आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लन्डनस्थित अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड 'ओभल'मा नेपालीले प्रतियोगिता गर्दै

आइतबार, २१ असोज २०८०, ०६ : ५८
आइतबार, २१ असोज २०८०

लन्डन । लन्डनस्थित अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्ड 'द ओभल'मा नेपालीले प्रतियोगिता गर्ने तयारी गरेका छन् । दक्षिण लन्डनको ल्याम्बेथ बरोमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा आउँदो २०२४ जुनमा माया इभेन्ट्सले ‘टी टेन क्रिकेट प्रतियोगिता’ गर्न लागेको हो । 

ओभललाई सरे काउन्टी क्रिकेट क्लबको घरेलु मैदान मानिन्छ । करिब एक लाख दश हजार पाउन्ड अर्थात एक करोड ८० लाख अनुमानित खर्च लाग्ने आयोजक माया इभेन्ट्स तथा माया सपोर्टेड लिभिङ लि का निर्देशक राज पाण्डेले बताए । उक्त क्रिकेट खेल नेपालीको निजीपहलबाट गरिएको हालसम्मकै सबैभन्दा ठुलो र खर्चिलो प्रतियोगिता हुनेछ ।

नेपाल र विदेशमा रहेका अन्तर्राष्ट्रिय खेलाडी र विदेशी खेलाडी गरी ६ वटा टिम किया ओभल स्टेडियममा खेल्नेछन् । क्रिकेट प्रतियोगितालाई बेलायती प्राविधिकको सहयोगमा नेपालको प्राइम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी छ । नेपालस्थित द अरफान्स होमको सहयोगार्थ कार्यक्रम गर्न लागिएको पाण्डेले बताए।

नेपाली क्रिकेट खेलाडी र बेलायतबीच सम्बन्ध कायम गरेर नेपाली क्रिकेटलाई थप मजबुत बनाउँदै खेलाडीको मनोबल बढाउने उद्देश्यले ‘टी टेन क्रिकेट प्रतियोगिता’ गर्न लागिएको पाण्डेले बताए । क्रिकेट खेललाई बेलायतमा थप सशक्तीकरण गर्नको लागि आवश्यक सहयोग गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा आफूले कुरा राखेको उनले बताए ।

पछिल्लो समय नेपाली क्रिकेट खेलले ठुलो फड्को मारेको र यस्ता प्रतियोगिताले खेलको स्तर अझ बढ्ने उनको विश्वास छ । एकजनाको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै मिलेर यस्ता प्रतियोगिता गर्न सके खेल र खेलाडीको स्तर वृद्धि हुने उनको धारणा छ । 

बेलायतमा आयोजना हुँदै आएका क्रिकेट प्रतियोगिताहरूमा आफ्नो कम्पनीको तर्फबाट प्रायोजन गर्दै आएको र यो वर्ष मात्र खेलकुद र अन्य सामाजिक गतिविधिमा करिब १७ हजार पाउन्ड खर्च गरेको पाण्डेले बताए । 

अगस्ट पहिलो साता ब्रिटिस नेपलिज प्रिमियर लिगमा पनि उनले प्रायोजन गरेका थिए जुनबेला पूर्व कप्तान ज्ञानेन्द्र मल्लसमेत आएका थिए । सोही अवसरमा ज्ञानेन्द्र मल्ललाई पाण्डेले आफ्नो कम्पनीको ब्राण्ड एम्बासडर नियुक्त गरेका थिए । यसैगरी गत सेप्टेम्बरमा तेस्रो माया सुपर सिक्स क्रिकेट पनि भएको थियो ।

युवा व्यवसायी पाण्डे बेलायत आउनुअघि  नेपालमा क्षेत्रीय स्तरको क्रिकेट खेलाडी थिए । आफू क्रिकेट खेलाडी भएका कारण पनि क्रिकेटप्रति मोह बढेको उनी बताउँछन् । आफू चाडै नेपाल जान लागेको र नेपाल गएर क्रिकेट खेलाडीलाई भेटेर क्रिकेट सामग्री (किट्स)लगायतमा सहयोग गर्ने  पनि उनले बताएका छन् ।

यही प्रतियोगिताका लागि आफूले छिट्टै पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित सचिव पारस खड्का लगायत पदाधिकारीलाई भेट्ने पाण्डेले बताए ।

‘राष्ट्रको गहनालाई सानो सहयोग गरेँ भने यसबाट अरूमा पनि सहयोगको भावना आउला कि भन्ने आशा छ’, पाण्डेले भने, ‘खासमा आफ्नो आत्मसन्तुष्टि र समाजका लागि केही होस् भन्ने सोचेर अगाडि बढेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप