आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूरा होला त विश्वकपमा पहिलो पटक पाकिस्तानलाई हराउने श्रीलंकाको सपना ?

मङ्गलबार, २३ असोज २०८०, १४ : १३
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको मंगलबार हुने पाकिस्तानविरुद्धको खेलमा श्रीलंकाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । पाकिस्तान र श्रीलंकाबीचको खेल हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दिउँसो २ः१५ बजे सुरु हुनेछ । 

आईसीसी एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७५ मा आयोजना भएको थियो । त्यसयता ४८ वर्षको अवधिमा एकदिवसीय विश्वकपको १२ वटा संस्करण सम्पन्न भइसकेको छ । यसबीचमा टेस्ट मान्यता पाएका सबै राष्ट्रले एकअर्कासँग भिडन्त गरिसकेका छन् । 

श्रीलंका र पाकिस्तानले पनि पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । तर, एकदिवसीय विश्वकपको इतिहासमा हालसम्म श्रीलंकाले पाकिस्तानलाई भने हराउन सकेको छैन । विश्वकपमा पाकिस्तान र श्रीलंकाबीच खेल हुँदा सधैँ पाकिस्तानले नै सफलता हात पार्ने गरेको छ । 

विश्वकपमा पाकिस्तान र श्रीलंकाबीच हालसम्म आठ खेल खेलिएको छ । त्यसमध्ये सात खेलमा पाकिस्तानले श्रीलंकालाई हराएको छ । विश्वकपमा खेलिएको पाकिस्तान र श्रीलंकाबीचको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । 

सबैभन्दा पहिले सन् १९७५ को एकदिवसीय विश्वकपमा पाकिस्तानले श्रीलंकालाई एक सय ९२ रनले हराएको थियो । सन् १९८३ को विश्वकपमा पाकिस्तान र श्रीलंकाबीच दुई वटा खेल खेलिएको थियो । त्यो विश्वकपको पहिलो खेलमा पाकिस्तान ५० रनले विजयी भएको थियो भने दोस्रो खेल पनि पाकिस्तानले ११ रनले जितेको थियो ।

त्यसपछि सन् १९८७ को विश्वकपमा पनि पाकिस्तान र श्रीलंकाबीच दुई वटा खेल भएको थियो । पाकिस्तानी टोली पहिलो खेलमा १५ रन र दोस्रो खेलमा एक सय १३ रनले विजयी भएको थियो । सन् १९९२ को विश्वकपमा पनि पाकिस्तानले श्रीलंकालाई चार विकेटले हराएको थियो । 

यसैगरी सन् २०११ को विश्वकपमा पाकिस्तानले श्रीलंकालाई ११ रनले पराजित गरेको थियो । सन् २०१९ को विश्वकपमा भने पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको थियो । जारी विश्वकपमा मंगलबार पाकिस्तान र श्रीलंका पुनः एकपटक आपसमा भिड्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप