आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

कांग्रेसले फेरि पनि कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

मङ्गलबार, २३ असोज २०८०, १२ : ४०
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको हो ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले भने, ‘कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कुरा भएको छ । सबै पदाधिकारी साथीहरुले सभापतिलाई त्यही सुझाव दिनु भएको छ ।’

यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा दुई पटक गठबन्धनको सरकार बनेको थियो । पहिलो पटक सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।

दोस्रो पटक विश्वासको मत लिँदा प्रदेश सभाध्यक्षले दिएको विश्वासको मत सर्वोच्चले असंवैधानिक भनेको थियो । त्यसपछि संविधानको उपधारा ३ अनुसार एमालेका हिक्मत कार्कीले असोज २० मा राजीनामा दिएपछि कोशीमा नयाँ सरकारको खोजी भइरहेको छ ।

कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने यादवको भनाइ छ । उनका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाको छलफलपछि आज-भोलि नै गठबन्धनको बैठक बस्ने छ । ‘कोशी प्रदेशमा केन्द्रीय गठबन्धन अनुसार नै सरकार बन्छ । आज- भोलि नै गठबन्धनको बैठक बस्छ होला ।’ 

कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् ।

एमालेका सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० र राप्रपाका ६ सांसद छन् । सत्ता गठबन्धनले राप्रपालाई पनि साथमा लिएर सरकार बनाउने प्रयास थालेको छ । प्रधानमन्त्री प्रचण्ड र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशीको सत्ता समीकरणबारे छलफल हुने यादवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप