आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एउटै कक्षा पढेर फेल नहुन प्रतिस्पर्धीलाई आरके शर्माको सुझाव

आइतबार, २८ असोज २०८०, २१ : ०१
आइतबार, २८ असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले अघि सारेका एजेन्डालाई सघाउन आफ्ना प्रतिस्पर्धीहरूलाई आग्रह गरेका छन् ।

आइतबार राजधानीमा आयोजित ‘एनआरएनए प्रेसिडेन्टियल डिबेट–२०२३’लाई सम्बोधन गर्दै शर्माले अध्यक्षका प्रत्याशी डा बद्री केसी र महेश श्रेष्ठलाई उम्मेदवारीबाट ब्याक हुन आग्रह गर्दै आफूले सबैको एजेन्डालाई स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले समृद्ध नेपाल निर्माणका साथसाथै एनआरएनएलाई एकता बनाउने आफ्नो अभियानलाई साथ दिन डा केसी र श्रेष्ठसँग आग्रह गरेका हुन् । उनले उनले अध्यक्ष डा केसीलाई त एउटै कक्षामा फेल नहुन सुझाव दिँदै एनआरएनएका आम अभियन्ताले परिवर्तन चाहेको स्मरण गराए । 

 प्रभावकारी ढङ्गले आफ्नो एजेन्डा अघि सारेका शर्माले आफू वर्तमान उपाध्यक्ष भएकाले नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएको बताए ।  आफ्नो एक मात्र चाहना एकताबद्ध एनआरएनए निर्माण र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न सकियोस् भन्ने रहेको पनि  शर्माको भनाइ छ ।  एनआरएनएमा राजनीति भइरहेको प्रति सङ्केत गर्दै उनले आफ्नो चाहना भने संस्थामा भूइँमान्छेलाई समेत जोड्ने रहेको बताए । 

‘वर्तमान कार्यकालको म एक उपाध्यक्ष हुँ । अटोमेटिक अध्यक्षको प्रत्याशी पनि हुँ । एउटा साथीहरू राजनीतिकै प्रयोग गरेर नेतृत्व हत्याऔँ भन्नेमा हुनुहुन्छ । एक किसिमको साथीहरू चाहिँ नीति नियमको डन्डाले ठोकेर भए पनि नेतृत्व हत्याऔँ भन्ने हुनुहुन्छ’, उनले भने, ‘ मेरो सोचाइचाहिँ के हो भन्दा दशौँ महाधिवेशनमा एनआरएनए जसरी टुक्रियो, त्यसलाई जोड्दै दुवै पक्षलाई सँगै डोहोर्याएर लैजानुपर्छ । म दुई ध्रुवमा विभाजित एनआरएनएलाई एकताबद्ध बनाउँछु । समृद्ध नेपाल र आर्थिक क्रान्तिको एजेन्डा र भूईँमान्छेको एजेन्डा पनि मैले बोकेको छु ।’ 

शर्माले सबै नेपालीले चाहेको अखण्ड एनआरएनए भएको भन्दै आफू नेता हुनका लागि समाज फुटाउने ढङ्गले जान नहुनेमा सचेत रहेको बताए ।  ‘सबैको चाहना पनि मैले यही पाएको छु । चुनावी अभियानमा ४० देशमा घुम्दा पनि त्यही पाएको छु’, शर्माले भने, ‘समृद्ध नेपाल निर्माणका लागि लगानी भित्र्याउने, विदेशका नेपालीको खुद सम्बोधन गर्ने, दोस्रो पुस्तालाई जोड्नका लागि समन्वय गर्ने, नीतिगतरुपमा सामूहिक लगानीमार्फत के गर्न सकिन्छ त्यसमा लाग्ने, वैध ढङ्गले रेमिटेन्स भित्र्याएर अर्थतन्त्रलाई टेवा पुर्‍याउन सहयोग गर्ने काम मैले गर्छु ।’

सामूहिक लगानी प्राधिकरणको व्यवस्था गर्न पहल गर्नुका साथै भूईँमान्छेदेखि विद्धानसम्मको मिश्रित एजेन्डा आफूले बोकेको भन्दै शर्माले आफूलाई धेरै अभियन्ता र डेलिगेटहरुले पनि समर्थन गरेको बताए । 

उनले आफूलाई कुनै राजनीतिक दलको ट्याग लगाइएको भए पनि त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे । बरु आफ्नो एजेण्डामा सबै राजनीतिक दलको समर्थन रहेको उनको भनाइ छ । ‘एनआरएनएको पवित्र अभियानमा मैले कमल थापादेखि प्रधानमन्त्री प्रचण्डसम्म काम गरेको छु । एनआरएनएको एजेन्डा सम्बोधन गर्न मैले बराबर कार्य पनि गरेको छु । सबै सम्मानित दलको साझा मान्छे हो म’, शर्माले भने, ‘सबैले मन पराएका एजेन्डा मेरा छन् ।’

उनले अझै पनि  संस्थामा बेथितिहरू रहेको भन्दै उनले त्यसको एउटा उदाहरण अहिले पनि आन्तरिक अडिट हुन नसक्नु भएको बताए ।  

उनले वर्तमान निर्वाचन प्रणाली नै लगत भएको भन्दै निर्वाचनदेखि निर्वाचन सम्मको अभियानले एनआरएनए अभियानलाई नयाँपन दिन नसक्ने बताए । ‘डेलिगेट्सले मात्रै भोट हाल्ने प्रक्रिया नतोडिएसम्म केही हुन्न । मेरो मानेमा भन्नु हुन्छ भने एनआरएनएमा सबै मेरा हुन्’, उनले भने, ‘मैले कुनै प्यानल बनाएको छैन ।’ 

उनले आफूले मध्यपूर्वको एजेण्डामात्रै नबोकेको भन्दै यसमा पनि भ्रम फैलाउने कार्य भइरहेको बताए । ‘गैरआवासीय नेपाली नागरिकका लागि को धेरै लडेको छ ? सामाजिक सुरक्षा कोष र गोर्खाजका इश्युमा को धेरै बोलेको छ ? अध्यक्षको उम्मेदवार हुँदा मात्रै होइन, म निरन्तर बोलेको जगजाहेरै छ ।   मलेसिया र म्यानमारका इश्युमा कसले बोलेको छु ? यसमा अतिरञ्जित गर्ने काम भएको भएको मात्रै हो’, शर्माले भने । 

उनले डा बद्री केसीसहित आफ्ना प्रतिस्पर्धीलाई सुझाव दिँदै अगाडि भने, ‘त्यही कक्षा पढेर फेरि फेल नहुन सुझाव दिन्छु । म अहिले उम्मेदवारी दिएका सबै साथीहरूको एजेन्डा जोडेर अब २० वर्षपछि कसरी समृद्ध नेपाल निर्माण गर्ने भन्नेबारेमा सबैको एजेन्डा एडप्ट गर्छु  । मलाई साथ दिनुस्’, उनले भने ।  एनआरएनए र देशको दिगो विकासको एजेन्डासहित आफू चुनावी मैदानमा आएको भन्दै शर्माले आफूप्रति सबै नेपालीबाट जुन उत्साह आएको छ त्यसलाई सम्मान गरिदिन पनि आग्रह गरे । 

सबैको साझा चौतारीको रूपमा संस्थालाई विकास गर्नका लागि आफूले २४ महिनामा २४ काम गर्नेगरी बाचापत्र ल्याएको पनि बताए । 

उनले आफू मध्यपूर्वको मात्रै नभएर संसारभरका एनआरएनएको उम्मेदवार भएको भन्दै यसबारेमा अनावश्यक भ्रम समेत फिँजाइएकोप्रति असन्तुष्टि पोखे । ‘ सबैलाई सम्बोधन गर्ने कुरामा मध्यपूर्वबाट नेतृत्व गर्दै गर्दा मैले मिडल इस्टमात्रै होइन, विश्व बुझेको छु । सबैलाई एउटै मालामा गाँसेर नेतृत्व अघि बढाउँदै समृद्ध नेपाल निर्माणका खुड्किलाहरु अघि बढाउँछु’, शर्माले भने । 

डिबेटमा केसी र श्रेष्ठले पनि आफ्नो उम्मेदवारीको बारेमा तर्कहरु प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप