आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

पोइट आइडल र म

शनिबार, २७ असोज २०८०, ११ : ३०
शनिबार, २७ असोज २०८०

खुद्रा कवितामा सपना देखाउँदै
नयाँ–नयाँ व्यापार सुरु हुँदैछ
कतिको सपना किन्न सक्छौ ? 
भन व्यवसायी महोदयहरू !

किन्न सक्छौ आमाको ममता ? 
किन्न सक्छौ वीरको तक्दिर ?
किन्न सक्छौ मेरो घर आँगन ? 
किन्न सक्छौ ती बालापन ? 
किन्न सक्छौ बौद्धिक खजाना ? 
किन्न सक्छौ मेरो माटो ? 

शिक्षकहरू कुटिए
डाक्टरहरू कुटिए 
वकिलहरू कुटिए 
पत्रकारहरू कुटिए
अव, बौद्धिक कुटिन्छन् 
पैसाले खरिद गरिएपछि 
मूल्य नअसुलेर के गर्छन् ? 

म कविलाई विद्वान मान्छु
म थिङ्क ट्याङ्क मान्छु
म समाजको ऐना मान्छु 
भन्नुस्, के म गलत हुँ ? 

ऐना झुराझुरा हुने गरी फुटाएर 
भन्नुस्, म कसरी हेरूँ ? 
आफ्नो अजबको यी स्वरूप 
मेरो स्वरूपलाई कुरूप भन्दिए 
म कसरी हिँडूँ मूल बाटो ? 
कसरी पछ्याऊँ गन्तव्य ? 
कि लेखूँ तरबारको गीत ! 

म सक्दिन भग्नावशेषमा 
कविताको महल बनाउन 
खरिद बिक्री वस्तुको हुन्छ 
म वस्तुमा देख्दिन कुनै भविष्य 
मलाई हजुरले सके माफ गर्नुस् 
चाहे बेकार या गलत ठान्नुस् 
म पोइट आइडल बन्दिन !

हेलम्बु–६, सिन्धुपाल्चोक  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालकृष्ण गजुरेल
बालकृष्ण गजुरेल
लेखकबाट थप