आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

रिजवान चम्किँदा पाकिस्तानले पछ्यायो कीर्तिमानी लक्ष्य

मङ्गलबार, २३ असोज २०८०, २२ : ४६
मङ्गलबार, २३ असोज २०८०

हैदराबाद । मोहम्मद रिजवानको शतकीय पालीको मद्दतले पाकिस्तानले श्रीलङ्काले प्रस्तुत गरेको ३ सय ४५ रनको विशाल लक्ष्य पछ्याएको छ । एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले पछ्याएको यो सबैभन्दा ठुलो लक्ष्य हो ।

यसअघि सन् २०११ को विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डले राखेको ३ सय २९ रनको लक्ष्य भेट्याएको थियो । मंगलबार पाकिस्तानले मात्र ४ विकेटको क्षतिमा १० बल बाँकी छँदै उक्त कीर्तिमानी लक्ष्य पछ्याउन सफल भयो । 

आजको खेलमा नायक बनेका रिजवानले मात्र १२१ बलमा नटआउट रहँदै १३१ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो सबैभन्दा उच्च स्कोर पनि हो । उनले ८ चौका र ३ छक्का हिर्काए । उनलाई ओपनर अब्दुल्लाह सफिकले १ सय १३ रन बनाउँदै राम्रो साथ दिए । आउट हुन अघि उनले १० चौका र ३ छक्का हिर्काए ।

त्यस्तै, साउद सकिलले ३१ तथा इफ्तिकार अहमदले २२ रन बनाउँदै पाकिस्तानको रन चेसलाई सहज बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले कुशल मेन्डिस र सदिरा समाराविक्रमाको शतकको मद्दतले ९ विकेटको क्षतिमा ३ सय ४४ रन बनाएको थियो ।

श्रीलङ्काका लागि मेन्डिसले सर्वाधिक १ सय २२ रन बनाए । उनले ७७ बलमा १४ चौका र ६ छक्का हिर्काए । उनलाई समराविक्रमाले ८९ बलमा १ सय ८ रन बनाउँदै साथ लिए । उनले पनि ११ चौका र २ छक्का हिर्काए ।

अन्य ब्याट्सम्यानमा ओपनर पाथुम निशांकाले ५१ रन तथा धनञ्जय डी सिल्भाले २५ रनको योगदान दिए । श्रीलङ्काका लागि हसन अलीले ४ तथा ह्यारिस राउफले २ विकेट लिए ।

प्रतियोगितामा पाकिस्तानको यो दोस्रो जीत हो भने श्रीलङ्काको लगातार दोस्रो हार हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप