आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा सप्ताह लगाएर बनाइँदै छ पशुपतिनाथ मन्दिर र बौद्धनाथ गुम्बा

बिहीबार, २५ असोज २०८०, ०८ : १८
बिहीबार, २५ असोज २०८०

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूका लागि यस वर्षको दसैँ विशेष हुने भएको छ । विशेष किनभने यस पटक नवरात्रीको ९ दिनसम्म यहाँ नवाह यज्ञ गरिँदै छ भने टीकाको दिन सामूहिक टिका लगाउने र शुभकामना साटासाट  गरिनेछ ।

 भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ (घटस्थापनादेखि विजया दशमी) सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञमा प्रमुख वाचकको रूपमा वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल रहनेछन् । उनलाई बालब्यास श्रावण गुरुले साथ दिनेछन् । 

मेलबर्नमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रको सहयोगका लागि ज्ञान महायज्ञको आयोजना गरिएको हो । नवाह ज्ञान महायज्ञको पहिलो दिन अर्थात अक्टोबर १५ तारिख दिउँसो ३ बजे कलश यात्रा गरिने संयोजक आनन्द पौडेलले जानकारी दिए। कलश यात्रा सकिएपछि नवाहको कथा वाचन सुरु गरिनेछ । 

संयोजक पौडेलका अनुसार यसपछि हरेक दिन नियमित पूजाआजा, दैनिक वेदपाठ, सप्तशती चण्डी पाठ र शुभ कार्यका कामहरू बिहानैबाट हुनेछ। सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि साँझ ८ः३० बजेसम्म, शनिबार र आइतबार दिउँसो १ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथा वाचनका साथ हरेक दिन साँझ ७ः३० बजे आरती सञ्चालन हुने जानकारी पनि उनले दिए  । पौडेलले सप्ताह ज्ञान महायज्ञको ९ दिन नै मन्दिरमा बस्न चाहने भक्तजनहरूका लागि आवासको व्यवस्था गरिएको पनि बताए। 

ANMC2

संयोजक पौडेलका अनुसार सप्ताह ज्ञान महायज्ञको आठौँ दिनमा औपचारिक कार्यक्रम गरिने कार्यतालिका बनेको छ। अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्री, अस्ट्रेलियामा रहेका विभिन्न संस्थाका पदाधिकारीहरूको उपस्थितिमा नवनिर्मित संरचनाहरूको उद्घाटन गरिनेछ।

सप्ताह ज्ञान महायज्ञको प्रत्येक दिन भन्डारा लगाइने जानकारी दिँदै उनले भने, 'भन्डारा लगाउन ७ दिनका लागि दाताहरूको सहयोग प्राप्त भएको छ। बाँकी दुई दिनको भन्डाराका लागि दाताहरूलाई आग्रह गरेका छौँ।' 

ANMC4

'गाउँ गाउँबाट उठौँ, बस्ती बस्तीबाट उठौँ, मेलबर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भई जुटौँ' मूल नाराका साथ हुन लागेको कार्यक्रममा कलाकारहरूबाट भजन कीर्तन, झाँकी समावेश हुनेछ । यहाँ पुग्ने भक्तजनसँगै आउने बालबालिकाहरूको लागि खेल्ने सामग्री पनि राखिने उनले जानकारी दिए।

महायज्ञबाट सङ्कलित रकम नेपाली सामुदायिक केन्द्र निर्माणमा खर्च गरिनेछ । संयोजक पौडेलले भने, सामुदायिक केन्द्रको जमिन किन्न चार लाख ५० हजार ऋण लिएका थियौँ। सप्ताहबाट उठेको रकमले पहिला नेपाली सामुदायिक केन्द्रलाई ऋणमुक्त गरिनेछ। बाँकी रहेको रकमले मिनी नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्रको आगामी योजनामा सहयोग पुग्नेछ ।' 

सप्ताह ज्ञान महायज्ञमा नेपाली सामुदायिक केन्द्रको आजीवन सदस्यता बढाउने तयारी रहेको उनले बताए। १३ सय आजीवन सदस्य सङ्ख्या रहेको एएनएएमसीको सदस्यता यो दसैँपछि कम्तीमा दुई हजार पुर्‍याउने लक्ष्य रहेको उनले सुनाए।

nabaha

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप