इजरायल घटना
युद्धका कारण इजरायल जान लागेका २४ केयरगिभर रोकिए
सोमबार, २२ असोज २०८०, १८ : ५८
काठमाडौँ । स्वास्थ्य सहायक (केयर गिभर) को रुपमा इजरायल जान लागेका २४ जना नेपाली रोकिएका छन् । २४ गतेको लागि उडान कार्यतालिका रहेकोमा उनीहरुलाई तत्काल रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका महानिर्देशक मदन दाहालले इजरायल र गाजाबीचको द्वन्द्वका कारण तत्कालका लागि उनीहरुलाई त्यसतर्फ नपठाउने निर्णय गरिएको बताए । सोही आधारमा असोज २४ गतेको उडान कार्यतालिका रहेकामा तत्काल रोक्न भनिएको बताए ।
२०७९ मा इजरायलले स्वास्थ्य सहायकको रुपमा १ हजार भन्दा बढी नेपालीलाई इजरायल लैजान छनौट गरेको थियो । जसमध्ये अन्तिममा २४ जना मात्रै जान बाँकी थियो । ती बाहेक सबै जना विभिन्न चरणमा गरेर इजरायल प्रस्थान गरिसकेका छन् ।
अब अवस्था सहज भएको खण्डमा मात्रै उनीहरुलाई पठाइने उनको भनाई छ ।