आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शाहरुख खानलाई ज्यान मार्ने धम्की, सुरक्षा बढाइने

सोमबार, २२ असोज २०८०, १५ : ११
सोमबार, २२ असोज २०८०

मुम्बई । बलिउडका स्टार शाहरुख खानलाई मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा प्रदान गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खानको चलचित्र ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको मुम्बई प्रहरीलाई सूचना प्राप्त भएको हो ।

केही मिडिया रिपोर्टहरूमा खान आफैले यसबारे उजुरी गरेका थिए, त्यसपछि उनको सुरक्षा बढाउने निर्णय गरिएको उल्लेख छ । वाई प्लस सुरक्षामा ६ जना व्यक्तिगत सुरक्षा अफिसरका साथै ५ प्रहरी हतियारसहित २४ घण्टा खानको साथ रहनेछन् । अहिलेसम्म खानको सुरक्षामा मुम्बई प्रहरीका दुई कन्सटेबल हरेक समय उनको साथमा रहन्थे ।

यता दैनिक भास्करले भने खानका व्यक्तिगत सुरक्षा म्यानेजरलाई उद्धृत गर्दै वाई प्लस सेक्युरिटीको बारेमा कुनै सूचना प्राप्त नभएको बताएको छ ।

यस वर्षको सुरुवातमा खानमाथि पठानमा भगवा रंगको अपमान गरेको आरोप लागेको थियो । अयोध्याका सन्त जगतगुरु परमहंस आचार्यले त उनलाई जिउँदै जलाउने धम्की दिएका थिए ।

गत २६ अगस्तमा खानले गेमिङ ऐपको विज्ञापन गरेको विरोधमा एक समूह उनको घर बाहिर विरोध प्रदर्शन गर्न पुगेको थियो । सन् २०१४ मा उनलाई ग्याङस्टर रवि पुजारीले ज्यान मार्ने धम्की दिएका थिए । त्यस्तै, सन् २०१० मा माई नेम इज खान चलचित्रका दौरान पनि उनलाई कयौँ धम्की आएको थियो ।

यसअघि लरेन्स विस्नोईको गिरोहले धम्की दिएपछि सलमान खानलाई वाई प्लस सेक्युरिटी दिइएको थियो । यसबाहेक आमिर खान, अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरलाई एक्स सुरक्षा पाउँछन् । यसमा उनीहरूलाई ३ जना व्यक्तिगत सुरक्षाकर्मी प्रदान गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप