आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीको मेची–महाकाली अभियान : पार्टी रुपान्तरणको झिनो आशा !

पार्टीको पक्षमा जनमत नै छैन भने भाष्यलाई अभियानले चिरेको छ
आइतबार, २८ असोज २०८०, १९ : ४१
आइतबार, २८ असोज २०८०

सुर्खेत । असोज १४ मा झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको ‘समाजवादी जागरण अभियान’ आइतबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा कार्यक्रम गरी सम्पन्न भएको छ ।

‘सुशासन, रोजगारी र समृद्धिका लागि’ भन्ने मूल नारा दिइएको अभियानमा पार्टी अध्यक्ष माधवकुमार नेपालदेखि शीर्ष नेता, कार्यकर्ता, कलाकारहरु सहभागी थिए ।

१४ दिनको अवधिमा पूर्व मेचीदेखि पश्चिम महाकाली र सुर्खेतसम्म आइपुग्दा दजनौँ कार्यक्रम गरिएका छन्– जसको प्रमुख उद्देश्य नागरिकमा जागरण पैदा गर्नु हो ।

चर्चित गायक ऋषि अधिकारीले अभियानको उद्देश्य, नेकपा एकीकृत समाजवादी पार्टीको कार्यदिशा र कार्यनीतिको बारेमा गीतको माध्यमबाटै सुनाउने गरेका छन् । आइतबार वीरेन्द्रनगरमा पनि अधिकारीले गीत गाएका थिए भने सबै नेताले नाचेर साथ दिएका थिए ।

वीरेन्द्रनगरस्थित पिपलचौतारामा बिच सडकमा गरिएको कार्यक्रममा हजारौँको सहभागिता थियो । कार्यक्रमलाई नेताहरुले सम्बोधन गरे ।

अध्यक्ष माधवकुमार नेपालले अभियान, सरकार र पार्टीको भविष्यका बारेमा जानकारी गराए । १४ दिनको अवधिमा विभिन्न पार्टी परित्याग गरेर पाँच हजारभन्दा बढी व्यक्ति आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए ।

अध्यक्ष नेपालले न्याय, सुशासन, रोजगारीको आवाज बुलन्द गर्नका लागि नेकपा एकीकृत समाजवादी अभियानका माध्यमबाट जनताको बिचमा आएको चर्चा गरे ।

अभियानले पार्टीलाई जनतासँग जोडेको, जनताका कुरा सुन्ने, आफ्ना नीति र एजेण्डा जनतामाझ सुनाउने काम भएको नेताहरु बताउँछन् ।

ठाउँ–ठाउँमा साना–ठुला सभा गर्ने र आफ्ना एजेण्डा जनतालाई सुनाउने काम भएको अध्यक्ष नेपालले बताए । साथै समृद्धि र समाजवादको विषयमा पनि नेताहरुले जनतालाई बुझाउने प्रयास गरेका छन् ।

दलको अपिल पत्रमा कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, विदेश नीति र पार्टी निर्माणको विषयलाई एजेण्डाको रुपमा राखिएको उल्लेख छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले ‘जागरण अभियान’ सोचेभन्दा सफल भएको दाबी गरे ।

पार्टी रुपान्तरणको झिनो आशा !

संघीय सरकारका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका पार्टी उपमहासचिव प्रकाश ज्वालाले यो अभियानले पार्टीमा केही हदसम्म रुपान्तरण भएको विश्वास व्यक्त गरे ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘यो अभियान हामीले सुशासन, रोजगारी र समृद्धिका लागि समाजवाद भन्ने नाराका साथ थालेका हौँ । उक्त नारा जनताको बिचमा सम्प्रेषण गर्नु थियो र ग¥यौँ । यसले जनताका केही रुपमा पनि जागरण पैदा गरेको मैले विश्वास लिएको छु ।’

अभियानका क्रममा ‘समाजवादको लक्ष्यप्रति हामी दृढ छौँ र समाजवाद प्राप्तिका लागि हाम्रा स्टेप यी हुन्’ भन्ने विषयहरु जनतालाई प्रस्ट पार्नु थियो र जनतालाई ती कुरा बुझाइएको ज्वाला बताउँछन् ।

जनतासँग जोडिएका विषयहरु नै एजेण्डाको रुपमा राखेर जनताको बिचमा सम्प्रेषण गरिएको उनले बताए । ‘जनताको असन्तुष्टि छ भने पनि सम्बोधन गर्दै, पार्टीका एउटा ऊर्जा, साहस र पुनर्जागरण ल्याउने काम भएको छ,’ ज्वालाले भने, ‘धेरै हदसम्म पार्टीभित्र पुनर्जागरण ल्याएको छ । हाम्रा उद्देश्य, एजेण्डाहरु जनताको बिचमा राख्ने, पार्टीलाई बलियो बनाउने, सुदृढ गराउने काम भएको छ ।’

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पार्वती विशुन्खे नेपाल सुहाउँदो समाजवादको शाखा बनाउनका लागि यो अभियानले महत्त्वपूर्ण भूमिका खेलेको बताउँछिन् ।

गरिबी निवारण गर्न, भ्रष्टाचार निराकरण गर्न र जनताको न्यायका लागि ठोस् रुपमा कार्यनीति बनाएर अघि बढ्ने कार्ययोजना बनाएर सरकारलाई सुझाव दिने काम मेची–काली अभियानले दिएको उनको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ नै कटाउन सकेन र यो पार्टीसँग जनमत नै छैन भने भाष्यलाई अभियानले चिरेको उनको दाबी छ । ‘अभियानको क्रममा पार्टीप्रति जनताको लगाव, झुकाव र उपस्थिति हेर्दा समाजवादीको नीति र सिद्धान्तलाई नजिकबाट नियाल्ने जनमत हामीसँग रहेछ भन्ने सन्देश दिएको छ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप