आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

दसैँ कसरी आउँछ बा ?

शनिबार, २७ असोज २०८०, १५ : ५४
शनिबार, २७ असोज २०८०

घरको दलिनमा पिङ नझुण्डिई
चिनिचम्पा  केरा नपाकी
धानका बाला नझुली
घोर्ले खसीलाई मकैको दाना दिँदै
धार्नीको अड्कल लगाउँदै 
पक्कु नखाई
घरका भित्ता रातो माटोले नलिपी
कसरी आउँछ दसैँ बा  ?

काकाले लुगा सिलाउने कलमा 
मट्टितेल हाल्दै कट्या ट्याटाङ 
मिसिन चलाउँदै 
हरल्याङ परेका सट पेन्टको 
हररर बास्ना नआई
कट्टी खुकुरी चुलेसीमा 
शान र आरन नलगाई 
सहरका दाजुभाइ दिदी बहिनी
गाउँ नपसी
नसाँची बारीका घाँस  
बस्तु भाउलाई
कसरी आउँछ दसैँ बा ?

नहाली खल्पी काँक्राको
नफली चामल अटेको
नकुटी चिउरा ढिकीमा 
न पिसी तोरी कोलमा
नडुबी नरे झोलमा
नपसी सिरक खोलमा
नलगाई खरी ढोलमा
कसरी आउँछ दसैँ बा ?

नटिपी पात सालको
नबुनी दुना टपरी
नबाटी डोरी बाबियाको
नहाली गाउँमा लिङ्गे पिङ
नपकाई बोक्रा सालको 
नदली रङ्ग ढोकामा
नझारी जालो दलिनको 
नटाली छानो खरको
कसरी आउँछ दसैँ बा ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सेमन्त उपाध्याय
सेमन्त उपाध्याय
लेखकबाट थप