आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप छनोट फुटबल : मेसीको दुई गोलमा अर्जेन्टिनाको जित

बुधबार, ०१ कात्तिक २०८०, १० : ०२
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । विश्वकप छनोट फुटबलको बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुमाथि २—० गोलको सजिलो जित हासिल गरेको छ । लगातार चौथो जितसँगै अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको छनोट तालिकाको पहिलो स्थानमा आसीन छ । 

विश्वकप विजेतासमेत रहेको अर्जेन्टिनाका लागि दुवै गोल लियोनल मेसीले गरेका हुन् । सात पटकका बेलोन डी’ओर विजेता मेसीले दुवै गोल पहिलो हाफमै गरेका थिए । पेरुको घरेलु मैदानमा खेल सुरु भएको ३२औँ मिनेटमा मेसीले टोलीका लागि पहिलो गोल गरेका थिए ।

पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि उनले टोलीको अग्रता दोब्बर बनाएका थिए । खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि अर्जेन्टिनाले महत्त्वपूर्ण तीन अङ्क हात पार्‍यो । ३६ वर्षीय मेसी पछिल्लो केही समययता घाइते रहँदै आएका थिए ।

त्यसैले उनले राष्ट्रिय टोली र इन्टर मियामीबाट केही खेल गुमाएका थिए । उनले सप्टेम्बर ७ तारिखपछि पहिलो पटक राष्ट्रिय टोलीका लागि गोल गरेका हुन् । यसअघि अर्जेन्टिनाले इक्वाडरलाई १—० ले हराउँदा मेसीले फ्रिकिकमार्फत गोल गरेका थिए ।  

दक्षिण अमेरिकी क्षेत्रको छनोटमा हालसम्म चार खेल खेलेको अर्जेन्टिना १२ अङ्कसहित पहिलो स्थानमा आसीन छ । समान खेलबाट सात—सात अङ्क जोडेका उरुग्वे दोस्रो, ब्राजिल तेस्रो र भेनेजुएला चौथो स्थानमा रहेका छन् । 

यसैगरी ६ अङ्कसहित कोलम्बिया पाँचौँ, चार अङ्कसहित इक्वाडर छैठौँ, समान अङ्कसहित पराग्वे सातौँ, समान अङ्कसहित चिली आठौँ र एक अङ्कसहित पेरु नवौँ स्थानमा रहेका छन् । दशौँ स्थानमा आसीन बोलिभियाले भने हालसम्म खाता खोल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप