आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फरारीले क्रिप्टोमा भुक्तानी लिन सुरु गर्‍यो

आइतबार, २८ असोज २०८०, १३ : ३९
आइतबार, २८ असोज २०८०

काठमाडौँ । इटलियन लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फरारीले क्रेताहरुबाट भुक्तानीको रूपमा डिजिटल मुद्रा पनि स्वीकार गर्न थालेको छ । अमेरिकामा कार किन्न आउने क्रेताहरूबाट भुक्तानीको माध्यमको रूपमा क्रिप्टोकरेन्सी पनि लिन थालिएको हो । बिस्तारै यस योजनालाई युरोपमा पनि विस्तार गरिने कम्पनीको योजना छ । 

बिट्क्वाइनलगायत डिजिटल मुद्राको भाउमा भइरहने तीब्र उतारचढावका कारण अधिकांश ब्लु–चिप कम्पनीहरुले क्रिप्टो स्वीकार गरेका छैनन् । त्यसमाथि यससम्बन्धी अस्पष्ट नियमन र क्रिप्टोकरेन्सी माइनिङका क्रममा हुने वातावरणीय क्षति पनि भुक्तानीको माध्यमको रूपमा क्रिप्टोको प्रयोगमा तगारो बनेको छ । 

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२१ मा बिट्क्वाइन  लिएर क्रेतालाई कार बेच्न सुरु गरेको थियो । तर वातावरणीय चिन्ता भन्दै सीईओ एलन मस्कले भुक्तानी लिन बन्द गरे । क्रिप्टोकरेन्सीहरुले कार्बन उत्सर्जन कम गर्ने प्रयास गरिरहेको अनि नवीकरणीय ऊर्जाको स्रोतको प्रयोग बढाइरहेको फरारीको प्रमुख मार्केटिङ तथा कमर्शियल अधिकृत एन्रिको गलिएराले भने । 

बजार र कार डिलहरूको अनुरोधमा क्रिप्टोमा भुक्तानी लिन थालिएको कम्पनीले बताएको छ । इथर लगायत केही क्रिप्टोकरेन्सीहरुले माइनिङका क्रममा हुने ऊर्जा खपत घटाएका छन् । तर बिट्क्वाइन माइनिङले अत्यधिक बिजुली खाइरहेको भन्दै आलोचना भइरहेको छ । फरारीले सन् २०२२ मा विश्व बजारमा १३ हजार २०० थान कार बेचेको थियो । यसका कार २ लाख युरो भन्दा अलि बढी देखि २० लाख यूरोसम्मका छन् ।  एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप