आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुशल र सदिराको सतकसँगै श्रीलंकाले पाकिस्तानलाई दियो तीन सय ४५ रनको विशाल लक्ष्य

मङ्गलबार, २३ असोज २०८०, १८ : १७
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको मंगलबारको खेलमा श्रीलंकाले पाकिस्तानलाई तीन सय ४५ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रन बनायो । 

पाँच रनको कुल स्कोरमै पहिलो विकेट गुमाएपछि दबाबमा परेको श्रीलंकाको पालीलाई त्यसपछि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस र ओपनर पाथुम निशांकाले समालेका थिए । पहिलो विकेटका रुपमा ओपनर कुशल परेरा शून्य रनमै पेभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान मेन्डिसले टोलीका लागि एक सय २२ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका मेन्डिसले केवल ७७ बलको सामना गरी ६ छक्का र १४ वटा चौका हिर्काएका थिए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो तेस्रो सतक हो । यसका अतिरिक्त एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा उनले बनाएको यो सर्वाधिक रन पनि हो । मेन्डिसले ओपनर ब्याट्सम्यान निशांकासँग एक सय दुई रनको साझेदारी गरेका थिए ।

निशांकाले पनि अर्धसतकीय पाली खेलेका थिए । उनले टोलीको खातामा ५१ रन थपे । उनले ६१ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए । श्रीलंकाविरुद्धको खेलमा पाकिस्तानले अत्यन्तै खराब फिल्डिङ (क्षेत्र रक्षण) गरेको थियो । 

खेलका क्रममा पाकिस्तानी टोलीका फिल्डरले केही महत्वपूणर् क्याच पनि छाडेका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका श्रीलंकाली ब्याट्सम्यान सदिरा सामराविक्रमाले सतकीय पाली खेले । सदिराले एक सय आठ रन बनाए । उनले ८९ बलको सामना गरी दुई छक्का र ११ चौका हिर्काए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सदिराले बनाएको यो पहिलो सतक हो । मेन्डिस र सदिराले टोलीका लागि एक सय ११ रनको महत्वपूणर् साझेदारी गरेका थिए । श्रीलंकाका लागि धनन्जय डा सिल्भाले पनि २५ रन बनाए । कप्तान दासुन सनाका १२ रनमा आउट भए । 

पाकिस्तानी टोलीका बलरहरु खासै प्रभावकारी देखिएनन् । हसन अलीले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ७१ रन खर्चिए । ह्यारिस रउफले पनि दुई विकेट हात पारे । मोहम्मद नवाज, सदाब खान र साहिन शाह अफरिदीले एक—एक विकेट हात पारे । 

एकदिवसीय विश्वकपको इतिहासमा पाकिस्तानविरुद्ध श्रीलंकाले बनाएको यो सर्वाधिक रन हो । यसअघि विश्वकपमा पाकिस्तानविरुद्ध श्रीलंकाले बनाएको उच्च स्कोर दुई सय ८८ रन थियो । एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध पाकिस्तानले बनाएको उच्च स्कोर भने तीन सय ३८ रन हो ।

पाकिस्तान र श्रीलंका दुबै एकदिवसीय विश्वकपको पूर्वविजेता राष्ट्र हुन् । यी दुबै राष्ट्रले एक—एकपटक विश्वकपको उपाधि जितेका छन् । एकदिवसीय विश्वकपको इतिहासमा हालसम्म श्रीलंकाली टोलीले पाकिस्तानलाई हराउन सकेको छैन । 

जारी विश्वकपको आफ्नो पहिलो खेलमा श्रीलंकाली टोली दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । पाकिस्तानी टोलीले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप