आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपमा आज : अपराजित न्युजिल्यान्ड र अप्रत्यासित नजिता निकालेको अफगानिस्तान भिड्दै

बुधबार, ०१ कात्तिक २०८०, १२ : १५
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३ औँ संस्करणमा बुधबारदेखि चौथो चरणको खेल सुरु हुँदैछ । चौथो चरणको पहिलो खेलमा बुधबार अफगानिस्तानले न्युजिल्यान्डलाई चुनौति दिँदैछ । उक्त दिवा—रात्री खेल नेपाली समयअनुसार, दिउँसो २ः १५ बजे चेन्नईमा सुरु हुनेछ । 

जारी विश्वकपमा हालसम्म अपराजित रहेका दुई टोलीमध्ये न्युजिल्यान्ड पनि एक हो । यसअघि खेलिएका तीनवटै खेलमा न्युजिल्यान्डले जित हासिल गरेको छ । जारी विश्वकपमा अर्को अपराजित टोली भारत हो ।  चौथो चरणको खेलअघि भारत अंक तालिकाको पहिलो र न्युजिल्यान्ड दोस्रो स्थानमा आसिन छन् । आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा न्युजिल्यान्ड छैठौँ र अफगानिस्तान नवौँ स्थानमा छन् । एकदिवसीय विश्वकपमा न्युजिल्यान्डको यो १३औँ सहभागिता हो भने अफगानिस्तानको तेस्रो । 
००००
जारी विश्वकपमा न्युजिल्यान्ड बलियो
विश्वकपको साविक उपविजेतासमेत रहेको न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा साविक विजेता इङ्ल्यान्डलाई नौ विकेटले हराएको थियो । त्यसपछि दोस्रो खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्समाथि ९९ रनको सजिलो जित हासिल गरेको थियो ।

किविज टोलीले तेस्रो खेलमा भने बंगलादेशमाथि आठ विकेटको जित हासिल गरेको थियो । तीनमध्ये दुई खेल न्युजिल्यान्डले दोस्रो ब्याटिङ गरेर जितेको हो । 

अफगानिस्तानले भने जारी विश्वकपमा दुई हार भोगेको छ । एउटा खेलमा भने अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई हराएर सनसनी मच्चाएको छ । अफगानिस्तानको टोली आफ्नो पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानको टोलीलाई आयोजक राष्ट्र भारतले आठ विकेटले हराएको थियो । तर, तेस्रो खेलमा अफगानिस्तानले बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई ६९ रनको जित हासिल गरेको थियो । अप्रत्यासित रुपमा इङ्ल्यान्डलाई हराएपछि जारी विश्वकपमा सहभागी हरेक बलिया टोली अफगानिस्तानसँग सचेत देखिएका छन् । 

त्यसैले बुधबार हुने खेलमा न्युजिल्यान्डका लागि पनि अफगानिस्तान कमजोर प्रतिद्वन्द्वी होइन । यद्यपि, जारी विश्वकपमा न्युजिल्यान्ड सन्तुलित टोलीको रुपमा देखिएको छ । न्युजिल्यान्डको ब्याटिङ र बलिङ दुबै लयमा छ ।  इङ्ल्यान्डविरुद्धको खेलमा न्युजिल्यान्डका दुई ब्याट्सम्यान डेभोन कनवे (अविजित एक सय ५२ रन) र रचिन रविन्द्र (अविजित एक सय २३ रन) सतकीय पाली खेलेका थिए । म्याट हेनरी, मिचेल सान्टनर, ग्लेन फिलिप्सलगायतका बलरहरु पनि लयमा देखिएका थिए ।

त्यसपछि नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि तीन किविज ब्याट्सम्यान विल योङ (७० रन), रचिन रविन्द्र (५१ रन) र कप्तान टम लाथम (५३ रन) ले अर्धसतक बनाएका थिए । त्यो खेलमा मिचेल सान्टनर एक्लैले पाँच विकेट लिएका थिए । म्याट हेनरीले पनि तीन विकेट हात पारेका थिए ।

यसैगरी बंगलादेशविरुद्धको खेलमा पनि न्युजिल्यान्डका दुई ब्याट्सम्यान केन विलियम्सन ९७८ रन० र ड्यारल मिचेल (अविजित ८९ रन) ले अर्धसतक प्रहार गरेका थिए । त्यो खेलमा पनि किविज बलर लोकी फर्गुसनले तीन तथा ट्रेन्ट बोल्ट र म्याट हेनरीले दुई—दुई विकेट लिएका थिए । 

यसको विपरित अफगानिस्तानको ब्याटिङमा भने एकरुपता देखिएको छैन । बंगलादेशविरुद्धको खेलमा अफगानिस्तानका कुनै पनि ब्याट्सम्यानले अर्धसतकसम्म बनाउन सकेका थिएनन् । त्यो खेलमा अफगानिस्तानको टोली ३७.२ ओभरमा केवल एकस य ५६ रन बनाउँदै अलआउट भएको थियो । यसका अतिरिक्त बलिङ पनि खासै प्रभावकारी देखिएको थिएन ।

भारतविरुद्धको खेलमा भने अफगानिस्तानका दुई ब्याट्सम्यान हसमतुल्लाह साहिदी (८० रन) र अजमतुल्लाह ओमाराजी (६२ रन) ले अर्धसतक बनाएका थिए । त्यो खेलमा पनि अफगानिस्तानको बलिङ आक्रमण भने निराशाजनक नै देखिएको थियो ।  यसैगरी यसको विपरित इङ्ल्यान्डविरुद्धको खेलमा अफगानिस्तानको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट देखिएको थियो ।

अफगानिस्तानले पहिले ब्याटिङ गर्दै दुई सय ८४ रन बनाएको थियो । ओपनर रहमानुल्लाह गुरबाज (८० रन) र इक्राम अखिल (५८ रन) ले अर्धसतकीय पाली खेलेका थिए । बलिङतर्फ पनि मुजिब उर रहमान र रासिद खानले तीन—तीन तथा मोहम्मद नाबीले दुई विकेट हात पारेका थिए ।  यसरी जारी विश्वकपको हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको न्युजिल्यान्ड र प्रदर्शनमा एकरुपमा नदेखिए पनि अप्रत्यासित नतिजा निकाल्न खप्पिस अफगानिस्तानबीचको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ । 

००००
यसअघि केवल दुई खेल

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि न्युजिल्यान्ड र अफगानिस्तानबीच दुईपटक मात्र खेल भएको छ । ती दुबै खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई हराएको छ । सन् २०१५ मा खेलिएको खेलमा न्युजिल्यान्ड ६ विकेटले विजयी भएको थियो । त्यसपछि सन् २०१९ मा खेलिएको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो । 
००००
बलरलाई साथ दिने पिच

न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेलिने छ । चेन्नई स्टेडियमको पिचको चरित्र सुस्त छ । खासगरी यहाँको पिच स्पिन बलरहरुका लागि निकै उपयुक्त मानिन्छ । स्पिनरहरुले बढी विकेट लिएको यहाँको इतिहासले देखाउँछ । 

यो पिचमा रन बनाउन ब्याट्सम्यानहरुले भने केही सँघर्ष गर्नु पर्ने हुन्छ । खेलका क्रममा कुनै बेला तिब्रगतिका बलरलाई पनि यहाँको पिचले साथ दिने गरेको छ । हालसम्म यो स्टेडियममा कुल ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ ।  त्यसमध्ये १७ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको छ । १८ खेलमा भने पछिल्लो ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ ।

एक खेल भने अनिणर्ित रुपमा सकिएको छ । यहाँको पिचमा धेरै रन बन्ने गरको छैन । यहाँको पिचमा पहिलो ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय २४ रन र दोस्रो ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय ६ रन बनाएको तथ्याङ्कले देखाउँछ । बुधबार हुने खेलमा वर्षाको सम्भावना भने निकै कम देखिएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप