आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साबिक विजेता इङ्ल्यान्डसँग एक सय ३७ रनले हार्‍यो बंगलादेश

मङ्गलबार, २३ असोज २०८०, १८ : ४९
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको मंगलबार खेलिएको खेलमा साबिक विजेता इङ्ल्यान्डले बंगलादेशलाई एक सय ३७ रनको फराकिलो अन्तरले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ६४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय २७ रनमात्र बनाउन सक्यो । ठूलो लक्ष्य पछ्याएको बंगलादेशका लागि ओपनर ब्याट्सम्यान लिट्टन दासले ७६ रन बनाए । उनले केवल ६६ बलमा दुई छक्का र सात चौका पनि हिर्काएका थिए ।

विकेटकिपर ब्याट्सम्यान मुस्फिकुर रहिमले पनि अर्धसतकीय पाली खेले । उनले ६४ बलको सामना गरी चार चौका हिर्काए । तोहिद हृदोयले ३९ रन बटुले । बंगलादेशका अन्य ब्याट्सम्यानले उल्लेख्य सँख्यामा रन बनाउन सकेनन् । 

बंगलादेशी टोलीका दोस्रोदेखि पाँचौँ नम्बरसम्मका ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । इङ्ल्यान्डका बलर रिस टप्लेले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४३ रन खर्चिएका थिए । क्रिस वोक्सले पनि दुई विकेट हात पारे । मार्क उड, आदिल रसिद, लियाम लिभिङस्टोन र साम करनले पनि एक—एक विकेट लिए ।

त्यसअघि धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डलाई ओपनर ब्याट्सम्यानद्वय डेविड मलान र जोनी ब्रेस्टोले उत्कृष्ट सुरुआत गराएका थिए । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १५ रनको साझेदारी गरेका थिए । 

मलानले टोलीका लागि एक सय ४० रनको योगदान गरेका थिए । बंगलादेशविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका मलानले एक सय सात बलको सामना गरी पाँच छक्का र १६ चौका हिर्काएका थिए । ब्रेस्टोले पनि अर्धसतक बनाएका थिए । उनले पेभेलियन फर्किनुअघि टोलीको खातामा ५२ रन थपेका थिए । उनले ५९ बलमा आठ चौका पनि हिर्काएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान जोए रुटले पनि उत्कृष्ट ब्याटिङ गर्दै ८२ रन बनाएका थिए । उनले केवल ६८ बलको सामना गरी एक छक्का र आठवटा चौका पनि हिर्काएका थिए । इङ्ल्यान्डका माथिल्लो क्रमका ब्याट्सम्यानसामु बंगलादेशका बलरहरु निरिह सावित भएका थिए । 

कप्तान जस बट्लर भने २० रनभन्दा अगाडि बढ्न सकेनन् । उनले १० बलमा एक छक्का र एक चौका हिर्काएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका ह्यारी ब्रुक पनि २० रनभन्दा अगाडि बढ्न सकेनन् । उनले १५ बलमा तीन चौका प्रहार गरेका थिए । 

इङ्ल्यान्डका लागि साम करनले पनि ११ रन जोडेका थिए । क्रिस वोक्सले १४ रन बनाएका थिए । आदिल रसिदले पनि ११ रन बटुलेका थिए । बंगलादेशी टोलीका बलर मेहदी हसनले चार विकेट लिएका थिए । सोरिफुल ईस्लामले पनि तीन विकेट लिएका थिए । सकिब अह हसन र तास्किन अहमदले एक—एक विकेट हात पारेका थिए । 

जारी विश्वकपमा इङ्ल्यान्डको यो पहिलो जित हो । यसअघि आफ्नो पहिलो खेलमा इङ्ल्यान्डको टोली न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो । जारी विश्वकपमा बंगलादेशको भने यो पहिलो हार हो । यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप