आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेशमा सक्रिय अख्तियार

स्थानीय तहका उजुरी बढी, तेह्रथुमबाट सबैभन्दा कम उजुरी

बुधबार, २४ असोज २०८०, १८ : ३५
बुधबार, २४ असोज २०८०

विराटनगर । कोशी प्रदेशमा भ्रष्टाचार र अनियमितताका घटनाका उजुरी सबैभन्दा बढी स्थानीय तहको रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पेश गरेको ३३ औँ प्रतिवेदनमा यस्तो विवरण उल्लेख गरिएको हो । 

‘गत आर्थिक वर्षमा उजुरी दिएका निवेदनहरुमध्ये सबैभन्दा बढी स्थानीय तहका रहेका छन्,’ न्यौपानेले भने । ०७९÷८० मा सबैभन्दा बढी उजुरी सप्तरीबाट ६ सय, सुनसरीबाट ५०२, मोरङबाट ३८०, झापाबाट २१५, उदयपुरबाट १५७ रहेको छ । सबैभन्दा कम उजुरी भने तेह्रथुम जिल्लाबाट ४३ वटा परेको न्यौपानेको भनाइ छ । 

अख्तियारका अनुसार गतवर्ष झापा, मोरङ र सप्तरीका ५ वटा कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिइरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिएर विशेष अदालतमा आरोपत्र दायर गरिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९÷८० मा आयोगमा २० हजार ९०५ वटा उजुरी परेको थियो । जसमध्ये १८ हजार ७९९ उजुरी फर्छ्यौट भएको आयोग इटहरी कार्यालयका प्रमुख न्यौपानले जानकारी दिए । यो ६६.९८ प्रतिशत हो । आयोगले आर्थिक वर्ष ०७९÷८० मा प्रारम्भिक छानबिनतर्फ जम्मा २४०७ उजुरी रहेकोमा सोमध्ये १६६४ फर्छ्यौट भई ६९.१३ प्रतिशत प्रगति हासिल भएको न्यौपानेले जनाए । 

जसमध्ये १५५ वटा उजुरीमा विस्तृत अनुसन्धान अधिकृत तोकिएको, ८७३ वटा उजुरी तामेलीमा राखिएको, १४ वटा उजुरीमाथि सुझाव दिइएको र ६२२ वटा उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीको लागि विभिन्न निकायमा लेखी पठाइएको जनाएको छ । गत आर्थिक वर्षमा फर्छ्यौट हुन बाँकी रहेका ७४३ उजुरीहरु चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यक्षेत्र भित्र ताप्लेजुङ, पाँचथर, भोजपुर र संखुवासभाका प्रमुख जिल्ला अधिकारीलाई आयोगले अधिकार प्रत्यायोजन गरेको छ । आयोगको कार्यक्षेत्र भने कोशी प्रदेशका खोटाङ, सोलुखुम्बु र ओखलढुंगा बाहेकका ११ जिल्ला र मधेस प्रदेशको सप्तरी जिल्ला रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप