आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपमा आज : बंगलादेशलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने प्रयासमा न्युजिल्यान्ड

शुक्रबार, २६ असोज २०८०, १२ : २७
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबारदेखि तेस्रो चरणको खेल सुरु हुँदैछ । तेस्रो चरणको पहिलो खेलमा शुक्रबार न्युजिल्यान्डले बंगलादेशको सामना गर्दैछ । खेल चेन्नईस्थित एम.ए. चिदम्बर स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

न्युजिल्यान्ड जारी विश्वकपमा हालसम्म आफूले खेलेको दुबै खेलमा विजयी भएको छ । न्युजिल्यान्डले आफ्नो उद्घाटन खेलमा साविक विजेता इङ्ल्यान्डलाई नौ विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा भने न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको थियो । बंगलादेशी टोलीले भने जारी विश्वकपमा हालसम्म एक जित र एक हारको नतिजा निकालेको छ । बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा भने बंगलादेशी टोली इङ्ल्यान्डसँग एक सय ३७ रनले पराजित भएको थियो ।

जारी विश्वकपमा हालसम्म रनका आधारमा कुनै पनि टोलीले भोगेको यो नै सबैभन्दा ठूलोअन्तरको हार पनि हो । पहिलो संस्करणदेखि नै भाग लिएको किविज टोलीको विश्वकपमा यो १३औँ सहभागिता हो । बंगलादेशको भने विश्वकपमा यो सातौँ सहभागिता हो ।  बंगलादेशी टोलीले सन् १९९९ मा पहिलो पटक एकदिवसीय विश्वकप खेलेको थियो । एकदिवसीय विश्वकपमा यी दुबै टोलीबीचको एउटा समानता के हो भने हालसम्म यी दुबै टोलीले उपाधि जित्न सकेका छैनन् । 

विश्वकपमा बंगलादेश क्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकेको छैन । बंगलादेशी टोली सन् २०१५ मा क्वार्टरफाइनलसम्म पुगेको थियो । तर, न्युजिल्यान्ड भने दुईपटक एकदिवसीय विश्वकपको फाइनलसम्म पुगिसकेको छ ।  सन् २०१५ को विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले हराएको थियो । त्यसपछि सन् २०१९ को विश्वकपको रोमाञ्चक फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमका आधारमा पराजित गरेको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा न्युजिल्यान्ड छैठौँ स्थानमा छ भने बंगलादेश आठौँ स्थानमा आसिन छ । जारी विश्वकपमा बंगलादेशको तुलनामा न्युजिल्यान्डको प्रदर्शन निकै स्तरीय देखिएको छ ।  त्यसैले यसपटक पनि न्युजिल्यान्डलाई उपाधिको दाबेदारका रुपमा हेरिएको छ । अघिल्ला दुई खेलमा न्युजिल्यान्डले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको छ । इङ्ल्यान्डविरुद्धको खेलमा किविज टोलीका दुई ब्याट्सम्यानले सतक प्रहार गरेका थिए । 

त्यो खेलमा ओपनर डेभोन कनवेले केवल एक सय २१ बलमा तीन छक्का र १९ चौकाको मद्दतले अविजित एक सय ५२ रन बनाएका थिए । रचिन रविन्द्रले पनि केवल ९६ बलमा पाँच छक्का र ११ चौकाको मद्दतले अविजित एक सय २३ रन बनाएका थिए । इङ्ल्यान्डले दिएको दुई सय ८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमै केवल एक विकेट गुमाएर पुरा गरेको थियो । त्यसअघि न्युजिल्यान्डका बलरहरुले पनि गतिलो प्रदर्शन गरेका थिए । म्याट हेनरीले तीन तथा मिचेल सान्टनर र ग्लेन फिलिप्सले दुई—दुई विकेट लिएका थिए ।

त्यसपछि नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि न्युजिल्यान्डका तीन ब्याट्सम्यानले अर्धसतक प्रहार गरेका थिए । माथिल्लो क्रमका सबै ब्याट्सम्यानले कम्तिमा ३० भन्दा बढी रन बनाएका थिए । ओपनर विल योङ, रचिन रविन्द्र र कप्तान टम लाथमले अर्धसतक पुरा गरेका थिए ।  त्यो खेलमा पनि न्युजिल्यान्डका बलरहरुको प्रदर्शन अब्बल थियो । मिचेल स्टान्टर एक्लैले पाँच विकेट लिएका थिए । म्याट हेनरीले पनि तीन विकेट लिएका थिए । लगातार दुई खेलमा जित हात पार्दै अंक तालिकाको पहिलो स्थानमा रहेपछि न्युजिल्यान्डका खेलाडीको मनोबल पनि उच्च देखिन्छ ।

अर्कोतिर बंगलादेशले आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानलाई ६ विकेटले हराएको थियो । बंगलादेशी बलरहरुले पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई ३७.२ ओभरमा केवल एक सय ५६ रनमा रोकेका थिए । बंगलादेशका लागि मेहिदी हसन र सकिब अल हसनले तीन—तीन तथा सोरिफुल इस्लामले दुई विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको बंगलादेशले ३४.४ ओभरमा विजयलक्ष्य पुरा गर्न चार विकेट गुमाएको थियो । मेहिदी हसन र नजमुल होसैनले अर्धसतकीय पाली खेलेका थिए । तर, इङ्ल्यान्डविरुद्धको खेलमा भने बंगलादेशको बलिङ कमजोर देखिएको थियो ।  बंगलादेशविरुद्ध इङ्ल्यान्डका ब्याट्सम्यानले तीन सय ६४ रन बनाएका थिए । बंगलादेशका अधिकांश बलरले ५० भन्दा बढी रन दिएका थिए । तीन बलरले त ७० भन्दा बढी रन खर्चिए । ब्याटिङमा पनि ओपनर लिटन दास र मध्यक्रमका मुसफिकर रहिमवाहेक अन्य कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । 

लिटन दासवाहेक माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेका थिएनन् । त्यो खेलमा बंगलादेशी टोली ४.२ ओभरमा दुई सय २७ रनमा समेटिएको थियो । यसको अर्थ अहिले पनि बंगलादेश बलिया टोलीहरुको दबाब झेल्न सक्ने स्थितिमा देखिँदैन । यी दुई राष्ट्रबीच हालसम्म खेलिएको खेलको तथ्याङ्कले पनि न्युजिल्यान्डलाई नै बलियो देखाउँछ । हालसम्म न्युजिल्यान्ड र बंगलादेशबीच ४१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये ३० खेलमा न्युजिल्यान्ड र १० खेलमा बंगलादेश विजयी भएका छन् । एक खेल भने अनिणर्ित रुपमा सकिएको छ । 

घरेलु मैदानमा न्युजिल्यान्डले १६ र बंगलादेशी टोलीले आठवटा खेल जितेका छन् । विपक्षीको मैदानमा न्युजिल्यान्डले सात खेल जितेको छ । बंगलादेशले भने हालसम्म न्युजिल्यान्डलाई उसैको घरेलु मैदानमा हराउन सकेको छैन । ‘न्यूट्रल भेन्यू’ मा खेलिएको खेलमा न्युजिल्यान्डले सात र बंगलादेशले दुई खेल जितेका छन् । 

पछिल्लो पटक सन् २०२३ को सेप्टेम्बर २६ मा न्युजिल्यान्ड र बंगलादेशबीच एकदिवसीय खेल भएको थियो । त्यो खेलमा न्युजिल्यान्डले बंगलादेशलाई सात विकेटले हराएको थियो । एकदिवसीय विश्वकपमा भने हालसम्म न्युजिल्यान्ड र बंगलादेशबीच पाँच खेल खेलिएको छ । विश्वकपमा खेलिएका पाँचवटै खेलमा न्युजिल्यान्डले बंगलादेशलाई हराएको छ । सन् १९९९ को विश्वकपमा न्युजिल्यान्डले बंगलादेशलाई ६ विकेटले हराएको थियो । सन् २००३ को विश्वकपमा न्युजिल्यान्डले बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो ।

त्यसपछि सन् २००७ को विश्वकपमा न्युजिल्यान्डले बंगलादेशलाई नौ विकेटले पराजित गरेको थियो । सन् २०१५ को विश्वकपमा बंगलादेशी टोली न्युजिल्यान्डसँग तीन विकेटले पराजित भएको थियो । अन्तिम पटक सन् २०१९ को विश्वकपमा पनि न्युजिल्यान्डले बंगलादेशलाई दुई विकेटले पराजित गरेको थियो । 

विश्वकमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले बनाएको उच्च स्कोर दुई सय ९० रन हो । न्युजिल्यान्डविरुद्ध बंगलादेशले बनाएको उच्च स्कोर भने दुई सय ८८ रन हो । विश्वकपमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले बनाएको सबैभन्दा कम स्कोर एक सय १७ रन हो । न्युजिल्यान्डविरुद्ध बंगलादेशले बनाएको सबैभन्दा कम स्कोर भने एक सय १६ रन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप