आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुस्त सुरुआत गरेको न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई दियो तीन सय २३ रनको लक्ष्य

सोमबार, २२ असोज २०८०, १८ : १२
सोमबार, २२ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको सोमबार खेलिएको खेलमा बलियो न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई तीन सय २३ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको किविज टोलीले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनायो । 

हैदराबादस्थित राजिव गान्धी स्टेडियममा न्युजिल्यान्डले पालीको सुस्त सुरुआत गरेको थियो । तीन ओभरको खेल सकिँदासम्म पनि न्युजिल्यान्डले खाता खोल्न सकेको थिएन । नेदरल्याण्ड्सका बलर आर्यन दत्तले दुई र रायन क्लेइनले एक ओभर मेडन फालेका थिए । 

त्यसपछि भने न्युजिल्यान्डका ब्याट्सम्यानहरु लयमा फर्किएका थिए । डेभोन कनवे र विल योङ्ले ओपनिङ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । कनवे ३२ रन बनाउँदै पेभेलियन पर्किएपछि यी दुईबीचको साझेदारी तोडिएको थियो । कनवेले ४० बलमा एक छक्का र पाँच चौका पनि हिर्काएका थिए ।

अर्का ओपनर विल योङ्ले भने टोलीको खातामा ७० रन थपे । लामो समय क्रिजमा संघर्ष गरेका उनले ८० बलमा दुई छक्का र सात चौका हिर्काएका थिए । तेस्रो नम्बरका किविज ब्याट्सम्यान रचिन रविन्द्रले पनि ५१ रनको योगदान गरे । 

आक्रामक रुपमा प्रस्तुत भएका उनले ५१ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काएका थिए । रचिनले इङ्ल्यान्डविरुद्ध पनि अविजित एक सय २३ रन बनाएका थिए । इङ्ल्यान्डविरुद्ध रचिनसँगै कनवेले पनि अविजित एक सय ५२ रन बनाएका थिए । 

नेदरल्यान्ड्सविरुद्धको खेलमा सोमबार चौथो नम्बरका ब्याट्सम्यान ड्यारल मिचेलले पनि ४८ रन बनाए । उनले केवल ४७ बलको सामना गरी दुई छक्का र पाँच चौका हिर्काए । त्यसपछि क्रिज समाल्न आएका कप्तान टम लाथमले टोलीको खातामा ५३ रन थपे । उनले केवल ४६ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काए ।

आठौँ नम्बरका ब्याट्सम्यान मिचेल स्यान्टनरले पनि आक्रामक पाली खेल्दै अविजित ३६ रन जोडे । उनले केवल १७ बलको सामना गरी दुई छक्का र तीनवटा चौका हिर्काए । म्याट हेनरीले अविजित १० रन बनाए । उनले चार बलमा एक छक्का प्रहार गरे ।  

नेदरल्यान्ड्सका बलर पल भान मिकेरन, रोलफ भान डेर मर्वे र आर्यन दत्तले दुई—दुई विकेट लिए । बास डी लिडले एक विकेट हात पारे । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई नौ विकेटले हराएको थियो । नेदरल्यान्ड्स भने पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप