आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साविक विजेता इङ्ल्यान्डलाई अफगानिस्तानले दियो दुई सय ८५ रनको लक्ष्य

आइतबार, २८ असोज २०८०, १८ : ०५
आइतबार, २८ असोज २०८०

काठमाडौँ । १३ औँ आईसीसी एकदिवसीय विश्वकपमा आइतबार अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई जितका लागि दुई सय ८५ रनको लक्ष्य दिएको छ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ८४ रन बनाएको हो । 

अफगानिस्तानले पालीको गतिलो सुरुआत गरेको थियो । रहमानुल्लाह गुरुबाज र इब्राहिक जादरानले ओपनिङ विकेटका लागि एक सय १४ रनको साझेदारी गरेका थिए । विकेटकिपर ब्याट्सम्यान गुरुबाजले रनआउट भई पेभेलियन फर्किनुअघि ८० रन बनाए । 

आक्रामक पाली खेल्दै गुरुबाजले केवल ५७ बलमा चार छक्का र आठवटा चौका हिर्काएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको तेस्रो अर्धसतक हो । रन लिने क्रममा कप्तान हसमतुल्लाह शाहिदीसँग तालमेल नमिल्दा उनी रन आउट भएका थिए ।

अफागानिस्तानका लागि इक्राम अखिलले पनि अर्धसतकीय पाली खेले । टोली अप्ठ्यारो अवस्थामा रहँदा उनले ५८ रन बनाए । उनले जिम्मेबारीपूर्वक खेल्दै ६६ बलको सामना गरी दुई छक्का र तीन चौका पनि प्रहार गरेका थिए । त्यसअघि अर्का ओपनर ईब्राहिम जादरान २८ रन बनाउँदै पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनले ४८ बलमा तीन चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान रहमत शाह भने तीन रनमै आउट भएका थिए । 

कप्तान हसमतुल्लाह शाहिदी पनि १४ रनभन्दा अगाडि बढ्न सकेनन् । पाँचौँ नम्बरका ब्याट्सम्यान अजमतुल्लाह ओमरजाई पनि २४ बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन बनाउँदै आउट भएका थिए । 

रसिद खान २३ रन बनाउँदै आउट भए । २२ बलमा तीन चौका प्रहार गरेका रसिद क्याच आउट भएका थिए । उनलाई इङ्ल्यान्डका बलर आदिल रसिदले जो रुटद्वारा बाउन्ड्री लाइननजिकै क्याच गराएका थिए । त्यो जारी विश्वकपकै उत्कृष्ट क्याचमध्ये एक थियो । उनले अफगानिस्तानविरुद्धको खेलमा चारवटा क्याच लिए ।

मोहम्मद नाबी नौ रन बनाउँदै आउट भए । मुजिब उर रहमानले २८ रनको योगदान गरे । तल्लो क्रमका ब्याट्सम्यान मुजिब उर रहमानले आक्रामक पाली खेल्दै केवल १६ बलमा एक छक्का र तीन चौका हिर्काएका थिए ।

अफगानिस्तानले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । इङ्ल्यान्डका बलरहरुले अन्त्यतिर खराब बलिङ प्रदर्शन गरेका थिए । साविक विजेता टोलीका बलर आदिल रसिदले तीन विकेट लिए । मार्क उडले दुई विकेट हात पारे । रिस टप्ले, लियाम लिभिङस्टोन र जो रुटले पनि एक—एक विकेट लिए ।

जारी विश्वकपमा यसअघि खेलिएको दुई खेलमा इङ्ल्यान्डले मिश्रित नतिजा निकालेको छ । आफ्नो पहिलो खेलमा इङ्ल्यान्डको टोली न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भने इङ्ल्यान्डले बंगलादेशलाई एक सय ३७ रनले हराएको थियो । यसैगरी अफगानिस्तानको टोली भने यसअघि खेलिएको आफ्नो दुबै खेलमा पराजित भएको थियो । आफ्नो पहिलो खेलमा अफगानिस्तानको टोली बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानको टोलीलाई आयोजक राष्ट्र भारतले आठ विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप