आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकप : भारत ८, पाकिस्तान ०

शनिबार, २७ असोज २०८०, २० : २२
शनिबार, २७ असोज २०८०

अहमदाबाद । एकदिवसीय विश्वकपमा पाकिस्तानमाथि आफ्नो दबदबा कायम राख्दै भारतले शनिबारको खेलमा शानदार जीत हासिल गरेको छ । अहमदाबादमा भएको खेलमा भारत ७ विकेटले विजयी भएको हो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ११७ बल बाँकी छँदै पछ्यायो । 

भारतले यसअघिका सातवटा विश्वकपमा पाकिस्तानलाई हराएको थियो । आजको जीतसँगै भारतले यो संख्या ८ पुर्याएको छ । यी दुई राष्ट्रबिच विश्वकपमा सबैभन्दा पहिले सन् १९९२ मा पहिलो खेल खेलिएको थियो । त्यो खेलमा भारत ४३ रनले विजयी भएको थियो । सन् १९९६ को विश्वकपमा भारतले पाकिस्तानलाई ३९ रनले हराएको थियो । त्यसपछि सन् १९९९ को विश्वकपमा भारतले पाकिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।

यसैगरी सन् २००३ को विश्वकपमा पाकिस्तानी टोली भारतसँग ६ विकेटले हारेको थियो । सन् २०११ को विश्वकपमा भारतले पाकिस्तानलाई २९ रनले हराएको थियो । सन् २०१५ को विश्वकपमा भारतले पाकिस्तानलाई ७६ रनले हराएको थियो । अन्तिम पटक सन् २०१९ को विश्वकपमा पनि भारतले आफ्नो चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ८९ रनको विजय प्राप्त गरेको थियो ।

शनिबार भएको खेलमा भारतको जीतमा कप्तान रोहित शार्माले सर्वाधिक ८६ रनको योगदान दिए । उनले ६३ बलमा ६ चौका र ६ छक्का हिर्काए । त्यस्तै श्रेयस ऐयरले नटआउट रहँदै ५३ रन बनाए । केएल राहुलले १९ तथा  शुभमन गिल र विराट कोहलीले १६–१६ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । उनलाई मोहम्मद रिजवानले ४९ रन बनाउँदै राम्रो साथ दिए । 

कुनै समय २ विकेट गुमाएर १५५ रन बनाएर पाकिस्तान मजबुत स्थितिमा रहेको थियो । तर, कप्तान बाबर आउट भएपछि पाकिस्तानको नाटकीय पतन सुरु भयो । त्यसपछिका ब्याट्सम्यानमा हसन अलीले १२ रन बनाउनबाहेक अन्यले ठुलो यागेदान दिन सकेनन् ।

त्यसअघि ओपनर अब्दुल्लाह सफिकले २० तथा इमाम उल हकले ३६ रन बनाएका थिए । भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप