आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध गर्ने एजेन्डा मसँग छः आरके शर्मा

टीमसहित अध्यक्षका प्रत्याशी शर्मा चुनावी मैदानमा, उम्मेदवारी दर्ता
शुक्रबार, २६ असोज २०८०, १७ : ५३
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन् । 

कतिपयले क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको बताएका हुन् । 

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना समेटिएको बताए । उनले आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमानदार भएर पुरा गर्न लागिपर्ने पनि बताए । 

‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ । मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्नेमात्रै हो’, उनले भने, ‘सबै साथीहरु सकारात्मक पनि हुनुहुन्छ ।’

उनले आफूलाई अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशबाट सकारात्मक प्रतिक्रियाहरु आइसकेको भन्दै पुरै टीमले नै चुनाव जित्ने विश्वास व्यक्त गरे । 

शर्माले एनआरएनएको पवित्र उद्देश्य पुरा गर्ने सवालमा आफूहरूलाई सबै राजनीतिक दलहरूको समर्थन प्राप्त भएको दाबी गर्दै एनआरएनएमा राजनीति हुन भने नहुनेप्रति सचेत रहेको बताए । राजनीतिक दलहरूसँग सहकार्य गरेर एनआरएनएले कार्य गर्दै आएको पनि सो क्रममा शर्माले बताए । 

387857914_1267293333939209_8085756265827720979_n

२४ महिनामा २४ वटा काम गर्ने बाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरुबीचको एकता भएको पनि बताए । त्यसका लागि आफूले इमानदार पहल गरेर सबै अभियानबाट बाहिर रहेका एनआरएनएहरुलाई पनि एउटै मालामा उन्न पहल गर्ने उनको भनाइ थियो । 

‘केही समययता, गैरआवासीय नेपाली महासंघमा एकता छैन । त्यसले हाम्रो लक्षित उद्देश्य हासिल गर्नमा बाधा पुर्‍याएको छ’, शर्माले भने, ‘यसलाई जसरी पनि एकजुट गराउनु पर्ने दायित्व हाम्रो काँधमा आएको छ । मैले निरन्तररुपमा प्रयास गरिरहेको छु। एकजुट गराएरै छाड्ने प्रण पनि गरेको छु।’

शर्माको पत्रकार सम्मेलनमा उनको टिममा रहने उम्मेदवारहरुलाई समेत परिचय गराइएको थियो । जसअनुसार उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), राजु रेग्मी (राज), विजय मोक्तान, अभिमानसिंह बस्नेत, शशीकान्त पौडेल उम्मेदवार रहेका छन् । यस्तै युवा उपाध्यक्षमा अब्दुल बासिद उम्मेदवार भएको जानकारी दिइयो । 

यसैगरी उपमहासचिव पदमा प्रविन गुरुङ, सचिवमा मनोज कुमार गुरुङ (गोर्खाली), टंक गैरे, रामसी पोखरेल, कोषाध्यक्षमा ठाकुर ढुंगाना, महिला संयोजकमा देविका केसीको शर्मा टीमबाट उम्मेदवारी रहने भएको छ । टिममा रहने अन्य उम्मेदवारहरू पनि छिट्टै टुङ्गो लाग्ने बताइएको छ । 

यसैबीच अध्यक्षका उम्मेदवार शर्माले शुक्रबार नै आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले संघको कार्यालय बालुवाटार पुगेर आफ्नो उम्मेदवार दर्ता गराएका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप