आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसदमा परराष्ट्रमन्त्री

इजरायल घटना : नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र स्थापना

आइतबार, २१ असोज २०८०, १३ : ३९
आइतबार, २१ असोज २०८०

काठमाडौँ । इजरायलमा भएको घटनालाई लिएर परराष्ट्र मन्त्री नारायणप्रसाद साउदको  संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बैठक बसी परराष्ट्र मन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्र स्थापना गरिएको मन्त्री साउदले बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकमा जानकारी गराउँदै उनले इजरायल घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरी नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नको लागि सो समन्वय संयन्त्र स्थापना गरिएको जानकारी गराए । 

मन्त्री साउदले भने,‘यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नको लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरू गर्नेछ ।’

उनले दक्षिण इजरायलमा भएको भयानक आक्रमणका बारेमा जानकारीमा आए लगत्तै त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न एवं उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरेको पनि जानकारी गराएका छन् । 

उनले भने,‘परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई नेपालीहरूको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रुपमा रहन, इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नको लागि नेपालीहरूलाई जानकारी गराउन निर्देशन दिइसकेको छ । नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरूलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने, इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते भएका नेपाली नागरिकहरूको उपचारका लागि पहलकदमी लिइरहेको छ ।’

इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नको लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरणको कार्य भइरहेको पनि मन्त्री साउदले जानकारी दिएका छन् । 

नेपाल सरकार इजरायलमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नको लागि पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले त्यस सम्बन्धमा थप जानकारी प्राप्त भएपछि सोको जानकारी गराइने उल्लेख गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप