आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशीमा दिनभर के के भयो ?

गठबन्धनका शीर्ष नेताको सहमति र निर्णय उल्लंघन

मुख्यमन्त्रीमा कार्कीले गरेको दाबी बलियो
बिहीबार, २५ असोज २०८०, २१ : ००
बिहीबार, २५ असोज २०८०

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा आज दुई वटा दाबी परेका छन् । दाबी पर्नु अघि संघीय राजधानी काठमाडौँमा गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । दिउँसो २ बजेतिर बैठकको निर्णय सार्वजनिक भयो– कोशीको मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई अगाडि सार्ने ।

यो निर्णय सार्वजनिक भएसँगै कांग्रेस नेता शेखर कोइराला पक्षीय कोशी प्रदेशसभा सदस्यहरुको पूर्वतयारी पनि सार्वजनिक भयो । एमालेका ३९ सांसदसहित कोइराला पक्षका सांसद केदार कार्कीको नेतृत्वमा कांग्रेसका ८ सांसदले विद्रोह गर्ने ।

त्यही चर्चा भइरहँदा नेकपा एमाले कोशी प्रदेश संसदीय दलको कार्यालय विराटनगरमा केही मन्त्री तथा सांसद भेला भए । त्यहाँ कांग्रेसका ८ सांसद लिएर आएका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने छलफल भयो ।

सवा चार बजेतिर प्रदेशसभा सचिवालय छिरेका कांग्रेसका सांसद गयानन्द मण्डललाई प्रदेशसभा सचिव गोपाल पराजुलीले एमालेलाई सहयोग गर्न आग्रह गरे । तर, मण्डल मोबाइल अफ गरेर हिँडे ।

साढे ४ बजेतिर मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल एमालेका सांसदहरुको हस्ताक्षर लिएर एमाले संसदीय दलको कार्यालयमा छिरे र प्रमुख सचेतक रेवती भण्डारीसँग गोप्य छलफलमा जुटे । कांग्रेसको ८ जनाको हस्ताक्षर आउने पक्का भइसकेको र एमालेका सबै सांसदको हस्ताक्षर तयारी अवस्थामा रहेपछि ५ बज्नु अगावै ३९ सांसदको हस्ताक्षर लिएर एमालेको टोली प्रदेश प्रमुखको कार्यालय पुग्यो ।

प्रदेश प्रमुखको कार्यालयमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र जसपाकी सांसद निर्मला लिम्बू पुगिसकेका थिए । केही मिनेटको अन्तरमा एमालेको टोली पुगेको थियो ।

दुवै पक्ष ५ बज्नुभन्दा अगाडि प्रदेश प्रमुखको कार्यालय पुग्यो भने कांग्रेसबाट विद्रोहको तयारी गरेका सांसद केदार कार्कीसहितका ७ सांसदहरु पनि केही बेरमा प्रदेश प्रमुखको कार्यालयमा पुगे ।

प्रदेश प्रमुखसँग गोप्य रुपमा लामो छलफल गरेपछि गठबन्धन दलको तर्फबाट ४७ सांसदको हस्ताक्षरसहित  इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निवेदन प्रदेश प्रमुखलाई बुझाइयो । त्यसपछि केदार कार्कीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको पत्र एमालेसहित कांग्रेसका ८ सांसदको उपस्थितिमा गरियो ।

दाबी पेस गरेपछि आङ्बोले आफूहरु शुक्रबार दिनभर छलफलमा पुगेर सहमति गर्न सक्ने बताए भने कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी गरेको बताए ।

दलीय ह्वीप नलाग्ने भन्दै उनले आफूलाई पार्टीले कुनै कारबाही नगर्ने पनि बताए । मुख्यमन्त्रीमा दाबी गरेको दुवै जना सञ्चारकर्मीसँग सन्तुलित रुपमा प्रस्तुत भए । यद्यपि केदार कार्कीले भने आफूभन्दा अगाडि मुख्यमन्त्रीको दाबी पेस गरेका आङ्बोले आफ्नोसहित ८ सांसदको हस्ताक्षर दुरुपयोग गरेको भन्दै बदरभागी भएको बताए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले भने संविधान र प्रचलित कानुनको अधिनमा रही संविधानविद्, कानुनविदहरुसँग कुरा गरेर आवश्यक निर्णय लिने बताएका थिए ।

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि २६ गते (शुक्रबार) बेलुका ५ बजेसम्मका लागि समय तोकिएको छ । दुवै पक्षले ४७–४७ सांसदको हस्ताक्षर देखाएका छन् । जसमा ८ जना कांग्रेस सांसदको हस्ताक्षर दुवैतिर छ । कार्की समूहले कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गर्न वा उपस्थिति हेरेर आवश्यक निर्णय लिन प्रदेश प्रमुखलाई आग्रह गरेको छ ।

राजनीति सम्भावनाको खेल हो । आज रातभर र भोलि बेलुका ५ बजेसम्म उलटफेर नभएको अवस्थामा कार्की नै मुख्यमन्त्री नियुक्त हुने सम्भावना धेरै छ । यद्यपि राजनीतिलाई आफ्नो अनुकूलतामा ल्याउन आङ्बोले दाबी फिर्ता लिएर अर्को उम्मेदवारलाई अगाडि सार्ने चर्चा पनि जारी छ । उक्त खेल कामयावी हुन्छ या हुँदैन, त्यो भने भोलि दिनभरको गतिविधिले प्रस्ट पार्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप