आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शब्दयात्रा प्रकाशनद्वारा सात विधामा सम्मान समर्पण

शनिबार, २७ असोज २०८०, ०७ : २८
शनिबार, २७ असोज २०८०

काठमाडौँ । शब्दयात्रा प्रकाशनले  सम्मान समर्पण समारोहको आयोजना गरी सात विधाका सम्मान समर्पण गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान भोजपुरका डा. ठाकुरराज अधिकारीलाई, शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान पाल्पाकी बेटी बज्राचार्यलाई, शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान काठमाडौँको ‘शिवपुरी सन्देश’लाई र शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान सोलुखुम्बूका अनारसिंह कार्कीलाई समर्पण गरिएको थियो । 

यसै गरी शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान धादिङका कमल रिजाललाई, शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान तनहूँका जगदीश तिवारीलाई र शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान सिन्धुपाल्चोकको कफेश्वर महादेवस्थान व्यवस्थापन समितिलाई समर्पण गरिएको थियो ।

शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको प्रमुख आतिथ्य, भ्रष्ट विरोधी शास्त्रका प्रणेता भरत जङ्गमको आतिथ्य र संस्थाका आजीवन सदस्य प्रा केदारनाथ श्रेष्ठको सभापतित्वमा सम्पन्न आजको समारोहको सञ्चालन संस्थापक अध्यक्ष हरि मञ्जुश्रीबाट गरिएको थियो । कार्यक्रमको समुद्घाटन आजीवन सदस्य पदम दाहालले, अभिवन्दनापत्रको वाचन आजीवन सदस्य सकुल थापाले, स्वागत भाषण आजीवन सदस्य कृष्णमणि कुइकेलले, सम्मान सामग्रीको व्यवस्थापन आजीवन सदस्यद्वय हरिगोपाल प्रधान र शारदाप्रसाद शर्माले, माला अर्पण आजीवन सदस्य अमृत अधिकारीले, विविध सहयोग सङ्गीता केसीले र कविता वाचन गोविन्दबहादुर खड्काले गरेका थिए । 

चयन समितिका संयोजक जयराम श्रेष्ठले सम्मानित व्यक्ति तथा संस्थाको चिनारी गराएको उक्त कार्यक्रममा लालबहादुर भुजेलले जयराम श्रेष्ठलाई र केशव रूपाखेतीले चयन समितिका सदस्य उद्धवप्रसाद नेपाललाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गरेका थिए । आजीवन सदस्य डा. इन्दुल केसीलाई पत्नी शोक परेकाले गतात्माको आत्मशान्तिका लागि मौन धारण गरिएको उक्त कार्यक्रममा आबाल ब्रह्मचारी षडानन्द अधिकारी र मनका श्रेष्ठको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप