आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

रिगलको कैद कट्टाविरुद्धको रिट प्रधानन्यायाधीशसहितको इजलासमा

बिहीबार, २५ असोज २०८०, ११ : २९
बिहीबार, २५ असोज २०८०

काठमाडौँ ।  गुण्डानाइके रिगल भनिने योगराज ढकालको कैद कट्टाविरुद्ध परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ । रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो ।

राष्ट्रपतिद्वारा ६० प्रतिशत कैद कट्टा गरि थुनामुक्त गरिएको निर्णय कानुनसंगत नभएको भन्दै चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिट यसअघिको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । सोही आदेश बमोजिम बिहीबार उक्त रिट पूर्ण इजलासमा परेको हो । 

संविधान दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढकाललाई बाँकी कैद कट्टा गरी जेलमुक्त गरिदिएका थिए । कारागार कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङ, कारागार व्यवस्थापन विभाग, गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकबाट रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को सोही निर्णय राष्ट्रपति पौडेलले सदर गरेका थिए ।

बाँके जिल्ला अदालतको फैसला अनुसार ढकाल २०९२ भदौ ७ गतेसम्म जेलमा बस्नुपर्ने थियो । तर ८ वर्षमात्रै कैद सजाय भुक्तान गरेका ढकाललाई राष्ट्रपतिले बाँकी कैद कट्टा गराई जेलमुक्त गरिदिएका थिए । 

सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई यसरी बाँकी कैद कट्टा गर्न नमिल्ने वा सजायमा छुट दिन नमिल्ने भन्दै मृतक चेतन मानन्धरी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप