आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

मुख्यमन्त्री कार्कीलाई दबाबमा राख्न विश्वासको मत दिँदै गठबन्धन दलहरू

एमाले, कांग्रेस, माओवादीसहितका पार्टीले विश्वासको मत दिने वातावरण बन्दै
सोमबार, २९ असोज २०८०, १५ : ५३
सोमबार, २९ असोज २०८०

विराटनगर । गठबन्धनको निर्णय नमानेर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले राप्रपाबाहेकका सबै दलको विश्वासको मत पाउने सम्भावना बढेको छ ।

कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेको सिङ्गो ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई दबाबमा राख्नका लागि गठबन्धनका दलहरु कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिन लागेका हुन् ।

यसअघि २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपासहितको समर्थनमा संघीय सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहालले पनि पुस २६ गते विश्वासको मत लिँदा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपासहितको मत पाएका थिए । २७५ सदस्यीय संघीय संसदमा प्रचण्डले प्रस्तावको पक्षमा २६८ र विपक्षमा २ मत पारेको थियो । कांग्रेससँगको गठबन्धन गरेर चुनाव लडेको माओवादीलाई अन्तिममा प्रधानमन्त्री दिन अस्वीकार गरेपछि एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, कांग्रेसले विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा माओवादीको साथ खोजेको थियो भने एमालेसँगको गठबन्धन तोड्न माओवादीलाई दबाब सिर्जना भएको थियो ।

कांग्रेसका सांसद रहे पनि एमालेको योजनामा कोशीका मुख्यमन्त्री बनेका कार्कीलाई विश्वासको मत दिएर पुनः गठबन्धनतिरै ढल्काउने उद्देश्यअनुसार गठबन्धन दलहरुले विश्वासको मत दिन लागेका हुन् । ‘एमालेलाई सत्ता बाहिरै राख्ने हो,’ गठबन्धन दलका एक नेताले भने, ‘मुख्यमन्त्री बन्नका लागि एमालेमा पुगेका केदार कार्कीलाई गठबन्धनमै फर्काउँछौँ । अब एमालेसँग टाँसिएर उनले किन बस्नुपर्‍यो ?।’

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार नै विश्वासको मत लिने भएका छन् । त्यसका लागि कांग्रेसले संस्थागत छलफल सुरु गरिसकेको छ । कार्कीले अन्य दलसँग छलफल र वार्ताका लागि कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई खटाएका छन् । सोही अनुरुप गठबन्धन दल माओवादी, नेकपा एकीकृत समाजवादी र जसपासँग आजै औपचारिक छलफल हुने जनाइएको छ । गठबन्धन दलहरुले राप्रपासँग पनि छलफल गरेर सहमतिमा ल्याउन प्रयास गर्ने जनाएका छन् ।

सत्ता गठबन्धनको निर्णयविपरीत कार्की आफूसहित कांग्रेसका ८ सांसदलाई विद्रोह गराएर एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको २६ गतेसम्मको समयमा कार्कीले एमालेसहितको समर्थनमा र इन्द्रबहादुर आङ्बोले गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । दुई जनाको ४७–४७ सांसदको दाबी रहेपछि प्रदेश प्रमुखले शनिबार सांसदहरुको हस्ताक्षर सनाखत गराएका थिए । जसमा कार्की पक्षका ४७ सांसदले हस्ताक्षर सनाखत गराए । सोही आधारमा उनी मुख्यमन्त्री भए भने आङ्बो सांसदको हस्ताक्षर सनाखत गराउनै गएनन् ।

कोशी प्रदेशमा विकसित भएको राजनीतिपछि केन्द्रको सत्ता गठबन्धनमा पनि संकट आउने सम्भावना बढेपिछ उक्त सम्भावनालाई निस्तेज पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र कोशीमा विद्रोह गर्न लगाएका कांग्रेस नेता शेखर कोइरालाबिच गठबन्धन टिकाइराख्ने सहमति सार्वजनिक भयो ।

देउवा, प्रचण्ड र कोइरालाले गरेको सहमति तथा एमालेले बनाएको मुख्यमन्त्री भएको कारण कार्कीलाई पनि आशङ्का र अविश्वास कायमै छ । त्यही भएर पनि उनी तत्कालै विश्वासको मत लिन लागेको कार्कीनिकट स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप