र संस्कृतिको जगेर्ना गर्न पहल गर्ने जस्ता बाचा पनि शर्माले गरेका छन् ।

हालसम्म बद्री केसी, रविना थापा, महेश श्रेष्ठ र विनय अधिकारीसमेतले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको सन्दर्भमा आरकेको योजना प्रभावकारी र एनआरएनएमैत्री रहेको एनआरएनए अभियन्ताहरूको भनाइ छ 

यसैबीच चुनावी अभियानका क्रममा युरोपको भ्रमण सकेर शर्मा आफ्नो कर्मभूमि मध्यपूर्व फर्किएका छन् ।  मध्यपूर्वको सम्मेलन सकेर उनी काठमाडौँ फर्किने र अभियानमा थप व्यस्त हुने बताइएको छ । 

 असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौँमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप