आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डब्ल्युएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिएका आचार्यलाई सरकारले सहयोग नगरेको गुनासो

आइतबार, २१ असोज २०८०, १८ : ४१
आइतबार, २१ असोज २०८०

काठमाडौँ । सरोकारवालाहरुले विश्वस्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।  

उनीहरुले सरकारले डा.आचार्यको नाम मन्त्रीपरिषद्बाट अनुमोदन गरेपनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन् । सरोकारवालाहरुले आचार्यलाई जिताउन सरकारले नै दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुसँग पर्याप्त लविङ नगरेको र नेतृत्वदायी भूमिका समेत नलिएको गुनासो गरे । 

आगामी अक्टुबर ३० देखि दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको लागि भारतको नयाँ दील्लीमा निर्वाचन हुँदैछ । दक्षिण पूर्वी एशियामा नेपालसहित बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इण्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लिस्टे राष्ट्र रहेका छन् । आचार्यसँग विगत ३० वर्षदेखि विश्वस्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गरेको अनुभव छ । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गर्दै आएका छन् । उनीहरुले नेपाल सरकारले डा.आचार्यलाई उम्मेदवार खडा गरेपनि पर्याप्त सहयोग नगरेको गुनासो गरे । 

अधिकारकर्मी कनकमणी दिक्षितले सरकारले डा. आचार्यलाई औपचारिक अनुमोदन गरेपनि खुलस्त सहयोग नगरेको बताए । उनले पछिल्लो केही समययता परराष्ट्रमन्त्री एनपी साउद पछाडि हट्न खोजेको हो कि  भन्दै प्रश्न गरे ।

जनस्वास्थ्यविद् प्रा.डा.रिता थापाले आचार्य क्षेत्रीय निर्देशकका लागि योग्य र सक्षम उम्मेदवार भएको बताइन् । डा.थापाले नेपाल सन् १९५३ देखि विश्व स्वास्थ्य संगठनमा आबद्ध भएकाले पनि नेपालले क्षेत्रीय निर्देशकमा दाबी गर्नु स्वभाविक रहेको बताइन् । उनले नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा राम्रो काम गरिरहेको बताइन् ।

अन्तर्राष्ट्रिय संघ संस्थामा लामो अनुभव संगालेका विश्व पराजुलीले विश्व स्वास्थ्य संगठनको उच्च तहमा नेपालले उम्मेदवार दिनु गौरवको विषय भएको बताए । उनले स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा विश्व स्वास्थ्य संगठन क्षेत्रीय निर्देशकको महत्वपूर्ण भूमिका रहने भन्दै मतदान गर्न सम्बन्धित देशलाई आग्रह गरे । पराजुलीले आचार्यले जिते दक्षिण पूर्वि एशियाका साथै नेपाललाई पनि फाइँदा पुग्ने बताए ।

डब्लुएचओले २१ अप्रिलमा उम्मेदवारीका लागि दक्षिण–पूर्वी एशिया क्षेत्रका मुलुकहरूलाई पत्राचार गरेको थियो । आचार्यसँगै प्रतिष्पर्धामा बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी साइमा वाजेद छन् । आचार्य डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसस्को मातहतमा ‘कन्ट्री स्टाटेजी एण्ड सपोर्ट डिपार्टमेण्ट’ को निर्देशक पदमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप