आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धान, गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सक्दैनः मन्त्री भुसाल

बिहीबार, २५ असोज २०८०, १४ : ००
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । 

बिहीवार ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको र त्यस लक्ष्यलाई प्राप्त गर्न सबै एकजुट भएर कृषिमा सुधार गर्न आवश्यक रहेको बताए । अहिले पनि करिव १३ लाख मेट्रिक्टन धान, करिव ४ लाख मेट्रिक्टन गहुँ अपुग रहेको बताए । उनले मुख्यतः धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना बनाएर काम गर्न जरुरी रहेको बताए । उनले यो वर्ष कम्तिमा पनि १ लाख मेट्रिक्टन क्षेत्रफलमा चैते धान लगाउन र ६ देखि ७ लाख मेट्रिक्टनसम्म धान उत्पादन गर्न  आवश्यक रहेको बताए । 

उनले भने, ‘हाम्रो देशमा हामीले हाम्रो खाद्य सुरक्षा मात्रै होइन, खाद्य सम्प्रभुताको विषयलाई पनि ऐन बनाएर व्यवस्थित बनाएका छौँ । हामीले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने भनेका छौँ ? कसरी हुने ? त्यसमा केन्द्रित हुनुपर्छ । अहिले पनि हाम्रा मुख्य बाली, धान, गहुँ र मकैलाई हामीले विशेष जोड गरेर उत्पादन गरेनौँ भने हामी त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौँ । अहिले पनि करिव १३ लाख मेट्रिक्टन धान अपुग छ । करिव ४ लाख मेट्रिक्टन गहुँ अपुग छ । मकै पनि अपुग छ । अन्य वस्तुहरु पनि आयात गरेका छौँ । मुख्यतः धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना नबनाइकन धेरै कुराले केही पनि काम गर्दैन । कसरी हामीले १३ लाख मेट्रिक्टन धान उत्पादन गर्ने ? त्यसबारेमा सोच्नुपर्छ । भारतले धान, चामल निर्यात गर्दिन भन्ने निर्णय गरेको छ, दुई वर्षको लागि निर्यात गर्छौं नेपाललाई भनेको छ, तर अर्को वर्ष दिएन भने के गर्ने ? त्यसैले यो वर्ष कम्तिमा पनि १ लाख मेट्रिक्टन क्षेत्रफलमा चैते धान लगाऔँ । जहाँबाट ६ देखि ७ लाख मेट्रिक्टनसम्म धान उत्पादन गर्न सकिन्छ ।’

मन्त्री भुसालले पूर्वदेखि पश्चिमका नदी प्रणालीलाई जोड्ने गरी नहर निर्माण गर्न जरुरी रहेको बताए । उनले यसका लागि बहुउद्देश्यीय योजना बनाएर अघि बढेमात्रै सोचेअनुरुपको काम गर्न सकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप