आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानबाट भारतले पायो जितका लागि दुई सय ७३ रनको लक्ष्य

बुधबार, २४ असोज २०८०, १८ : १९
बुधबार, २४ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बुधबार खेलिएको खेलमा अफगानिस्तानले आयोजक राष्ट्र भारतलाई दुई सय ७३ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ७२ रन बनाएको हो । 

तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानका ब्याट्सम्यानहरुले दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा जिम्मेबारीपूर्वक ब्याटिङ गरेका थिए । अफगानिस्तानका लागि दुई ब्याट्सम्यानले अर्धसतकीय पाली खेले । 

कप्तान हसमतुल्लाह शाहिदीले टोलीका लागि ८० रनको योगदान गरे । उनले ८८ बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काएका थिए । २८ वर्षीय हसमतुल्लाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १७औँ अर्धसतक हो । 

अफगानिस्तानले ६३ रनको कुल स्कोरमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि हसमतुल्लाह र अजमतुल्लाह ओमरजाईले अफगानिस्तानको स्कोरलाई एक सय ८४ रनको स्थितिसम्म पुर्‍याएका थिए । अजमतुल्लाहले टोलीको खातामा ६२ रन थपे । उनले ६९ बलमा चार छक्का र दुई चौका पनि हिर्काए ।

२३ वर्षीय अजमतुल्लाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धसतक हो । एकदिवसीय क्रिकेटमा यो उनको उच्च स्कोर पनि हो । त्यसअघि अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यानद्वय रहमानुल्लाह गुरुबाज र इब्राहिम जादरनले ३२ रनको साझेदारी गरेका थिए ।

रहमानुल्लाहले २१ र इब्राहिमले २२ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान रहमत शाहले पनि १६ रन बटुलेका थिए । मोहमद नाबीले टोलीको खातामा १९ रन थपे । नजिबुल्लाह जदरान भने दुई रनमै पेभेलियन फर्किएका थिए । 

अफगानिस्तानका लागि तल्लोक्रमका ब्याट्सम्यान रसिद खानले पनि १६ रनको योगदान गरे । उनले १२ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । मजिब उर रहमानले पनि टोलीको खातामा अविजित १० रन थपे । 

भारतीय टोलीका बलर जसप्रित बुमराहले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ३९ रन खर्चिएका थिए । हार्दिक पाण्डेयाले पनि दुई विकेट हात पारे । सार्दुल ठाकुर र कुलदिप यादबले एक—एक विकेट लिए । 

जारी विश्वकपको आफ्नो पहिलो खेलमा भारत विजयी भएको थियो भने अफगानिस्तानले पराजय भोगेको थियो । भारतले आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई हराएको थियो । अफगानिस्तानको टोली भने बंगलादेशसँग पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप