आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

बुधबार, २४ असोज २०८०, २० : ५०
बुधबार, २४ असोज २०८०

काठमाडौँ । नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा काठमाडौँको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।

 १.९२ करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको भावनालाई भारतीय राजदूतावास काठमाडौँका नियोग उप–प्रमुख  प्रसन्न श्रीवास्तव र  जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले आज संयुक्त रूपमा उद्घाटन गरी औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तल्ले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको एक सम्झौता अनुरूप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रूपमा निर्माण गरिएको हो । जिल्ला समन्वय समिति, काठमाडौँले यस परियोजनाको कार्यान्वयन गरेको हो । 

उद्घाटन समारोहमा बोल्दै दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले यो परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबिचको यो साझेदारीले पछिल्ला वर्षहरूमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए। उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरूप र दुवै देशका जनताको हितका निमित्त दुई देशबिचको विकास साझेदारीलाई अझ मजबुत बनाउन  भारत सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।

महेन्द्र राष्ट्रिय विद्यालयको स्थापना जागरूक शिक्षकहरूको संयुक्त प्रयासमा सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रूपमा भएको थियो । नेपाल सरकारले सन् १९७३ मा यस विद्यालयलाई प्राथमिक विद्यालयको रूपमा मान्यता दिएको थियो ।

सन् १९९५ मा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको यो विद्यालय सन् २००० मा माध्यमिक तहमा  र पछि गएर उच्च माध्यमिक तहमा स्तरोन्नति भएको हो । यस विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत छात्रा छन् । स्थापनाकालदेखि नै यो विद्यालयले स्थानीय स्तरमा गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । 

सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाडौँका ४० गरी बागमती प्रदेशमा १०५ वटा रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ । भारतले हालसम्म काठमाडौँमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप