दुई स्वीडिस नागरिकको हत्यापछि बेल्जियम र स्वीडेनबिचको खेल स्थगित
ब्रसेल्स । ब्रसेल्समा दुई स्वीडिस नागरिकको गोली हानी हत्या गरिएपछि सोमबार बेल्जियम र स्वीडेनबिच भएको युरो २०२४ को छनोट खेल हाफटाइममा रद्द गरिएको छ ।
घटना खेल सुरु हुनभन्दा केही घण्टा अघि भएको थियो । यसलाई आतङ्कवादी घटनाका रूपमा अनुसन्धान भइरहेको छ । आक्रमणकारी अझै फरार रहेका छन् ।
खेल रद्द भएपछि समर्थक र खेलाडीहरूलाई केही समय किङ्ग बाउडोइन स्टेडियममा बस्न भनिएको थियो । त्यसपछि उनीहरूको उद्धार कार्य सुरु गरिएको थियो । स्वीडेनको टोलीलाई विमानस्थलसम्म सुरक्षाका साथ पुर्याइएको थियो भने स्वीडिस समर्थकलाई पनि प्रहरी सुरक्षाबिच सहरसम्म पुर्याइएको थियो ।
स्वीडेनका म्यानेजर जेन एन्डरसनले आफूहरूले घटनाबारे हाफटाइममा मात्र थाहा पाएको जानकारी दिए । मारिने स्वीडिस नागरिक युरो २०२४ को छनोट खेल्न हेर्नकै लागि ब्रसेल्स आएका थिए वा थिएनन् भन्ने चाहिँ खुलेको छैन ।
सामाजिक सञ्जालमा सेयर गरिएको एक भिडियोमा एक अरबी भाषा बोल्ने व्यक्तिले ‘अल्लाह’ को नाममा यो घटना गराएको दाबी गरेका छन् । खेल रद्द हुँदा १–१ गोलको अवस्थामा रहेको थियो ।