आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलबाट उद्धारमा किन ढिलाइ ?, मन्त्री साउद भन्छन् : चार्टर विमानलाई एयर रुट खोज्दैछौँ

मङ्गलबार, २३ असोज २०८०, १४ : २८
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले हमास विद्रोहीबाट इजरायलमा मारिएका नेपालीको शव तथा स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग यसबारे जानकारी लिएको छ । 

समितिमा मन्त्री साउदलाई सांसदहरूले विमान तयारी भएपनि उद्धारमा किन ढिलाइ गरेको, राजदूत सक्षम नभएको जस्ता विषयमा प्रश्न गरेका थिए । 

जवाफमा मन्त्री साउदले दुईवटा चार्टर विमानबाट उद्धार गर्ने तयारी भएपनि इजरायलसँग सिधा उडान नभएकोले एयर रुट मिलाउने काम भइरहेको जानकारी गराएका छन् ।  उनले उद्धारको विषयमा मंगलबार बिहान इजरायलमा रहेका नेपाली राजदूतसँग कुरा गरेको बताए । 

उनले भने,'आज बिहान मात्रै राजदूतसँग टेलिफोनमा कुरा गरेको छु । रेगुलर फ्लाइट बन्द नभएको अवस्था छ तर केही डिले हुने रहेछ  । उद्धारका लागि  ती फ्लाइट पनि प्रयोग गर्न सकिने अवस्था छ । हाम्रो प्लेन चार्टर गरेर लैजान रुटमा पर्ने सम्बन्धित देशबाट क्लिरेन्स चाहिने अवस्था रहेको छ । इजरायलको तेल अबिबमा सिधैँ फ्लाइट नभएका कारण विमान लैजान ढिलाइ भएको हो । एयर रुट लिन सम्बन्धित निकायलाई सरकारले निर्देशन दिइसकेको छ ।'

उनले इजरायलमा राजदूतसहित ३ जना कर्मचारी रहेको बताउँदै रकेट आएको १ सेकेन्डमा साइरन बज्ने र ६० सेकेन्डभित्र  राजदूत वा जो भएपनि बंकरमा जानुपर्ने नियम रहेको बताए । 

राजदूतले बंकरमा बसेर भएपनि त्यहाँ रहेका नेपालीसँग कुरा गर्ने, नेपालीबारे जानकारी गराउने, समन्वय गर्ने लगायतका काम गरिरहेको मन्त्री साउदे बताए । 

मन्त्री साउदले त्यहाँ भएका दूतावास,  गैर आवासीय नेपालीसँग सरकारले समन्वय गरेर ४८ घण्टाभित्र नेपाली  विद्यार्थीहरूलाई बंकरबाट उद्धार गरेको बताए । सरकार, दूतावासको तर्फबाट उद्धार गर्ने र सम्पर्क गर्ने काम निरन्तर भइरहेको उनले बताए । इजरायलमा काम गर्ने सन्दर्भमा  व्यक्तिगत दोष कसैको नरहेको समेत उनले बताए  । अहिले अवस्थामा दूतावास मार्फत छिटो काम गर्नका लागि  हिब्रु भाषा जानेको एकजना कर्मचारी भर्ना गर्न पनि सरकारले अनुमति दिएको उनले जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप