आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
इजरायल तनाव

इजरायलबाट विद्यार्थीहरूको गुहार, १० जना साथीहरूलाई लग्यो, हामीलाई पनि नलगोस् (भिडियो)

सोमबार, २२ असोज २०८०, ११ : ५४
सोमबार, २२ असोज २०८०

काठमाडौँ । इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका छन् । १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका हुन् । 

आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै चाँडो उद्धार गरिदिनु आग्रह गरेका हुन् ।  विद्यार्थीहरूको नेतृत्व गरेका लिडर विपिन सुवेदीले आफूहरूको अवस्था निकै नाजुक रहेको बताए ।

शनिवारदेखि बंकरभित्रै लुकेर बसेका उनले एक भिडियो सन्देश जारी गर्दै तत्काल उद्धारको पहल गरिदिन आग्रह गरेका हुन् ।  घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहेको भन्दै उनले आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको बताए । 

‘हामी ५ जना छौँ । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा थिए । तर, घरभन्दा माथि उठेर देशले केही नगरेको अवस्थामा यो भिडियो बनाउन विवश छौँ । यो बङ्कर हो । यो बंकरमा बस्न थालेको तीन दिन भयो,’ उनले भिडियोमा भने, ‘एम्बेसीले उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसिरहेका छौँ । हामी रातभरि बंकरमाथि मिसाइल खस्दा निकै डर लाग्छ । हामीले १० जना साथी त गुमाइसकेका छौँ । हामी पनि गुम्छौँ कि भन्ने डर छ । १० जनाको साथीको त्यो चिच्याहट, हामीलाई गरेको हार गुहार, सुनेर रातभरि निद्रा लाग्दैन ।’ 

बंकरभित्र रहँदा कुन बेला आतंकवादीहरू आएर मार्ने हो भन्नेमा कुनै टुङ्गो नरहेको उनको भनाइ छ ।  ४९ जनामा १० जना साथीहरू गुमाइसकेको भन्दै अब आफूहरूको समेत त्यस्तै अवस्था हुने हो कि भन्नेमा रहेको बताए । 

‘४९ जनामा १० जना त गुमाइसक्यौँ । अझै पनि जति बचेका छौँ । त्यतिलाई उद्धार गरिदिनुहोस् । देश फर्किएर कृषि क्षेत्रमा हामी केही न केही गर्छौ होला । हामीलाई मिटिङ बसिरहेको छ । उद्धारको लागि पहल गर्दैछौं भनेर भन्ने काम मात्र नगर्दिनुहोस् । तपाईँहरू जे जस्तो गरेपछि हामीलाई उद्धार गरिदिनुहोस्’ उनले भने । 

आज दिनभरीमा उद्धार हुन्छ कि भन्ने आशले यो भिडियो बनाएको उनको भनाइ छ ।

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप